+
+

लुम्बिनी प्रदेश : दुई उपमहानगरबाहेक अधिकांश पालिकामा गठबन्धनभित्र गठबन्धन

प्रदेश ब्युरो प्रदेश ब्युरो
२०७९ वैशाख १३ गते १२:१०

१३ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धन अधिकांश जिल्लामा कार्यान्वयन हुन सकेन ।

गठबन्धनमा आवद्ध पाँचवटै दलको सहअस्तित्व स्वीकार गर्दै प्रदेशका १०९ पालिकामै सम्मानजनक सिट बाँडफाँट गर्ने प्रतिवद्धता सहित पाँच दलले संयन्त्र र कार्यदल गठन गरेका थिए ।

तर पाँचै दलबीच गठबन्धन गर्दा भागबन्डामा थोरै हिस्सा पाइने भएपछि कांग्रेस र माओवादी केन्द्रले दुई दल मात्रै मिल्दा पनि एमालेलाई हराउन सकिने पालिकाहरुमा अरु दललाई गठबन्धनमा सामेल नगराउने रणनीति अपनाएका छन् ।

जसले गर्दा मनोनयनको अन्तिम दिनसम्म सहमतिका नाममा साना दललाई अल्झाएर धोका दिएको एकीकृत समाजवादी र जसपाको ठम्याइ छ ।

कांग्रेस नेताहरु भने गठबन्धनभित्रको नेकपा एकीकृत समाजवादी भर्खरै स्थापित नयाँ दल, जनता समाजवादी पार्टीको पहाडी जिल्लाहरुमा जनाधार नभएको र राष्ट्रिय जनमोर्चाको पनि प्युठान र अर्घाखाँची बाहेकका जिल्लामा खासै संगठन नभएकाले पाँचै दलबीच सबै पालिकामा गठबन्धन हुन नसकेको बताउँछन् ।

यही कारण प्रदेशका ४ उपमहानगरमा केन्द्रबाट भागबन्डामा सहमति भएपनि बुटवल र तुल्सीपुरमा मात्रै गठबन्धन अनुसार उम्मेदवारी दर्ता भयो । दाङको घोराही र बाँकेको नेपालगन्ज उपमहानगरमा पाँच दलको गठबन्धन कायम हुन सकेन ।

बर्दिया

बर्दियाका आठवटा पालिका मध्ये दुईवटा पालिकामा मात्रै दुई दलबीच गठबन्धन भएको छ । अन्य सबै पालिकाहरुमा गठबन्धनका दलहरुबीच अलग–अलग उम्मेदवारी दर्ता भएको छ ।

बाँसगढी नगरपालिका र गेरुवा गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल गरिएको छ । तर यी दुबै पालिकामा प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष पद माओवादी केन्द्रले लिएको छ । एकीकृत समाजवादीले बाँसगढीका २ वटा वडा र गेरुवाका ३ वटा वडा लिएको छ ।

बढैयाताल गाउँपालिकामा सुरुमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल गर्ने निर्णय भए पनि उम्मेदवारी दर्ता गर्ने अन्तिम समयमा दुवै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका छन् ।

गुलरिया नगरपालिकामा माओवादी केन्द्रका गेहेन्द्र ढकालले मेयरमा र इन्दिरा सुवेदीले उपमेयरमा उम्मेदवारी दिएका छन् । वडा तहमा भने जसपासँग मात्रै तालमेल गरिएको छ । मेयर उम्मेदवार ढकालले उम्मेदवारी फिर्ता लिने मितिसम्म सहमतिमा पुग्ने प्रयासस्वरुप गठबन्धनका अन्य दलहरुसँग छलफल भइरहेको बताए ।

बारबर्दिया, मधुवन, राजापुर र ठाकुरबाबा नगरपालिकामा पनि गठबन्धनका दलहरुले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।

बाँके

एक उपमहानगरसहित आठ वटा पालिका रहेको बाँकेमा ६ वटा पालिकामा गठबन्धन भएको छ । तर नेपालगञ्ज उपमहानगरमा सत्ता गठबन्धनभित्र  माओवादी बाहेक कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

