News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्म 'बाटुलो जून' आगामी वर्ष २०८३ को दशैंको फूलपाती छेकोमा (असोज ३०) रिलिज हुने घोषणा गरिएको छ।
- फिल्ममा अनमोल केसी, प्रिन्सी खतिवडा, न्यान्सी खड्का लगायत कलाकारको अभिनय रहेको छ।
- फिल्मलाई भुवन केसीले निर्देशन गरेका हुन् र छायांकन काठमाडौं, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरामा गरिएको छ।
काठमाडौं । सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण भएको नेपाली फिल्म ‘बाटुलो जून’को प्रदर्शन मिति घोषणा गरिएको छ ।
अभिनेता अनमोल केसीको जन्मदिनको अवसरमा सोमबार उनको आगामी फिल्मको प्रदर्शन मिति तय गरिएको हो । निर्माताले पोस्टर सार्वजनिक गर्दै यो फिल्म आगामी वर्ष २०८३ को दशैंको फूलपाती छेकोमा (असोज ३०, अक्टोबर १६) मा रिलिज हुने सार्वजनिक जानकारी गराएको हो ।
पोस्टरमा अनमोल र प्रिन्सी खतिवडा फिचर्ड छन् । पोस्टर सार्वजनिक गर्दै अनमोलले जन्मदिनमा माया गर्नेहरूको लागि उपहार भन्दै ‘दशैंमा भेटौंला’ सन्देश छोडेका छन् ।
ग्रामिण परिवेशको प्रेमकथा समावेश फिल्मलाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । ‘फिल्म हेरिरहँदा दर्शकले आफूलाई ३० वर्ष पहिलेको नेपाली समाजमा पाउनुहुनेछ, साथमा वर्तमानको आभाष उत्तिकै हुनेछ’, निर्माता केसीले भनिन् ।
फिल्मलाई भुवन केसीले निर्देशन गरेका हुन् । भुवन आफैपनि शीर्ष भूमिकामा देखिनेछन् ।
फिल्ममा पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का, प्रकाश घिमिरे, रियर राई, दीपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय समावेश छ ।
फिल्मलाई काठमाडौ, म्याग्दी, नुवाकोट, चित्लाङ र पोखरा लगायतका स्थानमा छायांकन गरिएको छ । तेजविक्रम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ ।
प्रदीप श्रेष्ठ सहायक निर्देशक रहेको फिल्ममा छायांकन राजेश श्रेष्ठको छ । १० प्रतिशत छायांकन बाँकी रहेको र नयाँवर्ष २०८३ को छेकोमा पोखरामा छायांकन गरिने जनाइएको छ ।
प्रतिक्रिया 4