+
+

चुनावलाई बाहिरबाट कर्मचारी ल्याएपछि पालिकाका कर्मचारीको विरोध

अमृत चिमरिया अमृत चिमरिया
२०७९ वैशाख ८ गते १९:३६

८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले दिएको निर्देशन विपरीत कर्मचारी नियुक्ती गरी चुनावमा खटाइएको भन्दै स्थानीय तहका कर्मचारीले विरोध जनाएका छन् ।

आयोगले स्थानीय तहको निर्वाचनमा खटाउने कर्मचारीहरु सम्भव भएसम्म सम्बन्धित पालिकाबाट नै भर्ना गर्न निर्देशिका जारी गरेको थियो ।

आयोगले जारी गरेको निर्देशिकामा भनिएको छ ‘निर्वाचन अधिकृतले आफ्नो कार्यालयको लागि आवश्यक पर्ने कर्मचारी उपलब्ध भएसम्म सम्बन्धित स्थानीय तहको कार्यालयमा कार्यरत सरकारी कर्मचारी मध्येबाट र उपलब्ध हुन नसकेमा मात्रै जिल्ला स्थित अन्य सरकारी कार्यालयबाट काजमा खटाउनुपर्नेछ । ’

तर त्यो निर्देशन विपरित अन्यत्रबाट कर्मचारी ल्याएको तर आफूहरुलाई मौका नदिएको भन्दै पालिकाका कर्मचारीले विरोध जनाएका हुन् ।

नवलपरासी (सुस्ता पश्चिम)का स्थानीय तहमा कार्यरत ११ कर्मचारीले मुख्य निर्वाचन अधिकृतलाई पत्र लेख्दै ध्यानाकर्षण गराएका छन् । स्थानीय तहमा कार्यरत कर्मचारीहरुको फेसबुक ग्रुपमा पनि चर्को विरोध गरेका छन् ।

नवलपरासी सुस्ता पश्चिमका मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद शाहले यो विषयमा आफू अनभिज्ञ भएकोले पहिले बुझ्ने बताए । अनलाइनखबरसँग कुरा गर्दै उनले भने, ‘आज मात्रै पदस्थापना भएको छु । नियुक्त गर्ने प्रक्रिया भर्खरै सुरु भएको छ । निवदेन हातमै परेको छैन । यदि त्यस्तो गुनासो हो भने त्यसमा म छानबिन गर्छु । ’

यस्तै मकवानपुर जिल्लाका स्थानीय तहका कर्मचारीहरुले पनि सम्बन्धित पालिकामा कार्यरत कर्मचारीहरुलाई छोडेर जिल्लाका कर्मचारी ल्याउने तयारी गरेको आरोप लगाएका छन् ।

चितवनको भरतपुर महानगरपालिकाका एक कर्मचारीले भने, ‘म यहाँ कार्यरत कर्मचारी हुँ, मैले निर्वाचन आयोगको निर्देशिका अनुसार निर्वाचनमा सहभागी हुन पाउनुपर्ने हो, तर हामीलाई वास्ता नगरी जिल्लाका अरु कार्यालयबाट निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारी खटाउन खोजिरहेका छन् ।’

निर्वाचन कार्यालय हेटौंडाका मुख्य निर्वाचन अधिकृत लुम्बनाथ पोखरेलले भने कतिपय स्थानीय तहमा खटिएका निर्वाचन अधिकृतहरुले जिल्लाबाट सरकारी कर्मचारी तान्नुपर्ने अवस्थामा रहेका हुनसक्ने अनुमान मात्रै गरेको बताए ।

‘सम्बन्धित निर्वाचन अधिकृतले आयोगलाई स्पष्ट पारेर पालिकामा भएका कर्मचारी बाहेक पनि जिल्लाबाट तानेका हुनसक्छन तर त्यो विषयमा आयोगसँग स्वीकृती लिएको हुनुपर्ने हो । तर यो विषयमा भने म अनभिज्ञ छु’, उनले भने ।

पोखरेलले आयोगका निर्देशिका पालनालाई पहिलो प्राथमिकता दिएको भन्दै निर्वाचन अधिकृतले निर्देशिका बाहिर काम गरे आयोगले नै जवाफ दिने बताए ।

निर्देशिका विपरित कोहि जान पाउँदैन : आयोग

निर्वाचन आयोगले भने यस बारेमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम पौडेलले अनलाइनखबरसँग भने ‘निर्वाचन अधिकृतहरु अनुभवी कर्मचारीहरु खटिएका हुन्छन् । निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक भएका कर्मचारीहरु सम्बन्धित पालिकामा उपलब्ध भए अन्य स्थानबाट लिन पाउँदैनन । यो विषयमा आयोगको ध्यानाकर्षण भएको छ ।’

उनले केहि स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक पर्ने कर्मचारी उपलब्ध नहुँदा जिल्लाका सरकारी कार्यालयबाट काजमा तान्नु परेको बताए । ‘हामी मातहतका कुनै पनि कर्मचारीहरुलाई निर्देशिका विपरित काम गर्न हामी दिन्नौं । त्यस्तो गुनासो आएको प्रति आयोगले एक्सन लिन्छ । तर सम्बन्धित पालिकामा आवश्यक कर्मचारी नभएमा जिल्लाबाट तानेको छ भने विवाद गर्ने कुरा हुँदैन,’ प्रवक्ता पौडेलले भने ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?