नेकपा माओवादी केन्द्रले आफूले मेयर र उपमेयर केही नपाएको जनाउँदै गठबन्धनबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएको छ ।

नेपाली कांग्रेसकातर्फबाट नेपालगञ्ज उपमहानगरपालिका मेयरका उम्मेदवार प्रशान्त विष्ट । तस्वीर : अनलाइनखबर

सत्ता गठबन्धनबाट नेपालगञ्जको मेयरमा नेपाली कांग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्दीन राईले उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनबाट बाहिरिएको माओवादी केन्द्रबाट टंक धामीले मेयरमा र तारा रोकायाले उपमेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

कोहलपुर नगरपालिकामा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । यहाँ मेयरमा माओवादी केन्द्रका नरेन्द्र न्यौपाने र उपमेयरमा एकीकृत समाजवादीका नारायणी वलीले उम्मेदवारी दिएका छन् ।

कोहलपुरमा कांग्रेसमा विद्रोह भएको छ । कांग्रेसले पूर्ण आचार्यलाई मेयरको उम्मेदवार बनाएपछि बलराम शर्मा बागी उम्मेदवार छन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा उम्मेद्‍वार दर्ता गर्न जाँदै राप्रपाका नन्दलाल वैश्य ।

खजुरा गाउँपालिकामा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच गठबन्धन बनेको छ । अध्यक्षमा माओवादीका डम्बर विक तुफान र उपाध्यक्षमा नेपाली कांग्रेसका मन्जु मल्लले उम्मेदवारी दिएका छन् । जानकी गाउँपालिकामा माओवादी केन्द्र र जसपाबीच गठबन्धन भएको छ ।

नरैनापुर, राप्तीसोनारी र डुुडुवा गाउँपालिकामा गठबन्धन भएको छैन । सबै दलले उम्मेदवारी दिएका छन् भने वडाहरुमा भने नेपालगञ्जमा सबै दलले उम्मेदवारी दिएका छन् । कोहलपुर लगायत खजुरामा वडामा समेत गठबन्धन गरेर उम्मेदवारी दिइएको छ ।

दाङ

दाङमा सत्ता गठबन्धन दलहरुबीच भागवण्डाको सहमति नजुटेपछि जिल्लाका १० पालिकामध्ये तुलसीपुर उपमहानगर बाहेकका पालिकामा गठबन्धन भत्किएको छ ।

दलहहरुले आ–आफ्नै अडान नछाडेपछि सहमति जुट्न सकेन । मनोनयनको अन्तिम दिन घोराही र बंगलाचुली गाउँपालिकाको गठबन्धनबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ ।

यसअघि सत्तारुढ गठबन्धनका शीर्ष नेताले केन्द्रबाट घोराही र तुलसीपुर उपमहानगरको भागबन्डा गरिसकेका थिए । जस अनुसार घोराहीको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेस तथा तुलसीपुरको मेयरमा कांग्रेसका गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीको भागमा परेको थियो ।

घोराहीमा नेकपा माओवादी केन्द्रका हेमराज शर्मा (प्रमुख) र नेपाली कांग्रेसका भुपबहादुर डाँगी (उपप्रमुख) उम्मेद्‍वार। तस्वीर : रासस

केन्द्रको गठबन्धनले गरेको भागबन्डा अनुरुप घोराहीको प्रमुख पदमा हेमराज शर्मा, उपप्रमुखमा कांग्रेसबाट भुपबहादुर डाँगीले उम्मेदवारी दिएका छन् ।

घोराहीमा नेकपा एकीकृत समाजवादीले प्रमुख पदमा रामप्रसाद चौधरी र उपप्रमुख पदमा शोभा शाहलाई उम्मेदवार बनाएको छ ।

