+
+
आईपीएल :

रसेलको कीर्तिमान, हार्दिकको लगातार अर्धशतक, विराट गोल्डेन डक अनि नयाँ हिरो जानसेन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १५:०८

११ बैशाख, काठमाडौं । आईपीएलमा शनिवार दुई खेल भयो । पहिलो खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई हराएर शीर्ष स्थानमा उक्लियो । दोस्रो खेलमा सनराइजर्स हैदरवादले रोएल च्यालेन्जर्स बैंग्लोरलाई हराएर लगातार पाँचौ जित निकाल्दै दोस्रो स्थानमा उक्लियो । दुई खेलका मुख्य विषेशता यस्ता रहेः

रसेलको कमाल – २०औं ओभरमा लिए चार विकेट
एकै ओभरमा बैंग्लोरको तीन विकेट पतन
हार्दिकको लगातार तेस्रो अर्धशतक
आईपीएल–२०२२ कै न्यून योगफल

दुई टिम विजयी एक पहिलो स्थानमा अर्को दोस्रो स्थानमा

शनिबारकाे पहिलाे खेल गुजरात टाइटन्स र काेलकाता नाइट राइडर्सबीच थियाे । यस खेलमा आन्द्रे रसेलले इनिङको अन्तिम ओभरमा चार विकेट चट्काए, जवाफी इनिङमा रन पनि बनाए तर, टिमलाई जिताउन सकेनन् ।

अर्को तर्फ मार्को जानसेनले पहिलो ओभरमै विराट कोहली, फाप डू प्लेसिसहित राेयल च्यालेन्जर्स बैंग्लाेरका तीन ब्याटरलाई पवेलियन फर्काए र सनराइजर्सको जित आधार तय गरे ।

लगातार सातौं पटक टस जितेका सनराइजर्सका कप्तान केन विलिम्सनले सातै पटक बलिङ गर्ने निर्णय गरे ।

सनराइजर्सका २१ वर्षीय मार्को जानसेनले बैंग्लोरका सुरुवाती तीन ब्याटरलाई आफ्नो पहिलो ओभरमै पवेलियन फर्काउँदै आफ्नो टिमलाई मजबुत सुरुवात दिलाए ।

सनराइजर्सका बलरले लगातार विकेट लिइरहँदा बैंग्लोर आईपीएल इतिहासमा आफ्नो दोस्रो कम स्कोरमा अलआउट भयो । पूरा टिम ६८ रन बनाएर अलआउट भयो ।

लक्ष्य पछ्याउने क्रममा अभिषेक शर्माले सनराइजर्सलाई तीव्र सुरुवात दिलाए र ८ ओभरमै जित दिलाउन भूमिका खेले ।

कोहली लगातार दोस्रो पटक ‘गोल्डन डक’

विराट कोहली लगातार दोस्रो खेलमा गोल्डन डक अर्थात पहिलो बलमै आउट भए ।

जानसेनले कोहलीलाई आउट गरे । कोहलीलाई आईपीएलमा गोल्डेन डकमा आउट गर्ने जानसेन पाँचौ बलर बने ।

त्यस बलअघि कप्तान विलियम्सनले कोहलीका लागि दोस्रो स्लिपमा एडम मरक्रामलाई राखेका थिए । त्यसपछि फालेको बलमा विराटको बल सिधा मरक्रमसामू पुग्यो र उनले क्याच लिन कुनै गल्ती गरेनन् ।

कोहली आईपीएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । तर यस सिजन उनको ब्याट चल्न सकेको छैन ।

४१ अविजित, १२, ५, ४८, १, १२, ०, ० को स्कोरसहित विराट कोहलीले आठ पारीमा १९.३८ को औषतमा कुल ११९ रन बनाएका छन् ।

विराटलाई आउट गर्ने जानसेनको भारत कनेक्सन

२१ वर्षीय मार्को जानसेनले गत वर्ष भारतविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेट करिअर सुरु गरेका थिए । डिसेम्बर २०२१ मा भारतविरुद्ध बक्सिङ डे टेष्ट र १९ जनवरी २०२२ मा भारतविरुद्ध पहिलो एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

जानसेनले कोहलीविरुद्ध चार वर्षअघि नेटमा बलिङ गरेका थिए । जतिबेला उनी १७ वर्षका थिए ।

