+
+
अन्तर्वार्ता :

पोखरामा एमाले फेल भइसक्यो, राम्रै मतान्तरले जित्छौं : धनराज आचार्य

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते २०:१९

१४ वैशाख, पोखरा । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादले देशभर समानान्तर कमिटी बन्न थालेपछि कास्कीका धनराज आचार्य सक्रिय राजनीतिको केन्द्रमा आए । २०५१ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति भएका उनी पछिल्ला वर्षहरूमा एमालेमा त थिए, तर प्रमुख जिम्मेवारीमा थिएनन् ।

किराना पसलबाट सुरु गरेको व्यवसायलाई पुस्तक पसल, पाठ्यपुस्तक प्रकाशन गृह, स्कुल–कलेज, रासायनिक मल उद्योग, बैंकिङ, पर्यटन, हाइड्रो पावर, कृषि, हस्पिटालिटी जस्ता १२-१४ वटा क्षेत्रमा विस्तार गरेका थिए । एमालेसँग आबद्ध रहेका, तर कार्यकारी भूमिकामा नबसेका उनी सर्वोच्च अदालतले नेकपा खारेज गर्दै एमाले र माओवादी अलग गराइदिएपछि सक्रिय राजनीतिमा आए ।

एमालेको माधवकुमार नेपाल समूहले देशभर समानान्तर कमिटी निर्माण थाल्यो, त्यस क्रममा धनराज कास्कीको संयोजक बने । नेता नेपालले एमाले विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा धनराज कास्की अध्यक्ष छन् । एमाले नेताहरूले आचार्यलाई पार्टीमै राख्ने प्रयास नगरेका होइनन्, तर उनले कास्कीमा एकीकृत समाजवादीको संगठन विस्तारको बागडोर नै सम्हाले ।

धनराजकै कारण सत्तारुढ गठबन्धनको भागबन्डामा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीलाई पर्‍यो । अब आसन्न चुनावमा उनको प्रतिस्पर्धा पूर्व सहकर्मी एमालेका उम्मेदवार कृष्ण थापासँग हुनेछ । २०५४ मा थापालाई पोखराको मेयर बनाउन भूमिका खेलेका आचार्य अहिले आफैं प्रतिस्पर्धामा छन् ।

पूर्व सहकर्मीबीचकै यो प्रतिस्पर्धालाई पाँचदलीय गठबन्धन र नेकपा एमालेले प्रतिष्ठाको लडाईंका रूपमा लिएका छन् । गठबन्धनलाई जित्नै पर्ने दबाव छ भने एमाले आफ्नो विरासत गुमाउन चाहँदैन ।

यद्यपि गठबन्धन र एमाले दुवैलाई अन्तर्घातकै डर छ यतिबेला । प्रस्तुत छ, स्थानीय चुनावको सन्दर्भमा मेयरका उम्मेदवार धनराज आचार्यसँग अनलाइनखबरकर्मी अमृत सुवेदीले गरेको कुराकानीको सम्पादित अंश :

एमाले हुँदा पोखराको मेयरदेखि सांसदसम्म आकांक्षा राख्दा पनि टिकट पाउनुभएन । एमाले विभाजन त तपाईंका लागि अवसर पो बन्यो है ?

प्रश्न त उठाउन सकिन्छ, तर मेरो राजनीतिक जीवनमा आजसम्म पद चाहियो भनेर मरिहत्ते कहिल्यै गरेको छैन । नेकपा एमालेमा हुँदा अघिल्लो निर्वाचनमा मानबहादुर जीसी, कृष्ण थापा, श्रीनाथ बराल र म लगायत आकांक्षी थियौं । साथीभाइ सबैले अगाडि बढ्नुस् भनेर पार्टीभित्र मनोनयन गरेको थिएँ । तर, त्यो चुनाव लड्नका लागि थिएन, त्यही वर्ष म लायन्स क्लबको गभर्नर बन्दै थिएँ ।

अनन्य मित्र स्वर्गीय रवीन्द्र अधिकारीले जहाँ अहिले कृष्ण थापाले जित्नुभएको छ, कास्की क्षेत्र नम्बर २ (क)मा तपाईं नै हो भन्नुभएको थियो । पार्टीभित्रको निर्वाचनमा उहाँकै सल्लाहमा मैले नोमिनेसन गरें । मैले ५ भोट र कृष्ण थापाले ६ भोट ल्याउनुभयो अनि उहाँ उम्मेदवार हुनुभयो । यो दुई बेला बाहेक मैले टिकट दिनुस् भनेर कहिल्यै अपील गरिनँ ।