सम्मानजनक भागबण्डा नभएको भन्दै गठबन्धनबाट बाहिरिएको नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरामनि बेलाबासेले बताए । ‘उहाँहरुले (कांग्रेस र माओवादी) हाम्रो अस्तित्व नै कमजोर बनाएर अघि बढ्न खोजेपछि, गठबन्धनबाट बाहिरियौं’, उनले भने ।

मनोनयन फिर्ता लिन दुई दिन समय बाँकी भएकाले आफूहरु गठबन्धनमा सहभागी हुने वा नहुनेबारे छलफल भइरहेको उनले बताए ।

त्यस्तै तुलसीपुरको प्रमुखमा कांग्रेसबाट गेहेन्द्र गिरी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले उम्मेदवारी दिएका छन् ।

कांग्रेसले जिल्लाका सात वटा पालिकामा एक्लै उम्मेदवारी दिएको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले अलग्गै तालमेल गरेका छन् ।

नेकपा माओवादी केन्द्रले लमही नगरपालिका र राजपुर, शान्तिनगर, बबई र दंगीशरण गाउँपालिका गरी पाँच पालिकामा अलग्गै उम्मेदवारी दर्ता गरेको छ ।

लमही नगरपालिकाको मेयरमा माओवादी केन्द्रले बसन्तराज शर्मा (विक्रान्त) र उपमेयरमा गंगा पाण्डेलाई उम्मेदवार बनाएको छ । लमहीमा कांग्रेसले जोगराज चौधरीलाई मेयरमा र लक्ष्मी योगीलाई उपमेयरमा उम्मेदवार बनाएको छ ।

गढवामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र जसपाले तालमेल गरेका छन् । गढवामा माओवादी केन्द्रले अध्यक्षमा यमनारायण पोख्रेललाई उम्मेदवार बनाउँदा एकीकृत समाजवादीले शान्ति चौधरीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ । चौधरी २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गढवा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको थियो । गढवा गाउँपालिकामा जनमोर्चाले भने केही वडामा भाग पाएको छ ।

दाङको गढवा गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेद्‍वार यमनारायण पोख्रेल र उपाध्यक्ष उम्मेद्‍वार नेकपा एकीकृत समाजवादीकी शान्ति चौधरी ।

गढवामा कांग्रेसले अध्यक्ष, उपाध्यक्षसहित सात वटा वडामा उम्मेदवार उठाएको छ । वडा नम्बर ८ मा भने कांग्रेसले अध्यक्षको उम्मेदवारी दिएको छैन । नेपाली कांग्रेस गढवा गाउँपालिकाका सचिव पोषणराज शर्माले माओवादी र एकीकृत समाजवादी सहमतिका लागि लचक नहुँदा तालमेल हुन नसकेको बताए ।

दाङकै राप्ती गाउँपालिकामा माओवादी र जनमोर्चाले तथा राजपुरमा माओवादी, जनमोर्चा र एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् । बबई गाउँपालिकामा माओवादी, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् । शान्तिनगर गाउँपालिकामा भने कांग्रेस, माओवादी, एकीकृत समाजवादीले एक्लाएक्लै उम्मेदवारी दिएका छन् ।

रुकुम पूर्व

रुकुम पूर्वका तीनवटै गाउँपालिकामा गठबन्धन भत्किएको छ । बरु दुई पालिका एमाले र कांग्रेसबीच गठबन्धन भएको छ । सिस्ने र भूमे गाउँपालिकामा नेकपा एमालेले र नेपाली कांग्रेसले तालमेल गरेका छन् । पुथा उत्तरगंगा गाउँपालिकामा सत्ता गठबन्धनका दलहरुले एक्लाएक्लै उम्मेदवार उठाएका छन् । माओवादी केन्द्रले तीनवटै पालिकामा एक्लै उम्मेदवार उठाएको छ ।

रोल्पामा माओवादी केन्द्रको एकल उम्मेदवारी

रोल्पाका १० पालिकामध्ये एउटा पालिकामा मात्रै दुई दलबीच गठबन्धन भएको छ । जस अनुसार गंगादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।

