
१३ वैशाख, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले दोलखामा प्रस्तावित फिल्म सिटीको कार्यान्वयनका लागि साझेदार खोजेर बजेट तथा कार्यक्रम ल्याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग आग्रह गरेका छन् ।आगामी आर्थिक वर्ष २०७९-८० को नीति कार्यक्रम र बजेटबारे मन्त्रालयगत छलफलका क्रममा अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।
सञ्चार मन्त्रालयले दोलखामा फिल्म सिटी निर्माण गर्नुपर्ने प्रस्ताव गरेको छ । सञ्चारको प्रस्तावमा अर्थमन्त्री शर्माले उपयुक्त साझेदार खोजेर कार्यक्रम र बजेट ल्याउन सुझाव दिएका हुन् ।
अर्थमन्त्री शर्माले हुलाक सेवालाई आधुनिकीकरण गर्ने गरी कार्ययोजना ल्याउन र आगामी आबको बजेटमै समावेश गर्न निर्देशन दिए ।
‘हाम्रो हुलाक सेवालाई आधुनिकीकरण गरौं, निजी क्षेत्रले कति प्रगति गरिसके, हामी चाँही पुरानै शैलीमा बसेर हुँदैन’ उनले भने । सञ्चार सचिव डा. बैकुण्ठ अर्यालल प्रस्तुतीकरणका क्रममा हुलाक सेवा परम्परागत शैलीमै चलेको स्वीकार गरेका थिए । उनले यसमा सुधारको खाँचो रहेको बताए ।
अर्थमन्त्री शर्माले पुराना जनशक्तिलाई अवकाश दिई नयाँ जनशक्ति भर्ना गरेर भएपनि हुलाक सेवालाई नयाँ ढङ्गबाट चलाउनुपर्ने आवश्यकता रहेको बताए । सञ्चार मन्त्रालयले हुलाक कार्यालयहरुलाई ई-कमर्स प्लेटर्फममा पनि प्रयोग गर्नुपर्ने प्रस्ताव गरेको छ ।
सबै सरकारी निकायले बिज्ञापनको भुक्तानी गर्दा ३ प्रतिशत रकम अनिवार्य रुपले कट्टा गर्ने र यसरी कट्टा गरेको रकम बिज्ञापन बोर्डको कोषको दाखिला गर्ने व्यवस्था लागू गर्न पनि प्रस्ताव गरेको छ । ‘सबै कार्यालयहरुबाट यसरी विज्ञापन बापत भुक्तानी हुने रकमको ३ प्रतिशत कट्टा गरी विज्ञापन बोर्डको कोषमा दाखिला गर्ने व्यवस्था हुने हो भने लोककल्याणकारी बिज्ञापनको बजेट बिनियोजनमा चाप पर्दैन’ सञ्चार सचिव अर्यालले भने ।
बैठकलाई सम्बोधन गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी आबको बजेटमा ठोस विषय बस्तुमात्रै समेटेर आर्थिक विकास केन्दि्रत हुनुपर्ने सुझाव दिए । ‘यहाँ श्रीलंकाको अर्थतन्त्रलाई देखाएर डर पैदा गर्ने काम भइरहेको छ , यस्ता कुरालाई चिर्दै देशको अर्थतन्त्रलाई नयाँ दिशा दिने गरी बजेट आउनुपर्छ’ उनले भने ।
प्रतिक्रिया 4