+
+

आईपीएल : सर्वाधिक ५ पटकको विजेता मुम्बईको लगातार आठौं हार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते ८:२२

१२ वैशाख, काठमाडौं । सर्वाधिक ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार आठौं हार व्यहोरेको छ ।

आधा भन्दा बढी खेलमा जितविहीन बनेको मुम्बई लिग चरणबाटै बाहिरिने सम्भावना बढेको छ ।

केएल राहुलको शतक प्रेरित लखनउ सुपर जायन्ट्ससँग मुम्बई आइतबार राति ३६ रनले पराजित भयो । मुम्बई यस सिजन नयाँ टिम लखनउसँग दोस्रो पटक पराजित भएको हो । दुवै पटक लखनउका कप्तान राहुलले अविजित रहँदै शतक प्रहार गरे ।

टस हारेर पहिले ब्याटिङ गरेको लखनउले ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । राहुलले अविजित १०३ रन योगदान गरे  । ६२ बल खेलेका राहुलले १२ चौका र ४ छक्का प्रहार गरे । मनिस पाण्डेले २२ रन जोडे ।

मुम्बईका रिले मेरेडिथ र काएरन पोलार्डले दुई-दुई विकेट लिए । डानिएल साम्स र जसप्रित बुमराहले समान एक विकेट लिए ।

१६९ रनको लक्ष्य पछ्याएको मुम्बईले पूरा २० ओभर खेल्दा ८ विकेट गुमाएर १३२ रन मात्र बनाउन सक्यो । मुम्बईका लागि कप्तान रोहित शर्माले ३९ र तिलक बर्माले ३८ रन जोडे । पोलार्डले १९ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

यस सिजन लखनउबाट खेलिरहेका मुम्बईका पूर्व खेलाडी क्रुनल पाण्ड्याले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए । यस्तै मोहसिन खान, ज्यासन होल्डर, रवी बिश्नोइ र आयुष बडोनीले समान एक-एक विकेट लिए ।

जितपछि लखनउ ८ खेलबाट १० अंक जोडेर चौथो स्थानमा उक्लेको छ । जितविहीन मुम्बई १०औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?