पालिका अध्यक्षसहित सवै वडाध्यक्ष र २६ जना वडा सदस्य नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने नेकपा एकीकृत समाजवादीले उपाध्यक्ष सहित २ जना वडा सदस्य पाएको छ । रोल्पा नगरपालिका, रुन्टीगढी गाउँपालिका र गंगादेव गाउँपालिकामा एक्लाएक्लै भिडेका दलहरुले अन्य ६ स्थानीय तहहरुमा भने फरक गठबन्धन गरेका छन् ।

रोल्पामा माओवादीले दम्भ देखाएको भन्दै माओवादी केन्द्रविरूद्ध कांग्रेस, एमाले र विप्लव नेतृत्वको नेकपाबीच माडी, परिवर्तन, त्रिवेणी गाउँपालिकामा गठबन्धन भएको छ । परिवर्तन गाउँपालिकामा कांग्रेसलाई अध्यक्षमा अन्य दलले सघाउने निर्णय भएको छ ।

त्रिवेणीमा एमालेलाई अध्यक्षमा कांग्रेसले सघाउने र उपाध्यक्षमा एमालेले कांग्रेसलाई सघाउने सहमति भएको छ । सुनिलस्मृती गाउँपालिकामा कांग्रेसलाई अन्य दलले अध्यक्षमा सघाउने गरी गठबन्धन भएको छ । सुनछहरीमा विप्लव नेतृत्वको नेकपा र कांग्रेसबीच गठबन्धन भएको छ ।

प्युठान

प्युठानका ९ पालिकामध्ये एमालेले जितेका ३ पालिकामा सत्ता गठबन्धनका पाँच वटै दलबीच गठबन्धन भएको छ । स्वर्गद्वारी नगरपालिका तथा सरुमारानी र माण्डवी गाउँपालिकामा एमालेविरुद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राजमो र जसपा एक भएर उम्मेदवारी दिएका छन् । माण्डवीमा त विप्लव नेतृत्वको नेकपा पनि गठबन्धनमा छ । अन्य पालिकामा कतै कांग्रेस र राष्ट्रिय जनमोर्चा, कतै माओवादी र कांग्रेसबीच गठबन्धन भएको छ । ऐरावती, मल्लरानी र झिमरुकमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ । प्युठान नगरपालिका, गौमुखी र नौबहिनी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ ।

झिमरुकमा माओवादी केन्द्रले पनि अध्यक्षसहित पदहरुमा उम्मेदवारी दिएको छ । ऐरावतीमा कांग्रेसले पालिका अध्यक्ष र राष्ट्रिय जनमोर्चाले उपाध्यक्ष पाउने सहमती छ ।

मल्लरानीमा पनि गाउँपालिका अध्यक्ष राजमोले र उपाध्यक्ष कांग्रेसले पाउने सहमति छ । यहाँ राष्ट्रिय जनमोर्चाका कृष्ण खड्काले अध्यक्षमा र कांग्रेसका  रमेश श्रेष्ठले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यस्तै माओवादी केन्द्रबाट अध्यक्षमा टिएस गुरुङ र उपाध्यक्षमा रुकमणि भटराईले उम्मेदवारी दर्ता गराएका छन् ।

गौमुखी गाउँपालिकामा नेपाली कांग्रेस र  नेकपा माओवादी केन्द्रबीच तालमेल छ । गौमुखीको पालिका अध्यक्षमा कांग्रेसवाट विष्णु कुमार गिरी र उपाध्यक्षमा माओवादीका महाबिर रानाले उम्मेदवारी दिएका छन् ।

माण्डवी गाउँपालिकामा सत्ता गठबन्धनलाई विप्लवको पनि साथ छ । माण्डवीमा  माओवादी केन्द्रका नवराज अधिकारीले अध्यक्षमा र कांग्रेसका पूर्णबहादुर कालाथोकीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

सरुमारानी गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रले चुनाबी तालमेल गरेका छन् । पालिका अध्यक्षमा कांग्रेसका मुकुन्दराज शर्माले र उपाध्यक्षमा माओवादीबाट गुप्त बहादुर रानाले मनोनयन दर्ता गराएका छन् ।