अहिले पार्टी विभाजनपछि एकीकृत समाजवादीबाट एक जना नेतालाई पनि मलाई टिकट दिनुस् भनेको होइन, उहाँहरूले तपाईं नै हो भन्नुभएको हो । त्यसैले पार्टी विभाजनले धनराजलाई फाइदा गर्‍यो भन्नु अन्यायपूर्ण हुन्छ ।

तपाईं फेरि एमाले फर्किन छलफल गरेको, मेयरकै अफर आएको चर्चा पनि सुनिएको थियो, तर जानुभएन । एकीकृत समाजवादीबाटै पोखराको मेयर पाउँछु भन्ने निश्चित थियो ?

पार्टी विभाजनका बेला तँलाई के चाहिन्छ, एमालेमै आइज भनेर अफर आएको सत्य हो । मेयर मात्रै होइन, सांसदै पनि चाहन्छस् भने दिन्छौं, तर एकीकृत समाजवादीतिर नजा भनेर नेताहरूले भन्नुभएकै थियो । मलाई एजेण्डासँग पद साट्न मन लागेन । जहाँसम्म अहिले टिकट पाएको प्रसंग छ, मैले मेयरका लागि विद्रोह गरेकै थिइनँ । राजनीतिक हिसाबले एक इमानदार कार्यकर्ता मात्र हुँ ।

एमालेसँगै धेरै नजिक हुनु र अफर पनि आउनुले अहिले पनि गठबन्धनका दलहरूले तपाईंमाथि विश्वास गर्न नसकिरहेको हो ?

यो त राजनीति मात्र हो । के भन्दा कमजोर बनाउन सकिन्छ भनेर विपक्षले गरेको स्क्यान्डल हो । सोझो कुरा के हो भने, जुनसुकै पार्टीको टिकट लिएर चुनाव लडिन्छ भने जितेपछि पाँच वर्ष त्यो पार्टीप्रति बफादार हुनैपर्छ । होइन भने पद र पार्टीमा रहन्नँ । यो प्रश्नै होइन, ममाथि गर्न खोजिएको राजनीति मात्र हो ।

तपाईंलाई टिकट दिने चर्चासँगै कांग्रेसभित्र असन्तुष्टि देखियो, जुन केन्द्रसम्मै पुग्यो । तपाईंले टिकट त पाउनुभयो तर असन्तुष्टि अहिले पनि देखिन्छ नि ?

यो केन्द्रीय नेताहरूले गरेको गठबन्धनको निर्णय हो । कांग्रेसले काठमाडौंमा पाउँदा त साथीहरू खुसी हुनुहुन्छ । ललितपुर, विराटनगरका कांग्रेस साथीहरू खुसी हुनुहुन्छ, किनकि त्यहाँ कांग्रेसले पाएको छ ।

त्यसरी नै कांग्रेस कास्कीका साथीहरूले मुख्य नेतृत्व भइदिए हुन्थ्यो भन्नुलाई अस्वाभाविक ठान्दिनँ । निर्णय भइसकेपछि यसको विपक्षमा कास्कीका नेता कार्यकर्ता हुनुहुन्न । कास्कीमा गठबन्धनमा उत्साहपूर्ण वातावरण छ ।

कांग्रेसका पूर्व नगर सभापति, पूर्व जिल्ला कोषाध्यक्ष र सचिवले बागी उम्मेदवारी नै दिनुभएको छ, कसरी उत्साहपूर्ण वातावरण देख्नुभयो ?

गठबन्धनमा रहेका पार्टीका तर्फबाट मेयरमा धनराज आचार्य र उपमेयरमा कोपिला रानाभाट बाहेक कसैले मनोनयन गरेको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि त्यही भन्छ । यसकारण गठबन्धनका पार्टीले अर्को उठायो भन्ने ठाउँ रहेन ।

स्वतन्त्र उम्मेदवारी त पोखरामा धेरै छन् । यो व्यक्तिको नैसर्गिक अधिकार पनि हो । उहाँहरू पार्टीको नेता हुनुहुन्छ, पार्टीको निर्णयभन्दा बाहिरको कुरा भयो भनेर कांग्रेसले भन्ला र सच्याउनुहोला । सच्याउनुभएन भने कारबाही गर्ला ।

त्यसैले यो (उम्मेदवारीलाई) कांग्रेसलाई गराएको ध्यानाकर्षणका रूपमा बुझेको छु, कांग्रेसकै नेताहरूले पनि यसलाई सच्याउन पहल गर्नुहोला । उहाँहरूको एजेण्डा के हो भनेर मैले पनि सोधेर आफ्नो कार्यक्रममा समेट्ने प्रयत्न गर्नेछु ।

तर, कांग्रेस नेताहरूले डालोको मत मानोमा खन्याउँदा पोखिन सक्छ भनिरहेकै पनि सुनिन्छ, समाजवादीले हैसियतभन्दा बढी मत देखाएर बार्गेनिङ गर्‍यो पनि भन्छन् नि !

