+
+

उम्मेदवारी दर्ताका ६ रोचक दृश्य

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते २२:५६
गोरखामा कांग्रेसबाट टिकट पाएका विश्वदेव श्रेष्ठको टिकट खोसेर उम्मेदवार बनेका राजनराज पन्त मनोनयन दर्ता गराउन जाँदै ।

१२ वैशाख, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि देशका सबै ७५३ स्थानीय तहमा मनोनयन दर्ता भएको छ ।

यसपटकको चुनावमा निर्वाचन आयोगले दुई दिन मनोनयनका लागि समय दिएको भए पनि अन्तिम दिन निर्वाचन अधिकृतको कार्यालयमा भीड भयो ।

मनोनयन दर्ता गर्ने क्रममा ठाउँ ठाउँमा रोचक घटना पनि भएका छन् । अनलाइनखबर टिमले भेटेका केही रोचक घटना :

पार्टी एक, पद एक, टिकट दुईलाई

प्रदेश र केन्द्रबाट फरक फरक व्यक्तिलाई एउटै पदको टिकट दिँदा धेरै ठाउँमा समस्या देखियो । नेपाली कांग्रेसले महोत्तरीको बर्दिबास, झापाको मेचीनगर लगायका पालिकामा दुई जनालाई मेयरको टिकट दिएको पाइयो ।

१० वैशाखमा कांग्रेस प्रदेश १ समितिले मेचीनगरको प्रमुखका लागि केशवराज पाण्डेलाई सिफारिस गरेको पत्र दिएको थियो । तर प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मनोनयनको अन्तिम दिन १२ वैशाखमा इन्द्रबहादुर बुढाथोकीलाई मेयरको टिकट दिए । र बुढाथोकी आधिकारिक उम्मेदवार बने ।

बर्दिबासमा पनि यस्तै भयो । कांग्रेस सभापति शेरबहादुर देउवाको हस्ताक्षरसहितको पत्र लिएर चिरञ्जीवी हमाल र प्रल्हादकुमार क्षेत्री मेयरको उम्मेदवारी दर्ता गर्न निर्वाचन अधिकृतको कार्यालयमा पुगे ।

तर पछि निर्वाचन अधिकृतको कार्यालयलाई सभापति देउवाले हमाल नै आधिकारिक उम्मेद्‍वार भएको पत्र पठाएका थिए । त्यसपछि आयोगले उनलाई कांग्रेसको आधिकारिक उम्मेदवार बनाएर मनोनयन दर्ता गरेको छ ।

टिकट पाए पनि दर्ता गर्ने बेलामा आधिकारिकता नपाएपछि प्रल्हादकुमार क्षेत्रीले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरे ।

कैलालीको लम्कीचुहामा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सुशीला शाहीलाई र प्रदेश सभापति वीरबहादुर बलायरले भक्त थापालाई मेयरको टिकट दिए ।

कांग्रेसबाट मात्र होइन, माओवादीले पनि दुई जनालाई एउटै टिकट दिएको पाइयो ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रबाट लोकेन्द्र बहादुर ऐरी र नवराज ऐरी पार्टीको टिकट लिएर निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

निवर्तमान मेयरकै उम्मेदवारी खारेज

माओवादी र कांग्रेसले मात्र होइन, नेकपा एमालेले पनि एउटै पदमा दुई जनालाई टिकट दियो ।

जसका कारण सर्लाहीको लालबन्दी नगरपालिकाका निवर्तमान मेयर मानबहादुर खड्काको उम्मेदवारी नै खारेज भयो नेकपा एमालेको मधेश प्रदेश कमिटीबाट टिकट पाएका खड्काले बिहानै ११ बजेर ४० मिनेटमा मनोनयन दर्ता गरेका थिए ।

तर पछि एमालेको केन्द्रीय कमिटीबाट टिकट लिएका गोविन्द महत मनोनयन दर्ता गराउन कार्यालय पुगे । निर्वाचन अधिकृतको कार्यालयले एमालेबाट मेयरमा पहिले नै उम्मेदवारी दर्ता भइसकेको भन्दै तत्कालै महतको नाममा अर्को उम्मेदवारी दर्ता गर्न मानेन ।

त्यसपछि एमाले नेताहरुले प्रदेश र केन्द्रीय कमिटीबाट आफ्नो पार्टीको उम्मेदवार गोविन्द महत नै रहेको पत्र लेखाएपछि खड्काको मनोनयन खारेज गरेर ४ः४५ बजे महतको उम्मेदवारी दर्ता भयो ।

आफ्नो नाममा आएको टिकट साथीलाई

सल्यानको बागचौर नगरपालिकाका एमाले नेता घनश्याम शर्माले आफ्नो नाममा आएको टिकट साथीलाई दिए ।

