+
+
एलसी विवाद प्रकरण :

राष्ट्र बैंकको बचाउ : एलसी बन्द गर्न कुनै निर्देशन दिएका छैनौं

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ वैशाख १५ गते २१:४४
राष्ट्र बैंकले रोक्न निर्देशन दिएपछि खुलेका एलसीको विवरण

१५ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि बैंकहरूले कयौं बिलासी वस्तुको आयातको लागि प्रतीतपत्र (एलसी) खोलेका छैनन् । गत २१ चैतमा राष्ट्र बैंकले दिएको निर्देशनभन्दा ठीक अघि र पछि सीमित व्यापारिक घरानाले पूर्वसूचनाका आधारमा ठूलाे परिमाणमा एलसी खोलेपछि राष्ट्र बैंक नै विवादमा परेको थियो । यसबारे अहिलेसम्म  मौन रहेको राष्ट्र बैंक मंगलबार सरकारले १० वस्तुको आयातमा प्रतिवन्ध लगाउने निर्णय गरेपछि भने नेपाल राष्ट्र बैंकले आफ्नो बचाउमा औपचारिक प्रतिक्रिया दिएको छ । अब भने राष्ट्र बैंक एलसीबारे कुनै निर्देशन नै नदिइएको दाबी गर्न थालेको छ ।

आयात बन्द हुने सूचना चुहाएर कन्टिनेन्टल इन्टरप्राइजेज, विशाल ग्रुप, ज्योति समूह, शारडा ग्रुप लगायतलाई ठूलो मात्रामा मदिरा, चकलेट, गाडी जस्ता वस्तु आयात गर्न दिएको समाचार अनलाइनखबरले सार्वजनिक गरेको थियो । तर आयात रोकिनु केही दिनअघि र आयात रोक्न निर्देशन दिइएको चार दिनसम्म खुलेका आयात प्रतीत पत्र (एलसी) मा आफूहरुको कुनै भूमिका नभएको नेपाल राष्ट्र बैंकको दाबी छ ।

गर्भनर महाप्रसाद अधिकारीको कार्यालयले एलसी नखोल्न कसैलाई कतै नभनेको गर्भनर कार्यालयका निर्देशक एमव् केन्द्रिय बैंकका सूचना अधिकारी नारायणप्रसाद पोख्रेलले बताए । ‘बैंकहरुलाई एलसी रोक्न राष्ट्र बैंकले भनेको भन्ने समाचार सुनियो, समाचार सुनेर बैंकका सीईओहरुले पनि हामीलाई फोन गरेर जिस्क्याउनुभयो,’ पोख्रेलले भने, ‘हामीले मौखिक वा कुनै पनि तरिकाले एलसी नखोल्न निर्देशन दिएका छैनौं ।’

आयात रोक्ने वा खोल्नेबारे राष्ट्र बैकलाई कुनै पनि कानुनी अधिकार नभएको समेत उनले दाबी गरेका छन् । ‘आयात खोल्ने वा बन्द गर्ने भन्ने काम सरकारको हो, राष्ट्र बैंकलाई यस्तो कुनै पनि कानुनी अधिकार छैन्,’ पोख्रेलले दाबी गरे ।

राष्ट्र बैंकबाट लिखित वा मौखिक कुनै पनि निर्देशन बैंकहरुलाई नभएको भन्दै गभर्नर कार्यालयले बाणिज्य बैंक र व्यापारीको विवादमा आफुहरुलाई मुछिएको भन्दै बचाउ गरेको छ । ‘म गर्भनरसापसँगै हुन्छु, उहाँले कही कतै मौखिक पनि एलसी रोक्न भनेको मेरो जानकारीमा छैन,’ निर्देशक पोख्रेलले भने ।

यसअघि विभिन्न समयमा खुलेका वस्तुको एलसी बैंकहरुको क्षमताअनुसार खुलेको भन्दै उनले एलसी खोल्ने बैंकहरुको पनि बचाउ गरे ।

व्यापारका लागि लगानी गर्न सक्ने बैंकबाट एलसी खुलेको र नसक्ने बैंकबाट नखुलेको उनको भनाइ थियो । केन्द्रिय बैंकले विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि आयातमा हुने भुक्तानी प्रक्रियामा कडाइ गर्न सक्ने औजार मात्रै चलाएको पोख्रेलले बताए । उनले भने, ‘एलसी बन्द थिएन र छैन । केही वस्तुहरुमा लागू गरिएको मार्जिनको व्यवस्था यथावत छ ।’

सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर १० प्रकारका वस्तु आयातमा लगाइको रोक नै वस्तुको आयात सम्बन्धमा उपयुक्त निर्णय भएको पनि पोख्रेलको भनाइ छ । वाणिज्य मन्त्रालयको सोही निर्णयका आधारमा भुक्तानी सम्बन्धी काम गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन दिएको पनि उनले बताए ।