कांग्रेसले मत पोखिन्छ भन्नु मेरो नाममा निर्णय हुनु पूर्वको कुरा हो । अहिले डालो र मानो फिट गरेर जोडिसक्यौं, त्यसैले समस्या छैन । अहिले गठबन्धनका साथीहरूले धेरै जना पो तपाईंहरूको साथ हुनुहुँदोरहेछ भनिरहनुभएको छ ।

एकीकृत समाजवादीले मसिनोसँग काम गरेको रहेछ, पुराना र पाका एमाले पनि एकीकृत समाजवादीमा रहेछन् भनेर सबै गठबन्धनका दलले भनिरहेका छन् । हाम्रो मत पोखरा महानगरभित्र १८ हजारभन्दा माथि हो ।

एमालेका पूर्व सहकर्मी, केही समय नै भए पनि एउटै गुट सम्हालेको व्यक्ति पूर्व मेयर कृष्ण थापा तपाईंको प्रमुख प्रतिस्पर्धी हुनुहुन्छ, कसरी हेर्नुभएको छ यो प्रतिस्पर्धालाई ?

व्यक्तिगत हिसाबले मभन्दा सिनियर नेता हो, उहाँ । मेरो नेता पनि हुनुहुन्छ । विद्यार्थी आन्दोलनमा म तत्कालीन गण्डकी अञ्चलको अध्यक्ष हुँदा उहाँ केन्द्रीय कमिटीमा हुनुहुन्थ्यो । विद्यार्थी आन्दोलन र पार्टीमा पनि हामीले सँगै काम गरेका छौं ।

निर्वाचनमा गइसकेपछि एउटाको जित, एउटाको हार त हुन्छ नै, तर यो प्रतिस्पर्धा व्यक्तिगत होइन ।

पछिल्लो समय चुनावलाई विकृत बनाइएको छ । एकआपसमा असाध्यै हिलो छ्याप्ने र अस्वस्थ प्रतिस्पर्धातिर गइरहेको छ । तर, पोखरा सुन्दर ठाउँ हो, यहाँ स्वच्छ प्रतिस्पर्धा गरौं । आफ्ना एजेण्डा राखौं, एजेण्डा अनुसार जनताले मत हाल्ने वातावरण मिलाऊँ । हामीले जनतासँग एजेण्डा राख्छौं, त्यो हेरेपछि जनताले स्वतः हामीलाई जिताउनुहुनेछ । उहाँहरूको त परीक्षण भइसक्यो ।

तपाईंलाई किन मत दिने भन्ने प्रश्न पनि त होला नि ?

उहाँहरू पोखरामा टेस्टेड व्यक्ति हुनुहुन्छ । एक जना पूर्व मेयर साब हुनुहुन्छ भने एक जना वर्तमान उपमेयर हुनुहुन्छ । उहाँहरूले यो यो गर्‍यौं, अब यो गर्छौं भन्ने ठाउँ पनि छैन होला । घोषणापत्रमा गर्छौं भनेका कुराहरू पनि हुन सकेनन् ।

उहाँहरूको क्षमता त परीक्षण भइसक्यो नि ! पोखरामा एमाले फेलियर भयो, देखाउने कामै छैन । हामी चाहिं यो गर्छौं भनेर प्लानसहित आउँदा जनताले विश्वास गर्नेछन् ।

लामो समय एमालेमा भएकाले त्यहाँको मत पनि तान्छु भन्ने तपाईंको विश्वास हो ?

