+
+

पूर्वप्राथमिक विद्यालयस्तरीय खेलकुद हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १३:३६

११ वैशाख, काठमाडौं । मन्टेश्वरी एसोसिएसन नेपालले वैशाख २३ र २४ गते नेपाल अन्तर पूर्व प्राथमिक विद्यालय खेल (निप्स)– २०२२ आयोजना गर्ने भएको छ ।

‘खेल शान्तिका लागिः खेल सबैका लागि’ भन्ने नारासहित सन् २०१८ मा यस संस्थाले पहिलोपटक उपत्यकाव्यापी मन्टेश्वरी तथा प्रिस्कुलस्तरीस्य खेलकुद प्रतियोगिता आयोजना गरेको थियो ।

मन्टेश्वरी एसोसिएसन नेपालकी अध्यक्ष सुष्मा सुब्बा लामाले आआफ्ना विद्यालयमा हुने गरेका यस्ता खेल गतिविधिलाई बृहत बनाउने प्रयासस्वरुप अन्तर्राष्ट्रिय समन्वयमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिइन् ।

‘हामीले यस वर्षदेखि देशभित्र मात्र सीमित नभएर ताफिसामार्फत् अन्तर्राष्ट्रियस्तरमै प्रचारप्रसार होस् र यस कार्यक्रमले विश्व खेल जगत्मै एउटा नयाँ आयामको थालनी होस् भन्ने हेतुले नेपाल क्वानमुकान डो एसोसिएसनमार्फत् धेरै प्रयास र अनुरोधमा ताफिसाको सहमति (प्याट्रोनेज) हासिल गरी निप्सको आयोजना गर्न लागेका हौं,’ उनले भनिन् ।

पूर्व मेचीदेखि पश्चिम धनगढीलगायत देशका जम्मा ११ ठाउँमा सो खेलकुद कार्यक्रमको आयोजना गरिनेछ । खेलमा सयभन्दा बढी मन्टेश्वरी तथा प्रिस्कुलहरुलाई संलग्न गराई हजारभन्दा बढी बालबालिकालाई विभिन्न बालसुलभ खेलहरुमा सहभागी गराइने समेत अध्यक्ष सुब्बाले जानकारी दिइन् ।

कार्यक्रमका अवसरमा बालमनोविज्ञानलाई मध्यनजर गर्दै प्रत्येक सहभागीलाई टिसर्ट, मेडल र प्रमाणपत्र दिइनेछ । पहिलो दिन अर्थात् वैशाख २३ गते चारदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई खेल खेलाइनेछ भने दोस्रो दिन पाँचदेखि ६ वर्ष उमेर समूहकाले प्रतिस्पर्धा गर्नेछन् ।

बालबालिकाहरुले एक मिटरदेखि ५० मिटरसम्मको दौडमा विभिन्न गतिविधिहरु गर्नेछन् । चारदेखि पाँचवर्ष उमेर समूहका बालबालिकाका लागि ५० मिटरमा खुला दौड, २५ मिटरमा बेलुन फुटाइ दौडने, १५ मिटरमा एकपल्टमा बढीमा दुईवटा बल जम्मा गर्ने, अर्को १५ मिटरमा हातमा ल्याएको पानी बोतलमा भर्ने, २५ मिटर दौडदै धागोमा झुण्ड्याइएको चकलेट मुखमा लिएर फर्कने, १५ मिटरको दौडमा प्लेटमा एउटा अण्डा राखेर दौडदै फर्कने, एक मिटरको दौडमा बाल्टीको पानीमा दशवटा बल हाल्ने जस्ता खेलहरुको आयोजना गरिनेछ ।

त्यस्तै पाँचदेखि छवर्ष उमेर समूहका लागि ७५ मिटर खुला दौड, ५० मिटर बोरा दौड, आफ्नो ट्राकमा फुटबललाई गुडाउँदै १०० मिटर पु¥याउने, टाउकोमा एकैखाले प्लेट राखेर २५ मिटर हिड्ने, १५ मिटरबाट प्लेटमा एउटा अण्डा राखेर ल्याउने, दुई मिटरको दुरीबाट बाल्टीमा १० वटा बल हाल्ने, २० मिटर दौडेर सियोमा धागो हाली पुरानै ठाउँमा फर्कने, १०० मिटर खेलाडीहरुलाई चार भागमा बाँडेर रिले दौडने जस्ता खेल खेलाउने तयारी गरिएको छ ।

आजकाल सानैदेखि अत्यधिक अनलाइन गेम तथा कम्प्युटरको प्रयोगले गर्दा बालबालिकाहरुमा भविष्यमा आउन सक्ने शारीरिक तथा मानसिक असरलाई मध्यनजर गर्दै उनीहरुलाई पूर्वबाल्यअवस्थादेखि खेलकुदमार्फत् आफूलाई तन्दुरुस्त राख्न प्रोत्साहन गर्ने, भविष्यमा बयष्क भएपछि खेलमार्फत् नै आफू र देशलाई विश्वसामु चिनाउन प्रेरित गर्ने, देशैभरिका मन्टेश्वरी तथा प्रिस्कुलमाझ खेल कार्यक्रममार्फत् एक आपसमा परिचय, सुमधुर सम्बन्ध कायम तथा एकरुपता ल्याउनेलगायत यस खेलकुद कार्यक्रमका प्रमुख उद्देश्यहरु हुन् ।

ताफिसा अर्थात् द एसोसिएसन फर इन्टरनेस्नल स्पोर्ट फर अल नामक संस्थामा संसारका १५० देशका २७० सदस्य संस्था छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?