+
+

लुम्बिनीमा गठबन्धनबाट बाहिरियो जसपा

टोपराज शर्मा टोपराज शर्मा
२०७९ वैशाख ११ गते १०:११

११ बैसाख,बुटवल । जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशमा पाँच दलीय गठबन्धनबाट बाहिरिएको छ ।

सत्ता गठबन्धनमा रहेका पाँच दलले लुम्बिनीमा पनि सबै दलको सहअस्तित्व स्वीकार गर्दै सम्मानजनक सिट बाँडफाँट गरेर तालमेल गर्ने निर्णय गरेका थिए । सोही अनुसार पाँचै दलको सहभागितामा संयन्त्र र कार्यदल गठन गरी पटक-पटक बैठक र छलफल भएका थिए ।

गठबन्धनका दुई ठूला दल नेपाली कांग्रेस र माओवादी केन्द्रले पालिकाको नेतृत्व बाँडफाँटमा जसपालगायत अरु दललाई उपेक्षा गरेर एकलौटी गरेकाले गठबन्धनबाट बाहिरिएको जसपा प्रदेश मुख्य सचिव यज्ञ पोखरेलले बताए ।

‘कांग्रेस र माओवादी केन्द्र गठबन्धनको मर्म र भावना अनुसार जानुभएन, जित्ने सम्भावना भएका पालिका दुई दलले मिलेर लिने, कमजोर ठाउँ जति जसपा र नेकपा एसलाई दिने नियत राखेको प्रष्ट भयो’ पोखरेलले भने, ‘हामीलाई बाइपास गर्ने गठबन्धनमा किन बस्ने भनेर हामी बाहिरिएका छौं ।’

जसपाले पहाडका ६ जिल्लामा ६ जना उपप्रमुख,दाङको कुनै एक पालिकामा प्रमुख र अर्को पालिकामा उपप्रमुखसहित प्रदेशभरि २२ प्रमुख र २५ उपप्रमुख दाबी गरेको थियो । आफ्नो पार्टीको दाबीमा कांग्रेस र माओवादी केन्द्रले ठोसरुपमा छलफल नै गर्न नचाहेको पोखरेलले बताए । ‘हाम्रो दावी थियो छलफल हुँदा तल माथि पनि हुन्थ्यो तर उहाँहरू सहअस्तित्व स्वीकार्न तयार हुनुभएन,’ पोखरेलले भने ।

जसपाले अघिल्लो चुनावमा प्रदेशका ८ पालिकामा प्रमुख जितेको थियो ।

गठबन्धनबाट बाहिरिएसँगै जसपाले बुटवल उपमहानगरमा पनि मेयर र उपमेयरमा उम्मेदवारी दिने तयारी थालेको उनले जानकारी दिए ।

पार्टीले दाबी गरेको नेपालगन्ज उपमहानगर कांग्रेसको भागमा परेपछि त्यहाँ पनि जसपा जिल्लाभर गठबन्धन तोडेर एक्लै लड्ने तयारीमा छ । यसअघि नै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिकासहित ७ पालिकामा जसपा गठबन्धनबाट बाहिरिसकेको थियो ।

गठबन्धनको प्रमुख दल कांग्रेसले लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये ७५ वटामा नेतृत्व दाबी गरिरहेको छ । माओवादी केन्द्रले ४० वटामा दाबी गरिरहेको छ । नेकपा एकीकृत समाजवादीले एमालेले जितेका ४३ मध्ये कम्तीमा २० पालिकाको प्रमुख पाउनुपर्ने माग गरिहेको छ ।

राष्ट्रिय जनमोर्चाले आफूले जितेका दुई पालिकामा प्रमुख र दोस्रो स्थानमा रहेका ४ वटामा उपप्रमुख मागेको छ । गत स्थानीय चुनावमा प्रदेशका १०९ पालिकामध्ये एमालेले ४३, कांग्रेसले ३३, माओवादी केन्द्रले १९, जसपाले ८, राष्ट्रिय जनमोर्चाले २, स्वतन्त्र ३ र राप्रपाले एक पालिका प्रमुख जितेका थिए ।

नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले पनि नेपाली कांग्रेसले बांकी दललाई बेवास्ता गरेर एकलौटी गर्न खोजेकाले सहमति जुट्न नसकेको र कांग्रेसइतरको चार दलको गठबन्धन हुन सक्ने बताएका छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?