एमाले प्रदेश कमिटीले आइतबार मेयरको टिकट एमालेका नगर कमिटी अध्यक्ष घनश्याम शर्मालाई दिएको थियो । तर शर्माले सोमबार बिहान टिकट तिलक मल्ल (क्षितिज)लाई हस्तान्तरण गरे । पूर्वमाओवादी नेता मल्ल एमाले प्रदेश कमिटी सदस्य हुन् ।

‘मल्लजी चुनावी प्रचारप्रसारमा लागिसक्नु भएको थियो,’ शर्माले भने, ‘प्राविधिक कारणले मेरो नाममा टिकट आयो । अहिले सहमतिमा मैले उहाँलाई हस्तान्तरण गरेको छु ।’

मनोनयन दर्ता गर्ने बेलामा खोसियो टिकट

पोखरा महानगरपालिकाको मेयरमा टिकट पाएको दीपक पौडेलको टिकट खोसियो ।

शनिबार एमाले सचिवालय बैठकले पोखराको मेयरमा दीपक पौडेल र उपमेयरमा मञ्जुदेवी गुरुङको नाम टुंग्याएको थियो । उपमेयर मञ्जुदेवीले आफू उपमेयरमा नदोहोरिने बताइन् । मेयरका उम्मेदवार पौडेलले पोखरामा सुनको सिक्री चोरेको भन्दै भिडियो भाइरल भयो ।

त्यसपछि एमालेले पौडेलको ठाउँमा पूर्व मेयर तथा प्रदेशसभा सदस्य कृष्ण थापालाई उम्मेदवार बनायो ।

टिकट खोसिएपछि पौडेलले आफ्नो चरित्र हत्या हुने गरी प्रचार गरिएको र आफ्नो राजनीतिक जीवनकै अवमूल्यन गरिएको बताए ।

यस्तै नेकपा एमालेको तर्फबाट इलाम नगरपालिकाको मेयरमा टिकट पाएका नरेन्द्रनाथ भट्टराई पनि टिकट खोसिनेमा परे ।

कार्यकर्ताले नै विरोध जनाएर पार्टी कार्यालयमा तालाबन्दी गरेपछि भट्टराईको सट्टामा धिरेन चेम्जोङले एमालेकोतर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराए ।

भट्टराईले बिचमा एमाले छाडेर अर्कै पार्टीमा गएको र पछि एमालेमा फर्किएको भन्दै एमाले भित्रैबाट असन्तुष्टि बढेको थियो ।

इच्छा नहुँदा नहुँदै उपमेयरको उम्मेदवारी

पोखरा महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट मनोनयन दर्ता गरेकी मञ्जुदेवी गुरुङले आफूलाई जनप्रतिनिधिका रुपमा दोहोरिन इच्छा नभएको प्रतिक्रिया दिइन् ।

आफूले ५ वर्ष उपप्रमुख र केही समय कार्यवाहक भएर पनि महानगरको नेतृत्व गरिसकेकाले अरुले अवसर पाउनुपर्ने मनोनयको अन्तिम समयसम्म उनको मत थियो । उनले पार्टीले आफ्नो इच्छाबेगर नै उपप्रमुखमा सिफारिस गरेको भन्दै मनोनयन दर्तापछि पनि असन्तुष्टि जाहेर गरिन् ।

‘उपमेयर भइसकेँ, कार्यवाहक बनेर पनि काम गर्ने अवसर प्राप्त भयो । पार्टीभित्रै पनि इच्छुक धेरै हुनुहुन्थ्योे,’ उनले भनिन्, ‘त्यही भएर अरुलाई अवसर दिनुपर्छ भन्ने हिसाबले मैले इच्छा जाहेर गरेकी थिइनँ ।’

उनले आफूलाई एक पटक पनि नसोधी उपमेयरको टिकट दिएकोमा नेतृत्वप्रति असन्तुष्टि जनाइन् । गुरुङले पत्रकारहरुसँग भनिन, ‘एकैचोटि माथिबाट मेरो नाम आयो । एकचोटि सोधेको भए हुन्थ्यो, ठीक छ हामीले पार्टीको निर्देशन मान्नुपर्छ । तर, पनि एक पटक सोधेको भए हुन्थ्यो ।’

किरियापुत्री पनि पुगे निर्वाचन अधिकृतको कार्यालयमा

नवलपुरको मध्यविन्दु नगरपालिकामा आमाको मृत्युमा शोकमा रहेका भीमलाल अधिकारीले मेयरमा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गरे ।

एमाले नवलपुरका सचिवसमेत रहेका अधिकारीको आमा वितेको ५ दिन मात्रै भएको छ ।

पार्टीले मेयरको टिकट दिएपछि उनी मनोनयन दर्ता गर्न समर्थकको घेरामा निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?