
काठमाडौं । मुख्य कलाकार अनमोल केसी र सारा श्रीपाइली नरहने भएपछि ‘हनीबनी’को छायांकन पछि सरेको छ । मे महिनाको पहिलो सातादेखि फिल्मको छायांकन सुरु हुने भनिए पनि अन्तिम समयमा रोकिएको छ ।
अनमोल र सारा फिल्ममा नरहेको खबर आइतबार सार्वजनिक भएको थियो । निर्देशक दिवाकर भट्टराईले ‘सहमति’मै अनमोलले फिल्म छाडेको बताएका थिए । साराले प्रोजेक्ट छाड्नुको पछाडि बेलायतको भिसा नआउनुलाई कारण मानिएको छ ।
अनमोल र सारा दुवैले फिल्म छाडेपछि उनीहरुको ठाउँमा नयाँ कलाकार निश्चित भइसकेका छैनन् । साराको ठाउँमा जसिता गुरुङसँग कुराकानी भइरहेपनि टुंगो लागिसकेको छैन ।
तर अनमोलले फिल्म किन छाडे ? ‘हनी बनी’ प्रोजेक्ट अन्तिम समयमा छाडेकोबारे अनमोलले अनलाइनखबरसँग खुलासा गरेका छन् । नायिका नै निश्चित नभइकन फिल्मको सुटिङ सुरु गर्न लागेकाले आफूले ‘अन्डरस्ट्यान्डिङ’मै फिल्म छाडेको अनमोलले बताए ।
‘अहिलेसम्म पनि मलाई थाहा छैन, फिल्मको को-एक्टर को हो भनेर । अपोजिटकै कलाकार टुंगो लागिसकेको छैन,’ अनमोलले भने, ‘को-एक्टर जोसँग मैले वर्कसप गरेको थिएँ, उहाँको भिसा पनि भएन । त्यसपछि एक्ट्रेस नै फाइनल छैन । जो नयाँ कलाकार भए पनि वर्कसप नगरिकन, राम्रो प्लान नगरिकन सुटिङमा जान मिलेन ।’
निर्माताले हतारमा फिल्म सुटिङ गर्न चाहेकोतर्फ संकेत गर्दै अनमोलले भने, ‘उहाँहरुले त्यो टाइममा सुट गर्नुपर्ने नै रहेछ । म आफ्नो क्यारेक्टरलाई लिएर तयार पनि भएको थिइनँ । उहाँहरुले त्यही डेटमा सुटिङ गर्ने भइसकेपछि मैले तपाईंहरु अघि बढ्नुस् भनेर मैले भनें । पोजेटिभ नोटमै उहाँहरुले मेरो कुरालाई रेस्पेक्ट गरेर उहाँहरुले अर्कै एक्टर लिएर फ्लोरमा जाने भन्नुभयो । मैले हतारमा सुटिङमा जान सक्दिनँ बरु तपाईंहरु जानु भए हुन्छ भनेर भनें । अनि आपसी सहमतिमै छाडेको हो ।’
तत्कालका लागि आफूले गर्ने कुनै फिल्मबारे निश्चित नभइसकेको उनले बताए । ‘बाहिरबाट पनि केही प्रोजेक्टको अफर आइरहेको छ । होम प्रोडक्सन फिल्म पनि पाइपलाइनमै छन् । अहिले तत्काल फ्लोरमा जाने निश्चित छैन,’ अनमोल भन्छन्, ‘सायद अहिलेलाई म सेल्फ ग्रुमिङमा व्यस्त हुन्छु ।’
प्रतिक्रिया 4