+
+

भरतपुरका बागी फकाउन महाभारत

सुवास पण्डित सुवास पण्डित
२०७९ वैशाख १५ गते २१:२०

१५ वैशाख, चितवन । सोमबार भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दर्तापछि माओवादी केन्द्रकी रेनु दाहालले सञ्चारकर्मीसँग भनेकी थिइन्, ‘बागी उम्मेदवारीले केही फरक पर्दैन ।’

सत्तारुढ गठबन्धनको भागबन्डामा मेयर माओवादीको भागमा परेपछि नेपाली कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका थिए । रेनुले केही फरक पर्दैन भने पनि पौडेललाई फकाउन नेताहरुको दौडधुप बढेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार चितवन आइपुगे । पार्टीभित्रको अन्तरविरोधलाई मिलाउन आएका भनिएका प्रचण्डले कांग्रेस नेताहरूसँग पनि बागीले पार्ने प्रभावबारे बुझे । जिल्लाका नेताहरुको पनि साथ भएकाले पौडेलको पक्षमा भरतपुरका कांग्रेस नेता कार्यकर्ताको ठूलो पङ्ति छ ।

त्यही बुझेर प्रचण्ड काठमाडौं फर्किएपछि सत्तारुढ गठबन्धनले बागी फिर्ता गराउने निर्णय लिएको छ । र कांग्रेस नेताहरुको भरतपुर दौडधुप चलिरहेको छ ।

पौडेललाई फकाउन बुधबार चितवन आएका कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवनमै छन् ।

उनीहरुले पौडेललाई भेटेर पार्टीको निर्णय अनुसार अघि बढ्न आग्रह गरेका छन् । पौडेललाई भेट्न जानुअघि गृहमन्त्री खाँणले पूर्वसभापति कृष्णलाल सापकोटा, पूर्वसांसद भीमबहादुर श्रेष्ठ र मिना खरेललगायतलाई भेटेका थिए ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलदेखि सबैजसो शीर्ष नेताले पौडेललाई आश्वासनसहित उम्मेदवारी फिर्ता लिन दबाव दिएका छन् । उनलाई राष्ट्रियसभा सदस्यदेखि राजदूत बनाउने आश्वासनसमेत दिइएको स्रोतको दाबी छ । तर पौडेलले अडान छाडेका छैनन् ।

तपाईंलाई केके आश्वासन आएको छ भन्ने अनलाइनखबरको प्रश्नमा बागी उम्मेदवार पौडेलले भने, ‘मलाई कुनै पनि आश्वासनले छुँदैन, तपाईंले मलाई चिन्नुभएकै होला ।’

उमेरले ७० वर्ष पुगेका नेता पौडेल कांग्रेसले अनुशासनको डण्डा चलाए पनि उम्मेदवारी फिर्ता लिन तयार छैनन् । उम्मेदवारी फिर्ताको दिन निर्वाचन आयोगले वैशाख १६ गतेसम्म तोकेको छ । भोलि शुक्रबारसम्म पौडेल अडिए उम्मेदवारी कायम रहन्छ । तर कांग्रेस नेताहरु उनलाई मनाउन प्रयासरत छन् ।

शुक्रबार बिहान उम्मेदवारी फिर्ताका लागि फकाउन अन्तिम प्रयास गर्ने तयारीमा दुईमन्त्री छन् ।

बिहान ८ बजे नारायणगढको होटल सेन्ट्रल पाममा छलफलका लागि बोलाइएको असन्तुष्ट पक्षका एक नेता पूर्व सांसद भीमबहादुर श्रेष्ठले बताए । ‘आजै बेलुका बसौं भन्ने थियो । कृष्णलालजी र म त होटल पनि पुगेका थियौं, जगन्नाथजी आउनु भएन’ नेता श्रेष्ठले भने, ‘हामीले पनि रातिमा नबसौं भन्यौं । भोलि बिहान बसौं भन्नुभा’छ । तर हामी अडानबाट पछाडि हट्दैनौं ।’

आयोगको ध्यानाकर्षण

भरतपुरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता पौडेललाई फकाउन मन्त्रीहरु चितवन पुग्नुलाई निर्वाचन आचारसंहिता उल्लंघन मानिएको छ ।

उम्मेदवारमाथि मन्त्रीले मानसिक दबाव दिनु निर्वाचन आचारसंहिता विपरीत हुने निर्वाचन आयोगको भनाइ छ ।

आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले यसबारे आफूहरुको ध्यानाकर्षण भएको र आयोगले थप निर्णयहरु लिने बताए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?