+
+
अन्तर्वार्ता :

पार्टी बचोस् भन्दा कारबाही गरिन्छ भने ठीक छ !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते २०:१८

१० वैशाख, चितवन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रलाई छाड्ने केन्द्रको निर्णयप्रति जिल्लामा नेपाली कांग्रेसको असन्तुष्टि कम भएको छैन, बरु बढ्दो छ ।

२० चैतमै जिल्ला कार्यसमितिको बैठकले भरतपुर महानगरको मेयर कांग्रेसले पाउनुपर्ने निर्णय गरेको थियो भने २९ गते महानगरका २९ वटै वडा सभापतिले मेयरको उम्मेदवार आफ्नो दलबाट नभए गठबन्धनको उम्मेदरवारलाई नै बहिष्कार गर्ने निर्णय गरेको थियो ।

जिल्लाको चर्को दबावका बाबजुद केन्द्रमा भएको सहमतिमा भरतपुर महानगरपालिका माओवादी केन्द्रको भागमा गरेको छ भने कांग्रेसले उपमेयर मात्र पाएको छ ।

केन्द्रको निर्णयप्रति असन्तुष्ट भरतपुरका नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । अघिल्लोपटक मेयरमा रेनु दाहाललाई जिताउन लागेका कांग्रेस चितवनका निवर्तमान सभापति जीतनारायण श्रेष्ठ पनि यो पटक विपक्षमा छन् ।

प्रस्तुत छ, श्रेष्ठसँग अनलाइनखबरकर्मी सुवास पण्डितले गरेको कुराकानीको सम्पादित अंश :

गठबन्धन गर्ने पार्टीको निर्णय विपरीत भेला छलफल गरिरहनुभएको छ, भेलामा के कुरा भइरहेको छ ?

जिल्ला कार्यसमितिको बैठकका निर्णयअनुसार हामीले भरतपुर महानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने बटमलाइन बनाएका थियौं । महानगरका वडा सभापतिहरुको भेलाले पनि मेयर कांग्रेसले पाउनुपर्ने नपाए गठबन्धन बहिष्कार गर्ने निर्णय गर्नुभएको थियो । अहिले परिस्थिति फेरिएको अवस्थामा उहाँहरुको धारणा के छ ? उहाँहरु त्यहीँ अडिनुभएको छ कि अडानमा परिवर्तन हुनुभयो भनेर धारणा बुझ्ने काम गरेका हौं ।

भेलामा सहभागी सबैजसो साथीहरुले केन्द्रीय समितिले गरेको निर्णयभन्दा बाहिर गएर गरिएको गठवन्धनको निर्णय सच्चाउन पर्छ भन्नु भएको छ । यसको अर्थ गठवन्धनले गरेको निर्णय कांग्रेस चितवनका हकमा न्यायोचित भएन भन्ने हाम्रो निष्कर्ष हो ।

स्वतन्त्र उम्मेदवारी दिने चर्चा सुनिन थालेको छ, त्यस्तै हो ?

केन्द्रको निर्णय सच्चाएर कांग्रेसबाट नै मेयरमा उम्मेदवार बनाउने भनेर दबाव दिने हाम्रो पहिलो काम हो ।

केही साथीहरुले स्वतन्त्र उम्मेदवारी दिने कुरा पनि गर्नुभा’छ । कांग्रेसका अग्रज नेताहरु, युवा नेताहरु यसपटक माओवादीलाई मेयर सर्मथन गर्न सकिँदैन, स्वतन्त्र भए पनि उम्मेदवारी हाल्नुपर्छ । कुनै पनि हालतमा चुप लागेर बस्ने हुँदैन भन्ने पक्षमा हुनुहुन्छ ।

असन्तुष्टि हल गर्न केन्द्रबाट नेताहरु आउनु भएको हो ?

चितवनलाई रेनु दाहाललाई मेयर दिँदामा हामी सम्हाल्छौं, जिम्मा दिनुस् भनेर आएका छन् भने त्यो गलत हो ।

भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने विषयमा हाम्रो धारणा यथावत छ । कतिपय वडा सभापतिहरुले माओवादीको मेयर उम्मेदवार बोकेर कुनै पनि हालतमा वडामा जान सक्ने परिस्थिति छैन । बरु हामी राजीनामा दिन्छौं भन्नुभा’छ । हामीले रोकिरहेका छौं ।

तपाईं पार्टी सभापति हुँदा माओवादीलाई मेयर स्वीकार गर्ने, अहिले किन नगर्ने भन्ने पनि छ नि ?