जानसेन २०२१ मा पहिलो पटक आईपीएलमा छनोट भएका हुन् । त्यसबेला मुम्बई इन्डियन्सले उनलाई टिममा राखेको थियो ।

आईपीएलमा अहिलेसम्म खेलेका सात खेलमा जानसेनले ग्लेन म्याक्सवेल, महेन्द्र सिंह धोनी, एरोन फिन्च, विराट कोहली, फाफ डुप्लेसी जस्ता अनुभवी क्रिकेटरलाई आउट गरिसकेका छन् ।

यस खेलपछि जानसेनले आफूले हरेक कुरालाई सम्भव भएसम्म सामान्य राख्ने कोसिस गरेको र कहिलेकाँही यसले काम गर्ने गरेको बताए । पहिलो बलपछि मात्रै राम्रो स्वीङ हुन्छ भन्ने आफूलाई लागेको उनले बताए ।

खेलपछि विराट सनराइजर्सका मेन्टर ब्रायन लारासँग कुरा गरिरहेका थिए । खेलमा विराट बाहेक दिनेश कार्तिक र अनुज रावत पनि शुन्यमा आउट भएका थिए । तर सामाजिक सञ्जालमा विराटको चर्चा धेरै थियो ।

खराव रेकर्डमा बैंग्लोरको संयोग !

६८ रन आईपीएलमा बैंग्लोरको दोस्रो कम स्कोर हो ।

बेंगलोरले ठीक पाँच वर्ष पहिला २३ अप्रिल २०१७ मा सबैभन्दा कम स्कोरमा आउट हुँदै कीर्तिमान बनाएको थियो । कोलकता विरुद्ध बैंग्लोरको पूरा टिम ४९ रनमा अलआउट भएको थियो ।

यो बेंगलोरको मात्र नभएर आईपीएलकै इतिहासमा कुनै पनि टिमले बनाएको सबैभन्दा कम योगफल हो ।

शनिवार जस्तै विराट कोहली त्यस खेलमा पनि गोल्डेन डक भएका थिए ।

हार्दिकको लगातार तेस्रो अर्धशतक

दिनको पहिलो खेलमा गुजरातले टस जितेपछि हार्दिकले पहिले ब्याटिङको निर्णय गरे । नवप्रवेशी टोली गुजरातले यस प्रतियोगितामा टस जितेर ब्याटिङ रोजेको पहिलोपल्ट थियो ।

हार्दिकले मजबुत सुरुवात गरे । गुजरातको पहिलो विकेट चाँडै गएपछि कप्तान पाण्ड्या पीचमा पुगेर पावर प्लेमा आफ्नो ‘दम’ देखाए । उनले ४९ बलमा ६७ रन बनाउँदै कप्तानी पारी खेले । हार्किकको अर्धशतक मद्दतमा गुजरातले १५६ रन बनाएको थियो । हार्दिकले यस सिजन लगातार तेस्रो अर्धशतक प्रहार गरेका हुन् ।

तर, यस खेलको सबैभन्दा रोमाञ्चकता २०औं ओभरमा आयो जब कोलकाताका कप्तान श्रेयस अयरले अन्तिम ओभरको जिम्मा आन्द्रे रसेललाई दिए ।

रसेलको कमाल

खेलमा रसेलले पहिलो पहिलो ओभर बलिङ गर्दै थिए । आईपीएलमा पञ्जाव किंग्स विरुद्ध ३१ बलमा ७० रन बनाएका रसेलले भनेका थिए, ‘म के गर्न सक्छु भन्ने मलाई थाहा छ ।’

शनिवार उनले सुरुमा बलमा त्यसपछि ब्याटबाट पनि आफ्नो ताकत देखाए ।

जब अयरले उनलाई बल दिए, रसेलले २०औं ओभरको पहिलो दुई बल र अन्तिम दुई बलमा विकेट लिए र योसँगै उनले आईपीएल इतिहासमा बनाए ।

यसपछि रसेलले ब्याटिङमा पनि शानदार इनिङ्स खेल्दै कोलकातालाई जित नजिक पु¥याए । रसेल क्रिजमा रहेसम्म कोलकाताको जित सम्भव देखिन्थ्यो । तर, उनी २५ बलमा ४८ रन बनाएर आउट भएपछि कोलकाता ८ रनले पराजित भयो ।

आईपीएलमा आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्सबीच खेल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?