मत कुनै पार्टीको हुँदैन, पार्टीका त संगठित सदस्य हुन्छन्, क्रियाशील सदस्य हुन्छन् । नेकपा एमालेको पनि आजको दिनमा संगठित सदस्य पोखरामा १७-१८ हजार मात्र हो । कांग्रेसको क्रियाशील सदस्य त्यही १८-२० हजार होला । माओवादी केन्द्रले ८÷९ हजार भनेका छन् । हाम्रो पोखरामा मात्र ५७ सय संगठित सदस्य छन् । पार्टीले भनेर लाग्ने भनेको यिनै सदस्य मात्र हुन् ।

अघिल्लो चुनावमा एमालेले ६५ हजार मत ल्याएको थियो । संगठित सदस्य र प्राप्त मतको जति बीचमा छन्, ती सबै जनता हुन् । ती शुभेच्छुक हुन्, उहाँहरूले एजेण्डा हेरेर आवश्यकताका आधारमा मत दिनुहुन्छ । मेरो थप राम्रो पक्ष के हो भने एमाले पार्टीका क्याडरहरूसँग उत्तिकै राम्रो छ । मैले संगठित गरेकै साथीहरूको ठूलो सर्कल त्यहाँ छ ।

उहाँहरूसँग जस्तो आत्मीयता छ, उहाँहरूले दलीय सीमा काट्लान् भन्ने विश्वास हो । यसअनुसार मत आउँछ कि आउँदैन भनेर ट्याली गरेको छु । र, म के विश्वस्त छु भने पाँचवटा दलले आफ्नो मत कायम राख्दै थप उत्साही मत, अब पोखराका लागि धनराजै चाहिन्छ भन्ने आग्रहसहित जनताले मत दिंदै हुनुहुन्छ ।

एमाले उम्मेदवारले तपाईंहरूलाई कागजी गठबन्धनले हल्लाउन नसक्ने भनेका छन् नि ?

म यस्तो खालको टिप्पणी गर्दिनँ । पाँचदलीय गठबन्धनका दलहरू काम नभएर बस्नुभएको होइन । सबैको तल्लो तहसम्म संगठन छ, प्रतिबद्ध कार्यकर्ता छन्, कसैलाई पनि कम नआँकौं ।

जनताले पनि पाँच वर्ष खेर गयो, आफ्नै मत खेर गयो भनिरहेका छन् । मलाई त धेरैले भनिरहेका छन्, बिग्रिन लागेको पोखरा बनाउने र थुप्रै नयाँ कामको जग बसाल्ने क्षमता तपाईंसँग छ । तपाईंसँग लोभ पनि छैन । डर पनि छैन । धेरै गर्न सक्नुहुन्छ भनेर धेरै पोखरेलीले भन्नुभएको छ । हाम्रो सरकारी सिस्टमले फुल ड्युटी गर्छ, तर पोखरा ड्युटीफुल हुन सकेन । अब मैले त्यसलाई एक हिसाबले फनक्कै घुमाइदिने हो ।

उपमेयरमा भद्र, शालीन र राजनीतिलाई आस्थाको केन्द्र बनाउनुभएकी कोपिला रानाभाट हाम्रो उम्मेदवार हुनुहुन्छ । युवा साथीहरू वडाध्यक्ष भएर आउनुहुन्छ र उहाँहरूको इनर्जीलाई सिनर्जीमा बदलेर साँच्चै पोखरा बनाउने अठोटका साथ लागेको छु ।

पोखरा बनाउने सन्दर्भमा पार्टी, साथीभन्दा माथि उठेर लाग्नेछु । पोखराको सिंगो र पूर्ण विकासका निम्ति दिन, तिथिमिति तोकेर अगाडि बढौं भनेर आग्रह गर्दछु ।

यसअघि एमालेको घोषणापत्र बनाउने मध्ये एक हुनुहुन्थ्यो, तर पूरा भएन । अब कस्तो घोषणापत्र बनाउँदै हुनुहुन्छ ?

अघिल्लो पटक गणतन्त्र स्थापनापछि पहिलो स्थानीय तह, स्वायत्त खालको स्थानीय सरकार भएको हुनाले यतिसम्म गर्नुपर्छ भनेर पोखराको घोषणापत्र बनाएका थियौं । सिंहदरबारको अधिकारलाई जनताको घरदैलोमा ल्याउन सक्छौं, सबै क्षेत्रमा जनतालाई सहभागी गराउँछौं र पोखरालाई साँच्चै सुन्दर, आधुनिक र स्मार्ट सिटी बनाउँछौं भनेर घोषणापत्रमा भन्यौं । त्यसलाई लागु गर्न त परै जाओस्, सुरुवात समेत भएन । विस्तारै नेतृत्वले घोषणापत्र नै बिस्र्यो । पोखराको पाँच वर्ष त एक ढंगले खेरै गयो । अब त्यसबाट पाठ सिक्छौं ।