अर्घाखाँची

अर्घाखाँची जिल्लामा सत्ता गठबन्धनको जसपा बाहेकका चार दलबीच गठबन्धन भएको छ । यहाँ नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्र र एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीले प्रमुख र उपप्रमुख पाएको छैन । उसले वडा तहमा मात्रै चित्त बुझाएको छ ।

पाणिनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसबाट क्रमशः अच्युत गौतम र लक्ष्मी गौतमको उम्मेदवारी दर्ता भएको छ ।

सन्धिखर्क नगरपालिकामा कांग्रेस र माओवादीको गठबन्धन भएको छ । प्रमुखमा कांग्रेसकी शान्ता भण्डारी र उपप्रमुखमा माओवादी केन्द्रका राजेन्द्र भुसालको उम्मेदवारी दर्ता भएको छ ।

शीतगंगा नगरपालिकामा पनि कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । प्रमुखमा कांग्रेसबाट छविलाल पौडेल र उपप्रमुखमा माओवादी केन्द्रका टीका रेश्मीको उम्मेदवारी दर्ता भएको छ । भुमिकास्थान नगरपालिकाको प्रमुखमा गठबन्धनबाट जनमोर्चाको झविलाल थापा र माओवादी केन्द्रका बालकृष्ण बन्जाडेको उम्मेदवारी दर्ता भएको छ ।

मालारानी गाउँपालिकाको अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका पदम क्षेत्री र उपाध्यक्षमा शोभाखर खनालको उम्मेदवारी दर्ता भएको छ ।

छत्रदेव गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट चन्द्रमान श्रेष्ठ र उपाध्यक्षमा इन्दिरा भुसालको उम्मेदवारी दर्ता भएको छ ।

कपिलवस्तु

१० वटा पालिका रहेको कपिलवस्तुमा सत्ता गठबन्धनमा आवद्ध पाँच दलमध्ये कांग्रेस बाहेकका चार दलको अलग्गै गठबन्धन बनेको छ ।

जिल्लामा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको चार दलीय गठबन्धन बनेको छ । चारदलीय गठबन्धनबाट वाणगंगाको मेयरमा माओवादी केन्द्र र उपमेयरमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिएका छन् ।

शिवराज नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच चुनावी गठबन्धन भएको छ । एकीकृत समाजवादीबाट मेयर र उपमेयर पदमा माओवादी केन्द्रबाट उम्मेदवारी परेको छ ।

रुपन्देही

रुपन्देहीका १६ पालिकामध्ये जिल्लाको दक्षिणी भेगका लुम्बिनी सांस्कृतिक नगरपालिका तथा मर्चवारी, सम्मरीमाई, कोटहीमाई, मायादेवी र गैडहवा गाउँपालिकामा गरी ६ पालिकामा गठबन्धनमा आवद्ध दलहरूबीच मित्रवत प्रतिस्पर्धा गर्ने  र बाँकी पालिकामा गठबन्धन गरेर जाने सहमति भएको थियो ।

तर मनोनयनको दिनसम्म आइपुग्दा अरु पालिकामा पनि पाँच दलबीच कतै पनि गठबन्धन हुन सकेन ।

तिलोत्तमामा कांग्रेस र माओवादी केन्द्रबीच मात्रै गठबन्धन भएको छ । मेयरमा कांग्रेसका रामकृष्ण खाँण र उपमेयरमा माओवादी केन्द्रका हेमन्त पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

बुटवल उपमहानगरपालिकामा नेकपा एमालेकातर्फबाट प्रमुख पदका उम्मेदवार बाबुराम भटटराई र उपप्रमुखमा पदका उम्मेदवार साबित्रादेवी अर्याल । तस्वीर : रासस

