
१४ वैशाख, काठमाडौं । स्थानीय निर्वाचनका लागि नेकपा एमालेले ९ वैशाखमा स्थानीय तहको घोषणापत्र सार्वजनिक गर्यो भने नेपाली कांग्रेसले त्यसको दुई दिनपछि सार्वजनिक गर्यो ।
एमालेको घोषणापत्रमा कांग्रेसका शीर्ष तहका नेताहरुबाट टिप्पणी गरेको सुनिएन । तर, कांग्रेसको घोषणापत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरे ।
ओलीको अभिव्यक्तिको प्रतिवादमा कांग्रेसका नेताहरु सामाजिक सञ्जालदेखि सार्वजनिक कार्यक्रमसम्म देखिए । मंगलबार एक कार्यक्रममा बोल्ने क्रममा ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका थिए ।
ओलीको अभिव्यक्तिबाट कांग्रेस रुष्ट बनेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा प्रवक्ता डा. प्रकाशशरण महतले ओलीको अभिव्यक्तिको प्रतिवाद गरेका छन् । झुटलाई च्यालेञ्ज गर्नेलाई विगतमा पनि ओलीले ‘पागल’ भन्ने गरेको महामन्त्री थापाले बताए । पूर्व प्रधानन्यायाधीश सुशीला कार्की तथा डा. गोविन्द केसीलाई पनि ओलीले पागलको संज्ञा दिएको थापाले दाबी गरे ।
‘उहाँको झुटलाई च्यालेञ्ज गर्नेलाई पागल भन्नुहुन्छ,’ काठमाडौंमा भएको एक कार्यक्रममा थापाले भने, ‘उहाँलाई आफ्नो प्रशंसाको एकालाप सुन्ने बानी भएको हो । एक पछि अर्को झुटको पर्दाफास गरेपछि उहाँले सहन सक्नुभएन ।’
कांग्रेसले ल्याएको संकल्पलाई एमाले अध्यक्ष ओली घोषणापत्र नै मान्न तयार छैनन् । नेकपा सरकार र त्यसमा पनि उनीमाथि कांग्रेस खनिएको प्रति ओलीको रिसको पारो बढेको छ । कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रको पृष्ठभूमिमा ओली सरकारको आलोचनामात्रै छ ।
ओलीकै कारण पाँच वर्ष खेर गएको निष्कर्ष निकालेको कांग्रेसको घोषणापत्रको प्रथमखण्डमा ‘खेर गएको पाँच वर्ष’ उपशीर्षकमा एमाले सरकारको आलोचना गरिएको छ । ‘खेर गएको समयलाई त खेर गएकै भन्न पर्यो । उहाँको स्तुतीगान गर्ने कुरा भएन,’ महामन्त्री थापाले भने ।
ओलीले कांग्रेसको घोषणापत्रको प्रथम खण्ड हेरेर नै धारणा राखेको गगनको भनाइ छ । त्यसपछिका विषयवस्तु ओलीले अध्ययन नै नगरेको दाबी थापाको छ । पाँच वर्ष खेर गएको तथ्यलाई उजागर गर्दा ओलीमा असन्तुष्टि देखिएको थापा बताउँछन् ।
ओलीका विरुद्धमा कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको विषयप्रति एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले समेत प्रतिवाद गरेका छन् । कांग्रेसले घोषणापत्रमा एमाले र अध्यक्ष ओलीका बारेमा जे जस्तो शब्द प्रयोग गरेको छ, यो शिष्टताका हिसाबले पनि असान्दर्भिक उत्तेजक रहेको रिजालले टिप्पणी गरेका छन् ।
कांग्रेसको घोषणापत्रमा उल्लेखित ‘केपी ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षा’ भन्ने शव्दावली प्रति रिजाल रुष्ट देखिन्छन् । ओलीलाई लेखिएको भाषाको प्रतिवाद गर्दै उनले टिव्टरमा ‘शहरतिरका बाख्रापालकहरुले त के सर्पपालकहरुले पनि प्रयोग गर्नु नपर्ने’ शब्द भनेका छन् ।
रिजालले ‘बाख्रापालक’ भनि गगन थापा र ‘सर्पपालक’ भनि एकीकृत समाजवादीका नेता झलनाथ खनालप्रति संकेत गर्न खोजेका छन् । एमाले र ओलीको विरुद्धमा शब्द खर्चिएकाले कांग्रेसको ‘प्रलाप’ नभनेर राजनीतिक दस्तावेज मान्न नसकिने रिजाल बताउँछन् ।
एमाले अध्यक्षको बुझाइमा कांग्रेसको घोषणापत्रमा व्यक्तिगत गाली गलौजमात्रै छ । राजनीतिक विश्लेषण केही पनि नभएको ओलीको भनाइ छ । महामन्त्री थापाले कांग्रेसको घोषणापत्रमा लजिक (तर्क) भएकाले ओलीलाई मन नपरेको बताउँछन् । ‘केपी ओलीलाई लजिक मन पर्दैन, म्याजिक (जादू) मन पर्छ । हामीले लजिक राखेका छौं, म्याजिक छैन,’ थापाले भने ।
स्थानीय सरकारलाई प्रभावकारी बनाउनका लागि विगतका भन्दा नितान्त फरक घोषणापत्र ल्याएको कांग्रेसको दाबी छ । ‘घोषणापत्रमा हावादारी, उडन्ते, नसक्ने कुरा गरेका छैनौं’, थापा भन्छन्, ‘आकाशमा उडेको घोषणापत्रलाई भुइँमा झार्यौं ।’
अर्का महामन्त्री विश्वप्रकाश शर्मा ‘जमिनमा टेकेर गर्न सकिने कामहरू’ उल्लेख गरी कांग्रेसले घोषणापत्र ल्याएको दाबी गर्छन् ।
सामाजिक सञ्जाल मार्फत एमाले अध्यक्ष ओलीलाई उनले जवाफ दिएका छन्, ‘मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याउ खेतीको सपना देखाउन मात्रै बाँकी राख्नुभएको छ । माफ गर्नोस्, श्रद्धेय कमरेड उडन्ते सपनाहरुको गफको पुलिन्दा लेख्न कांग्रेसलाई आएन ।’
प्रतिक्रिया 4