हाम्रो घोषणापत्रमा मानिसको जिन्दगीलाई सरल बनाउने, पोखरेलीको आर्थिक हैसियत माथि ल्याउने, प्रकृतिले दिएका पर्यावरणलाई नबिगारी विकास गर्ने खाका ल्याउँछौं । पोखराले अस्ति भर्खर त्रिवर्षीय योजना सार्वजनिक गरेको छ ।

त्यो धेरै मिहिनेत गरेर निकालिएको छ, जुन सजिलै लागु हुनसक्थे, तर भएन, गरिएन । पोखराका धेरै अध्ययन र योजना दराजमा थन्किएर बसेका छन् । ग्रेटर पोखराको कुरा होस्, रिङरोडको विषय होस्, साँचो अर्थमा सौन्दर्यसहितको फेवातालको कुरा होस्, थुप्रै योजना छन्, जुन हामी पूरा गर्छौं ।

हरियो पोखरा बनाउने अभियान चलाउनेछौं । पोखरामा आयात प्रतिस्थापन गर्ने भन्ने योजना पनि घोषणापत्रमा आउँदैछ । मानिसको जीवनलाई बाँच्न चाहिने अधिकांश चिज आफ्नै सहर वा आसपासका सहरबाट परिपूर्ति गर्ने नीति लिनेछौं । यस्ता थुप्रै अवसर छन्, जुन हाम्रा घोषणापत्रमा आउँछन् ।

दुवै पक्षले जित्छौं भनिरहनुभएको छ । अघिल्लो चुनावमा १४ हजार मतान्तरले चुनाव जितेको हो, यसपालि तपाईंहरूले कति मतान्तरले जित्ने हिसाब छ ?

मेरो अध्ययन र प्रमाणले के भन्छ भने १२ देखि १५ हजार मतान्तरले हामी चुनाव जित्छौं । कांग्रेसले पनि तल्लो तहसम्म पुगेर संगठन बनाएको छ, हामीले पनि घर–घर पुगेर संगठन बनायौं । माओवादीले पनि संगठनलाई जोड दिइरहेकै छ ।

जनता समाजवादी पार्टीको एउटा तप्का बाहिर गयो भनेर एमालेले हल्ला गरेको छ । जसपाले आफ्नो मतदाता धेरै गुम्न दिएको रहेनछ । राष्ट्रिय जनमोर्चा सानो, तर नीतिमा कटिबद्ध छ । सबैले आफ्नो मत सुरक्षित गर्दा र स्वतन्त्र पोखरेलीहरूको हामीप्रतिको आकर्षण र विश्वासका कारण राम्रै मतान्तरले जित्छौं भन्ने विश्वास छ ।

धनराजले टन्न पैसा कमाएको छ, त्यसकै बलमा चुनाव जितिन्छ भन्ने लागेको होला भन्ने पनि टीकाटिप्पणी सुनिन्छ नि !

जनताको मत पैसाले किन्न सकिने विषय होइन । म पैसा खर्च गरेर पदमा पुग्ने र पदमा पुगेपछि त्यो पैसा असुल गर्नेतिर लाग्ने प्रवृत्तिको विरोधी हुँ । म पार्टीमा १३ वर्ष पूर्णकालीन कार्यकर्ता हुँ । त्यसपछि राजनीतिमा एक खालको अपराधीकरण भइरहेको देखेपछि २०५८ सालमै एउटा आर्टिकल लेखेको थिएँ, राजनीति पेशा हुन सक्दैन ।

पेशा आफ्नो कुनै हुनुपर्छ र राजनीति सेवा हुनुपर्छ भनेर व्यवसाय, समाजसेवा र राजनीति सकेसम्म जोडेर लैजान्छु । त्यसपछि व्यावसायिक र सामाजिक क्षेत्रमा बढी समय खर्चिएँ ।

आजको दिनमा साँझ–बिहानको छाक टार्न समस्या छैन । मेरो बिजनेस सिस्टमले चलेको छ, स्वयंसेवकका रूपमा काम गर्छु भनेर आएको हुँ । मैले धनराज आचार्यले नेतृत्व गरेको ठाउँमा निःस्वार्थ सेवा हुन्छ भन्ने स्थापित गरेको पनि छु । मैले पैसाभन्दा बढी साथीभाइ, समाजप्रतिको उत्तरदायित्व र इमानदारी कमाएको छु । त्यही विश्वास र इमानदारीले मलाई महानगरको नेतृत्वमा पुर्‍याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?