नेकपा एकीकृत समाजवादीले जिल्लाका १६ मध्ये १० पालिकामा मेयर र उपमेयर तथा अध्यक्ष उपाध्यक्ष गरी १५ जनाले उम्मेदवारी दिएका छन् । सैनामैनामा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको छ ।

पार्टीले बुटवलका १९ मध्ये १४ वटा वडामा अध्यक्ष उम्मेदवार उठाएको पार्टीको जिल्ला उपसचिव सरिता श्रीसले बताइन् । ‘गठबन्धनका पहिलो शक्ति कांग्रेस र दोस्रो शक्ति माओवादी केन्द्रले गठबन्धनको मर्म अनुसार अरु दललाई सम्मानजनक सिट दिन नचाहेपछि गठबन्धन प्रभावकारी हुन सकेन,’ श्रीसले भनिन् ।

गठबन्धनभित्रकै जनता समाजवादी पार्टी जिल्लाका १६ वटै पालिकामा गठबन्धनमा सामेल भएको छैन । उसले पनि एक्लै उम्मेदवारी दिएको छ ।

गुल्मी

गुल्मीका १२ वटा पालिकामध्ये ११ पालिकामा गठबन्धनभित्रका  दलहरुबीच फरक–फरक गठबन्धन भएको छ । गुल्मीदरवार गाउँपालिकामा भने गठबन्धन भएको छैन । यहाँ एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने भएका छन् ।

कालिगण्डकी र छत्रकोट गाउँपालिकामा कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको छ ।  दुबै पालिकामा कांग्रेसले प्रमुख र जनमोर्चाले उपप्रमुख पाएका छन् ।

सत्यवती, चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिका कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । सत्यवतीमा कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुख पाएको छ । कांग्रेसबाट अध्यक्षमा पारिश्वर ढकाल, उपाध्यक्षमा तेजकुमारी थापाले मनोनयन दर्ता गराएका छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट ओमबहादुर कुँवर र स्वतन्त्रबाट ठगप्रसाद शर्माले अध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

चन्द्रकोट र रुरु क्षेत्र गाउँपालिकामा माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुख पाएको छ । चन्द्रकोटको अध्यक्षमा माओवादीका युवराज केसी र उपाध्यक्षमा कांग्रेसबाट विष्णुप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराए ।

रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ मेयर र उपमेयर तथा वडा अध्यक्षहरु कांग्रेसले पाएको छ भने माओवादी केन्द्रले वडा सदस्यमा चित्त बुझाएको छ ।

मुसिकोट नगरपालिकामा कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । यहाँ प्रमुख कांग्रेसले र उपप्रमुख समाजवादीले पाएको छ । कांग्रेसबाट प्रमुखमा हरिनारायण सापकोटा र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका श्रीराम महतले मनोनयन दर्ता गराएका छन् ।

इस्मा गाउँपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ  प्रमुख/उपप्रमुख कांग्रेसले र वडा सदस्यमा माओवादीले उम्मेदवारी दिएका छन् ।

मालिका गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन भएको छ । यहाँ माओवादीले प्रमुख र कांग्रेसले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

धुर्कोट गाउँपालिकामा कांग्रेस र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ । कांग्रेसले प्रमुख र समाजवादीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

मदाने गाउँपालिका कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएको छ । यहाँ  कांग्रेसले प्रमुख र माओवादीले उपप्रमुखमा उम्मेदवारी दिएका छन् ।

गुल्मीदरबारमा गठबन्धन भएन

गुल्मीदरबार गाउँपालिकामा कांग्रेसबाट अध्यक्षमा सरोजकुमार थापा, उपाध्यक्षमा तारा थापा ढेंगाको मनोनयन दर्ता भएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा शेरबहादुर सर्तुङ्गे र उपाध्यक्षमा शिखा रेश्मीले मनोनयन दर्ता गराएका छन् । यस्तै नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्षमा नगेन्द्र किरण ठकुरीले पनि मनोनयन दर्ता गराएका छन् ।

