+
+

नबिल बैंकको बदमासी : राष्ट्र बैंकको निर्देशन विपरीत खोल्यो ‘एलसी’

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते २२:३१

१३ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले २७ वाणिज्य बैंकका कार्यकारी प्रमुखहरुलाई बोलाएर २१ चैतमा बिलासी वस्तुहरुमा एलसी नखोल्न निर्देशन दियो । राष्ट्र बैंकले बालुवाटार बोलाएरै दिएको निर्देशन अधिकांश बैंकहरुले पालना गरे । नियामक निकायले दिएको निर्देशन भएका कारण बैंकहरुले मान्नै पर्ने बाध्यता थियो ।

तर, निर्देशन दिएकै भोलिपल्ट पनि केही वस्तुहरु आयातका लागि धमाधम एलसी खोलियो । नेपाल राष्ट्र बैंक उच्च स्रोतका अनुसार निर्देशन दिएको भोलिपल्ट २२ गते पछि पनि २५ गतेसम्म लगातार एलसी खोलिएको पाइएको छ । निर्देशनपछि ठूलो मात्रमा विदेशी मुद्रा बाहिरिने गरी एलसी खोल्नमा नबिल बैंक अग्रस्थानमा देखिएको राष्ट्र बैंक श्रोत बताउँछ ।

एलसी रोक्ने निर्णय भएपछि पनि नबिल बैंकले व्यापारिक घारानाको सेटिङमा आयातको लागि एलसी खोल्ने गरेको राष्ट्र बैंकका एक अधिकारी बताउँछन् । ‘हामीले निर्देशन दिएपछि मात्रै पनि एक अर्ब ७४ करोड ७६ लाख ९५ हजार ५९६ रुपैयाँ बराबरको एलसी खोलेको भटिएको छ’ राष्ट्र बैंकका एक अधिकारीले भने, ‘यो सामान्य तरिकाले खोलिएको होइन, ठूलो सेटिङजस्तो देखिन्छ ।’

उनकाअनुसार राष्ट्र बैंकले दिएको निर्देशनपछि पनि यसरी एलसी खोल्नेमा नबिलसँगै स्टान्डर्ड चार्टर्ड बैंक पनि छ । अन्य केही बैंकहरुले पनि सामान्य परिमाणमा मात्रै एलसी खोलेका छन् । सबैभन्दा धेरै भने नबिल बैंकबाटै खोलिएको पाइएको छ ।

२३ र २५ चैतमा व्यवसायी अनुज अग्रवालको विशाल ग्रुप अन्तर्गतको युनाइटेड ट्रेडर्सले चकलेट, क्रिम, जिलेटका उत्पादन र लुगा धुने डिटरजेन्ट पाउडरका लागि एलसी खरिद गरेको देखिन्छ । एलसी प्रतिबन्धपछि पनि युनाइटेड ट्रेडर्सले ७८ करोड २९ लाख रुपैयाँको एलसी खोलेको देखिन्छ ।

एलसी बन्द हुनुअघि र पछि गरेर नबिल बैंक र स्ट्यान्डर्ड चाटर्ड बैंकबाट ९ वटा एलसीमार्फत एक अर्ब १ करोड ५ लाख ९ हजार ५६७ रुपैयाँको एलसी जारी भएको छ । प्रतिबन्धपछि मात्रै विशाल समूहलाई ७८ करोड २९ लाख १० हजार ५५७ रुपैयाँ बराबरको बिलासी वस्तु आयातको अनुमति दिइएको छ । यस्तै नबिल बैंकको एलसी नम्बर ‘२२ डिसी ०१ यूएसडी २५४३९’ मार्फत ११ लाख ३ हजार २४.४० अमेरिकी डलरको एलसी खुलेको देखिन्छ ।

नबिल बैंकको एलसी नम्बर ‘२२ डिसी ०१  आई एनआर ०२५०८३’ मार्फत ७ करोड ४५ लाख ७२ हजार ११६ रुपैयाँ ८ पैसा बराबरको लुगा धुने डिटर्जेन्ट पाउडर पनि आयातका लागि एलसी खुलेको छ । यो एलसी भारतीय रुपैयाँ ४ करोड ६६ लाख ७ हजार ५७३  दशमलव ५० पैसा भारुमा एलसी खुलेको थियो ।