म कांग्रेसको पार्टी सभापति र महानगरको मेयर रेनु दाहाल लगभग एउटै समयमा भएका हौं । २१ वैशाख २०७४ मा उम्मेदवारी फिर्ता लिने अन्तिम दिन म कालिका नगरपालिकाको सिद्धिको चुनावी सभामा थिएँ । पार्टी सभापति शेरबहादुर देउवाले फोन गरेर दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिनपर्‍यो भन्नुभयो । मैले सम्भव छैन भनिदिएँ ।

उहाँले माओवादीलाई सर्मथन गर्नुको विकल्प छैन, म केन्द्रीय समितिबाट फिर्ता लिन्छु भन्नुभयो, लिनु पनि भयो । त्यतिबेला हामीलाई सोच्ने परिस्थिति नै भएन, हामीमाथि बज्रपात भयो । तर अहिलेको परिस्थिति फरक छ । भरतपुरको मेयर पाउनुपर्छ भनेर हामीले कैयौं बैठक गरेका छौं, यहाँको परिस्थितिबारे केन्द्रीय नेतृत्वका बताएका छौं ।

रेनुका गतिविधि कांग्रेसमैत्री भएनन् । हामीले मेयर जिताउने, हामीलाई नै सिध्याउन लाग्ने ? कांग्रेस कमजोर बनाउन लाग्ने ? हामीले उहाँलाई कस्तो परिस्थितिमा के के गरेर जिताएको हो दुनियाँलाई थाहा छ । जिताएको तीन महिनामै गठबन्धन टुटेको छ । कांग्रेसको गुन तिर्न पर्दैन ?

महानगरमा कांग्रेसका कार्यपालिका सदस्य ७२ जना छन् । माओवादीका ७ जना छन् । उनीहरु र हाम्रो हैसियत कहीँ तुलना हुन्छ ? स्थानीय आवश्यकताका आधारमा तालमेल भनेको के हो ? आजको आवश्यकता भरतपुरमा कांग्रेसको मेयर हो । आउँदो मंसिरमा प्रचण्डलाई चितवनबाट जित्न मन छ भने आज भरतपुरमा हामीलाई सहयोग गर्नुस् ।

पार्टी केन्द्रले निर्णय गरिसक्यो र त्यसलाई उल्लंघन गरेर कारबाही गर्ने चेतावनी समेत दिएको छ नि ?

कारबाहीको धम्की दिएर डराउने वाला छैनौं । यो पार्टीमा अनुरोध चल्छ, आदेश चल्दैन । हामी चितवनका सबै साथीहरुको परामर्शमा अगाडि बढ्छौं, नेतृत्वले कुन ढंगले लिन्छ, हेरौं ।

जिल्लाबाट प्रतिनिधित्व गर्ने दुई जना केन्द्रीय सदस्यलाई पार्टी सभापतिले कन्भिन्स गरे भो त ! किन नगरेको ? चितवनको कांग्रेस बर्बाद हुँदा कारबाहीको झिना मसिना कुराले के हुन्छ र ? पार्टी बचोस्, राम्रो होस् । स्वाभिमान र निष्ठापूर्वक रुख चिह्नमा भोट हाल्न पाइयोस् भन्दा कारबाही गरिन्छ भने ठीक छ ।

तर महानगरकै सभापति उपमेयरमा उठ्ने तयारीमा हुनुहुन्छ भन्ने पनि आएको छ त ?

को सभापतिले के –के भन्यो, ठूलो कुरा होइन । सिंगो भरतपुरका वडा सभापतिहरु, तल्लो तहका कमिटीहरुले के भन्छन्, त्यो मुख्य कुरा हो । कमिटीको नाममा कसैले धम्की दिनु पर्दैन । कसैलाई नगर सभापति बनाउने, कसैलाई जिल्ला सभापति बनाउने हामी हौं । को–को परे लोभ लालसामा ? को–को फसे सबैको मूल्यांकन हुन्छ ।

अब कसरी अगाडि बढ्नुहुन्छ ?

आम कार्यकर्ताको भावनाभन्दा बाहिर जाँदैनौं । वडा सभापितले जसरी जान भन्छन्, त्यसरी नै अगाडि बढ्ने हो । जीवन्त पार्टीले कहिलेसम्म नगरप्रमुखलाई अरुलाई भोट हालेर बस्ने ? हाम्रो ठाउँमा शेरबहादुर, रामचन्द्र, शेखर दाइले आएर सोच्न पर्‍यो ।

देशभरका ६ वटा महानगरमध्ये ३ वटामा कांग्रेसलाई समर्थन गरेर एउटा लिएको न हो माओवादीले । तपाईंहरुको विरोध किन यति धेरै ?

भरतपुरको साटो रेनु दाहाललाई काठमाडौंको मेयर बनाए भो नि त ! देशको राजधानी, धेरै कर राजश्व उठ्ने ठाँउँ । यहाँ त ५ बर्ष गरिहाल्नुभो, उहाँले गरेको विकास त भरतपुरका जनताले छर्लङ्ग देखिसके । उहाँ जस्तो नयाँ नयाँ भिजन भएको नेतालाई त काठमाडौंको मेयर पो बनाउनपर्छ । हामीले मात्र सधैं किन बोक्ने ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?