पाल्पा

पाल्पाका १० स्थानीय तहमध्ये ६ कांग्रेस, २ माओवादी केन्द्र र २ पालिका नेकपा एकीकृत समाजवादीले भागबन्डा गरेका छन् । कांग्रेसको भागमा परेको माथागढी गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सचिव सन्तोष कुमार थापाले अध्यक्ष र विजया भट्टराईले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

यस्तै रैनादेवी छहरा गाउँपालिकामा कांग्रेसको भागमा परेको पालिका अध्यक्षमा रुक्मागत भट्टराई र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै रम्भा गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका दुर्गा प्रसाद अधिकारीले अध्यक्षमा र कांग्रेसको तर्फबाट उपाध्यक्ष पदमा विष्णु थापाले उम्मेदवारी दर्ता गरेका छन् ।

यस्तै तानसेन नगरपालिकामा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठले प्रमुख र नेकपा माओवादीकी प्रतीक्षा सिंजालीले उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् ।

पाल्पामा उम्मेद्‍वारका समर्थकहरू ।

रामपुर नगरपालिकामा नेपाली कांग्रेसका रमण बहादुर थापा र उपप्रमुखमा कांग्रेसकै बालकुमारी थापाले उम्मेदवारी दिएका छन् । अन्य दललाई वडा मात्रै दिइएको छ । रिब्दीकोट गाउँपालिकामा माओवादीका नारायणबहादुर कार्कीले अध्यक्ष र काँग्रेसका कान्ता अधिकारीले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

तिनाउ गाउँपालिकामा गठबन्धनबाट माओवादी केन्द्रका राजेश श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसका लालबहादुर थापाले उम्मेदवारी दिएका छन् । पूर्वखोला गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका मिन गिरीले अध्यक्ष र कांग्रेसका विष्णु कुमारी आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । निस्दी गाउँपालिकामा कांग्रेसका  गोविन्द प्रसाद अर्यालले अध्यक्ष र नेकपा माओवादी केन्द्रका रामप्रसाद खत्रीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । यस्तै बगनासकाली गाउँपालिमा गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेसका सुनिता अधिकारी र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका कमल पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् ।

पश्चिम नवलपरासी

पश्चिम नवलपरासीमा सत्ता गठबन्धनका सबै दलबीच तालमेल हुन सकेन । सुनवल र बर्दघाट नगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका छन् । त्यहाँ दुवै प्रमुख पद कांग्रेसले लिएको छ । उपमेयर माओवादी केन्द्रलाई दिइएको छ ।

सुनवल नगरपालिकामा कांग्रेसबाट पार्टी सभापति अर्जुन कुमार पोखरेल छन् भने माओवादी केन्द्रबाट उपमेयरमा लेखनाथ खरेल उमेदवार छन् । त्यस्तै बर्दघाट नगरपालिकाको मेयर उम्मेदवारमा नेपाली कांग्रेसका शम्भु श्रेष्ठ छन् भने माओवादी केन्द्रका रुद्रप्रकाश उपाध्यायलाई उपमेयरको उम्मेदवार बनाइएको छ ।

१३ वटा वडा रहेको सुनवल र १६ वटा रहेको बर्दघाटमा ३/३ वटा वडाका अध्यक्ष लिएर माओवादी केन्द्रले चित्त बुझाएको छ । गठबन्धनले बर्दघाटमा मात्र नेकपा एकीकृत समाजवादीलाई एउटा वडा अध्यक्ष र १४ सदस्य दिएको छ ।

गठबन्धनको अर्को घटक जसपा र माओवादी केन्द्रले रामग्राम नगरपालिकामा गठबन्धन गरेका छन् । जसपाले मेयर र माओवादी केन्द्रले उपमेयर लिएको छ । जसअनुसार मेयरमा गोविन्द चौधरी र उपमेयरमा शैलेन्द्र सहानी छन् ।

१८ वटा वडा रहेको रामग्राममा ३ वटा वडा माओवादी केन्द्रले पाएको छ । ७ स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा गठबन्धनका दलहरु एक्लाएक्लै चुनाव लडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?