+
+

नवलपरासीमा पालिका प्रमुख र उपप्रमुखमा गरी १० जना दलित उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १६:०१
फाइल तस्वीर

१८ वैशाख, नवलपरासी । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि दलित समुदायबाट नवलपरासीको पालिका प्रमुख र उपप्रमुखमा १० जना चुनावी मैदानमा छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रुद्रप्रसाद रेग्मीकाअनुसार दलित समुदायबाट तीन जना प्रमुख र ७ जना उपप्रमुखका उम्मेदवार छन् ।

प्रमुख/उपप्रमुखमा उमेदवार उठाउनेमा नेपाली कांग्रेस र नेकपा एमालेभन्दा अन्य दल बढी उदार देखिएका छन् । नवलपरासीमा ३ नगरपालिका र ४ गाउँपालिका रहेका छन् ।

जिल्लाभर कुल ३८४ जनप्रतिनिधिहरु चुनिदा आरक्षणमा सीमित गरिएका दलित महिला सदस्यबाहेक कांग्रेस/एमालेले स्थानीय तहका प्रमुख/उपप्रमुखमा उमेदवार दिन कन्जुस्याई गरेको देखिएको हो । ७४ वडा रहेको जिल्लामा कुल ३७६ जनाले दलित महिला सदस्यमा उम्मेदवारी दिएका छन् ।

हरेक वडाबाट १ जना दलित महिला सदस्य अनिवार्य गरिएकाले जिल्लाभरबाट ७४ जना दलित महिला सदस्य चुनिने छन् ।

जिल्लाका पालिकाहरुमध्ये ५ पालिकामा माओवादी केन्द्रसहित साना दल र स्वतन्त्रबाट ११ जनाको प्रमुख/उपप्रमुखमा उम्मेदवारी परेको छ । २ पालिकामा दलितबाट उम्मेदवारी परेको छैन ।

उम्मेदवारमा उदार देखाएका दलहरुले पनि महिलालाई प्रमुख दिन कन्जुस्याई गरेको उम्मेदवारी दर्ताले देखाएको छ । एक जना मात्र महिला प्रमुख छन् ।

महिलाबाट रामग्रामको प्रमुख पदमा उम्मेदवारी दिनेमा मंगोल नेशनल अर्गनाइजेसन पार्टीकी विमला विक छन् । त्यहाँ बहुजन शक्ति पार्टीले सन्तोष हरिजनलाई प्रमुखमा उमेदवार बनाएको छ ।

सुस्ता गाउँपालिकामा ५ जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा उम्मेदवारी दिनेमा माओवादी केन्द्रका धर्मेन्द्रकुमार पञ्जियार र नेकपा एकीकृत समाजवादीका बाबुराम चमार छन् ।

उपाध्यक्षमा राप्रपाकी हेमकुमारी पञ्जियार, राष्ट्रिय जनमुक्ति पार्टीकी रुपाकुमारी हरिजन, जनता प्रगतिशिल पार्टी(जप्रपा) की सोसिताकुमारी हरिजनले उम्मेदवारी दिएकी छन् ।

उपाध्यक्षमा उम्मेदवारी दिनेहरुमा पाल्हीनन्दन गाउँपालिकामा राप्रपाकी ज्योती हरिजन र सरावल गाउँपालिकामा जनता समाजवादी पार्टी(जसपा) की सुनिता हरिजन छन् ।

सुनवल नगरपालिकाको उपप्रमुखमा नेकपा एसका अर्जुन सुनारले उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा मनोजकुमार हरिजनले उम्मेदवारी दिएका छन् । हरिजन अधिवक्तासमेत हुन् ।

बर्दघाट नगरपालिका र प्रतापपुर गाउँपालिकाबाट दलित समुदायबाट उम्मेदवारी परेको छैन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रुद्रप्रसाद रेग्मीकाअनुसार निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी कुल २१ सय ९ जनाले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?