तर, राष्ट्र बैंकलेे एलसी रोक्न निर्देशन दिएको थियो

२१ चैत २०७८ अपरान्ह गर्भनरको निर्देशनमा बैंकका प्रमुख कार्यकारी निर्देशकहरुलाई राष्ट्र बैंकले आपत्कालीन रुपमा राष्ट्र बैंकको अगाडि रहेको नेपाल हाउस रेष्टुरेन्टमा बोलाएको थियो । छलफलमा सहभागी एक सदस्यकाअनुसार राष्ट्र बैंकका डेपुटी गर्भनर, बैंक तथा वित्तिय क्षेत्र नियमन महाशाखा प्रमुख र विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख लगायतको उपस्थितिमा गभर्नर महाप्रसाद अधिकारीको निर्देशन भन्दै सवारी साधन, मदिरा, सुन लगायतका बिलासी वस्तुको आयात रोक्न केन्दि्रय बैंकले निर्देशन दिएको थियो । यस्तै विदेशी मुद्राको सटही सिमा २ सय डलरमा सीमित राख्न पनि भनेको थियो ।

राष्ट्र बैंकको निर्देशन सुन्न पुगेका २७ वाणिज्य बैंकका प्रमुख कार्यकारीमध्ये ७ जना बैंकरले छोटो सूचना र हतारमा यस्तो निर्देशन दिनु गलत भएको भन्दै प्रतिवाद समेत गरेका थिए । सहभागी मध्ये केहीले लिखित रुपमा एलसी रोक्ने निर्देशन दिन राष्ट्र बैंकलाई अनुरोध पनि गरेका थिए । जवाफमा राष्ट्र बैंकले भुक्तानी सन्तुलनको अवस्थाका कारण बैंक यो निर्णयमा पुगेको र त्यसलाई स्वीकार्न पर्ने बताएको एक सहभागीले बताए । दुई घण्टा हाराहारी एलसी रोक्ने सम्बन्धमा भएको छलफल पाँच बजेपछि टुंगिएको थियो ।

बैंक र नियमक बीचमा विभिन्न विषयमा छलफल र वार्ताहरु भइरहने नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिल उपाध्यायले बताए । केन्दि्रय बैंकको निर्देशनपछि नै आफूहरुले एसली खोल्न रोक्ने वियषमा बैंकहरु बीच समझदारी गरेको उनको भनाइ थियो । ‘केन्द्रीय बैंकको निर्देशनपछि एक हप्ता हेरौंन त भन्ने हाम्रो एशोसिएसनले सबै बैंकहरुसँग बसेर अण्डरस्ट्यान्डिङ गरेको हो,’ उपाध्ययले भने ‘यसको कुनै लिखित माइन्युट भने छैन, राष्ट्र बैंकको निर्देशन पनि लिखित छैन ।’

एलसी नखोल्न केन्द्रीय बैंकले भनेको र बैंकर्स संघले नखोल्ने निर्णय गरेपछि बिलासी वस्तुको आयात किन खुल्यो ? भन्ने प्रश्नमा उपाध्यायले त्यसलाई नियामकले हेर्नुपर्ने बताए ।

गर्भनरले स्वीकारेका थिए एलसी रोक्न निर्देशन भएको कुरा

राष्ट्र बैंकको मौखिक निर्देशनका भरमा बैंकहरुले एलसी रोक्ने निर्णय गरेका थिए । त्यसबारे अनलाइनखबरको जिज्ञाशामा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निर्देशन कुन माध्यमबाट दिइयो भन्ने कुराले अर्थ नराख्ने बताएका थिए

अर्थतन्त्रमा देखिएका समस्या र भविष्यमा आउन सक्ने चुनौतिका विषयमा राष्ट्र बैंक गम्भीर रहेको उनको भनाइ थियो । अर्थतन्त्रलाई कुनै किसिमको समस्या नहोस भनेर गम्भीर रुपमा अध्ययन गरेर राष्ट्र बैंकले आवश्यक नीति निर्देशनहरु तयार गरेको गभर्नर अधिकारीले बताएका थिए ।

‘सबैकुरा हल्ला गरेर वा बाहिर जानकारी गराएर दिनु हुँदैन, यसले फेरि अर्को नकारात्मक असर पर्न सक्छ’ गभर्नर अधिकारीले भनेका थिए, ‘लिखित वा मौखिक जसरी दिए पनि निर्देशन कार्यान्वयन गर्ने हो, हाम्रो अर्थतन्त्रलाई समस्या हुनबाट जोगाउने हो ।’

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?