+
+

घोराहीको मेयर उम्मेदवारमा माओवादीबाट हेमराज शर्मा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते २०:१८

७ वैशाख, दाङ । नेकपा माओवादी केन्द्रले घोराही उपमहानगरको मेयर उम्मेदवारमा हेमराज शर्मालाई सिफारिस गरेको छ ।

सत्ता गठबन्धनबाट घोराही उपमहानगरपालिका माओवादीको भागमा परेपछि शर्मालाई उठाउने तयारी गरिएको घोराही नगर कमिटीका इन्चार्ज निर्मल महाराले जानकारी दिए ।

बुधबार केन्द्रबाट ढिलो परिपत्र आएकाले जिल्लामा बिहीबार गठबन्धनको बैठक बस्ने पार्टीका केन्द्रीय सदस्य निर्मल आचार्यले बताए । बिहीबार बस्ने बैठकले घोराहीमा गठबन्धनबाट शर्मालाई साजा उम्मेदवार घोषणा गर्ने उनले बताए ।

यसअघि माओवादी केन्द्रबाट जीवन गौतमको नाम चर्चामा थियो । पार्टीका जिल्ला इन्चार्ज समेत रहेका गौतम ०७४ सालको चुनावमा मेयरमा उठेर पराजित भएका थिए ।

उनी यसपटक पनि घोराही उपमहानगरको प्रमुख पदको आकांक्षी र बलियो दाबेदार मानिन्थे । तर गौतमले माओवादीले कम्युनिस्ट आदर्श गुमाइसकेको भन्दै पार्टी परित्याग गरेको घोषणा गरिसकेका छन् ।

माओवादी केन्द्रमा गौतमपछि शर्मा दोस्रो आकांक्षी थिए । नेता शर्मा माओवादी विभाजन हुँदा मोहन वैद्य किरणको साथमा थिए । पछि नेता बादलसँगै उनी माओवादीमा फर्केका थिए । उनी नेता कृष्णबहादुर महरा निकट मानिन्छन् ।

यता, कांग्रेसबाट घोराहीमा भुपबहादुर डाँगी आकांक्षी थिए । केन्द्रमा भएको सत्ता गठबन्धनको निर्णय अनुसार घोराहीमा कांग्रेसले उपप्रमुख पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?