बैंकहरुले यसरी एलसी खोलेको पाइएपछि केही बैंकहरुलाई मौखिक रुपमै स्पष्टीकरण समेत लिएको स्रोतले बतायो । थोरै परिमाणमा एलसी खोल्ने १० वटा बैंकहरुले अत्यावश्यक परेका र १० लाख रुपैयाँ भन्दा तलको मात्रै एलसी खोलेको पाइएपछि राष्ट्र बैंकले कुनै कारबाही गरेन ।

ठूलो परिमाणमा एलसी खोल्ने नबिल बैंकलाई भने राष्ट्र बैंकले स्पष्टीकरण समेत सोधेको छैन । एलसीका विषयमा केन्द्र्रीय बैंकले भने कुनै प्रतिक्रिया दिन पनि चाहेको छैन ।

बैंक तथा वित्तीय संस्थासम्बनधी ऐनले बैंक वा वित्तीय संस्थाको संस्थापक, शेयरधनी, सञ्चालक, कार्यकारी प्रमुख, पदाधिकारी, कर्मचारी वा अन्य कुनै सम्बन्धित व्यक्तिले यो ऐन वा राष्ट्र बैैंक ऐन वा सो अन्तर्गत जारी भएको नियम, विनियम वा दिइएको निर्देशन वा आदेश वा शर्तको उल्लंघन गरेमा वा राष्ट्र बैंकले उल्लंघनको प्रकृति तथा गाम्भिर्य हेरी दशलाख रुपैयाँ सम्म जरिवाना गर्न सक्ने व्यवस्था छ ।

के भन्छ नबिल बैंक ?

नविल बैंकका महाप्रवन्धक मनोज ज्ञवालीले आफूहरुले एलसी खोलेको स्वीकार गरे । खोलिएका सबै एलसी राष्ट्र बैंकको निर्देशन आउनु अगाडिको भएको उनको दावी छ ।

उनले राष्ट्र बैंकको निर्देशनको बैंकहरुले भद्र पालना गरेको र नबिल बैंकले पनि नियामक निकायको सबै निर्देशन पालना गरेको दावी गरे । निर्देशन आएपछि आफूहरुले एलसी नखोलेको ज्ञवालीको दावी छ । तर, अनलाइनखबरलाई प्राप्त कागजातमा भने नविल बैंकले २१ गते पछाडि पनि एलसी खोलेको देखिन्छ ।

‘राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र संकटमा पर्न लागेको अवस्थामा लिखित नभई मौखिक रुपमा केही समय एलसी नखोल भनेर आग्रह गरेको थियो, त्यसपछि बैंकहरुले भद्र रुपमा यो निर्देशनको पालना गरेका छन्’ अनलाइनखबरसँग उनले भने, ‘निर्देशन आएपछि एलसी खोलियो भन्नु सरासर झुठ हो, केही करोड नाफाको लोभमा नबिल बैंकले राष्ट्रबैंकको निर्देशनलाई अवज्ञा गर्न सक्दैन ।’

नेपालमा सायदै अर्को बैंकले समेत यस्तो गल्ती गर्ने उनले बताए । आफूहरु नियामक निकायको सबै निर्देशनलाई पालना गरेरै अगाडि बढेको उनको दावी छ ।

‘बैंकरसँग मुनाफा कमाउनु पर्ने दायित्वसँगै नैतिकता पनि छ, त्यसमा हामी अडिग छौं ,’ज्ञवालीले भने ।

मार्च (चैत) महिनामा एलसी खोलिएको स्वीकार गर्दै उनले भने, ‘मार्चमा बढी एलसी खोलिनुको पछाडि भारतीय अर्थ प्रणालीको अन्तिम महिना भएका कारण हरेक वर्ष नेपालमा बढी गाडी आयात हुने गरेको छ, यो वर्ष पनि सोही प्रवृत्ति दोहोरिएको हो ।’

यसमा गाडी आयातकर्ता र निर्यातकर्ता कम्पनीहरुबीच कमिसनको पनि विषय भएको उनले बताए । तर, यसमा बैंकहरुले नियतवस एलसी भने नखोलेको ज्ञवालीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?