+
+

वीरेन्द्रनगरमा एमालेको घोषणापत्रः अर्को विमानस्थलको सम्भाव्यता अध्ययनदेखि सपिङ कम्प्लेक्ससम्म

यज्ञ खत्री यज्ञ खत्री
२०७९ वैशाख १८ गते १०:४१

१८ वैशाख, सुर्खेत । नेकपा एमालेको वीरेन्द्रनगर कमिटीले आसन्न स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । २१ पेज लामो प्रतिवद्धतापत्रमा अन्डरग्राउण्ड पार्किङ्ग सहितका सपिङ्ग कम्प्लेक्स, सामाजिक न्याय, गरिव परिचय पत्र वितरणदेखि विद्युतीय सुशासनसम्मका विषय उल्लेख छन् ।

वीरेन्द्रनगरको मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनाललाई उम्मेदवार बनाएको एमालेले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि शनिबार प्रतिवद्धतापत्र सार्वजनिक गरेको थियो । प्रतिबद्धता पत्रमा केही पुराना र केही नयाँ योजनाहरु छन् ।

०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले नगर गुरुयोजना, खानेपानी समस्या समाधान र नगर बसको विषय उठाएको थियो । यसपटक पनि तिनै विषय दोहोर्याइएको छ । प्रतिवद्धता पत्रमा भनिएको छ, ‘नगर विकास प्राधिकरण गठन गरी नगरको एकीकृत विकासको मोडेल अघि बढाइने छ । तीन वर्षभित्र भेरी लिफ्ट योजना सम्पन्न गरी सुर्खेत उपत्यकामा खानेपानी पुर्याइने छ ।’

विमानस्थलको सम्भाव्यता अध्ययन

सुर्खेतको अर्को ठाउँमा विमानस्थलको सम्भाव्यता अध्ययन गर्ने, टोलविकास संस्थालाई ‘निगरानी समूह’को रूपमा विकास गर्ने, गरीब परिवारलाई निःशुल्क कानुनी सेवा, छोरी बचत खाताको निरन्तरता र ज्येष्ठ नागारिकका लागि देशदर्शन कार्यक्रम ल्याइने पनि उल्लेख छ ।

सहायक राजमार्ग आरम्भ, घरहरुमा मेट्रिक ठेगाना प्रणाली, भूकम्प प्रतिरोधी घर निर्माण, ल्याण्डफिल साइट निर्माण, सघन सहरी विकास कार्यक्रम अघि बढाइने, निर्माण सामग्रीहरूको गुणस्तर परीक्षण गर्न सिभिल इन्जिनियरिङ ल्याब स्थापना गर्ने, ढल निकास र नगरलाई उपमहानगर बनाउन आवश्यक स्रोत तथा भौतिक पूर्वाधारको विकास गरिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

कटुकुवा नगर अस्पताललाई महिला बालबालिका विशेषज्ञ अस्पतालको रूपमा विकास गर्ने , एक घर, एक महिला स्वरोजगार, गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा, महिला तथा किशोरीहरूलाई आत्मरक्षाको सीप प्रदान लगायतका विषय एमालेको घोषणापत्रमा छन् ।

वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली सहर बनाउने, प्लास्टिक न्यूनीकरण अभियान सन्चालन गर्ने, नगरपालिका क्षेत्रभित्रका ढल तथा नालालाई वातावरण अनुकूलित बनाउने, पूर्वाधार विकासका योजनाहरूबाट केही प्रतिशत रकम वातावरण संरक्षणमा योगदान पुग्ने गरी आयोजनाको डिजाइन गर्ने, सौर्य ऊर्जा र बायोग्याँस विस्तारमा जोड दिने तथा ‘एक घर दुई विरुवा, हामी आफैं कुरुवा’ भन्ने मूल नारालाई कार्यान्वयन गर्ने प्रतिवद्धता एमालेले जनाएको छ ।

सामाजिक क्षेत्रमा साइबर अपराधका घटना न्यूनीकरणका लागि कानुन निर्माण गर्ने एमालेको प्रतिवद्धता छ । प्रदेशकै गौरवको रूपमा रहेको काँक्रेबिहार संरक्षण क्षेत्रलाई संवर्द्धन गर्दै प्रमुख पर्यटकीय स्थलका रूपमा विकास गर्ने, देउतीबज्यै, बुलबुले, घण्टाघर, खोरिया, सहिदपार्क, पाताल दरबार, अँधेरी गुफा लगायतका क्षेत्रलाई धार्मिक, वातावरणमैत्री तथा खुला पार्कको रूपमा विकास गर्ने एमालेको घोषणा पत्रमा उल्लेख छ ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?