+
+

जेलभित्र पल शाहको दिनचर्या : मनिषाको पुस्तक पढ्दैछन्, डान्स कम्पोज पनि गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १६:४५
प्रतीकात्मक तस्वीर

काठमाडौं । एक नाबालिकामाथि जबर्जस्ती करणीको मुद्दामा अभिनेता पल शाह दुई महिनादेखि तनहुँ जिल्ला कारागारमा छन् ।

फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरी हिरासतमा रहेका उनी अदालतले पुपक्षका लागि थुनामा राख्ने आदेश दिएपछि कारागार चलान भएका थिए । उनीविरुद्धको मुद्दा अहिले अदालतमा विचाराधीन छ ।

दमौलीस्थित कारागारमा रहेका पललाई भेट्न अहिले दिनहुँ आफन्त र फिल्मकर्मीको घुइँचो लाग्ने गरेको छ । पललाई भेट्न आइतबार दिउँसो काठमाडौंबाट केही फिल्मकर्मी र उनको मुद्दामा बयान दिएका गायक दुर्गेश थापा पनि तनहुँ कारागार पुगेका थिए । पललाई भेटेपछि सञ्चारकर्मी प्रकाश सुवेदीले अनलाइनखबरलाई उनको दिनचर्याबारे यसरी बताए :

बिहान ५ बजे उठ्नुपर्ने नियम छ कारागारभित्र । सखारै उठेर हल्का कसरत हुने रहेछ । त्यसपछि ध्यान योगा गर्नुपर्ने हुँदोरहेछ ।

घण्टी लगाएको टाइमभित्रै खानुपर्ने हुँदोरहेछ । बिहान १० देखि ११ बजे बीचमा खाइसक्नुपर्ने छ । खानामा हप्तामा दुई दिन मासु दिइँदो रहेछ । भित्र रेस्टुरेन्ट पनि रहेछ । पैसा हुनेले रेस्टुरेन्टमा अर्डर दिएर खाना लिन सक्ने रहेछन् । आफ्नो खर्चमा जे मगाएर पनि खान पाइने सुविधा रहेछ ।

पललाई खानाको समस्या देखिएन । उनलाई बेलाबखत बहिनीले पनि लगिदिने गरेकी छन् । कहिलेकाहीं त्यहींभित्रको रेस्टुरेन्टमा पनि खाने गर्दा रहेछन् ।

खाना र बस्नमा कुनै गुनासो छैन भन्ने पलको कुरा छ । कारागारभित्रै साथीहरु पनि धेरै भएका छन् रे । हिरो भनेर सबैले माया पनि गर्छन् रे । दिनभरिमा भेट्न धेरै माया जाने रहेछन् । भेट्न जाने स्थानीय र फिल्मकर्मीको संख्या धेरै देखियो ।

पलले अहिले कपाल काटेका छन् । लामो कपाल पालेर भित्र बस्न नपाइने रहेछ । जेल प्रशासनले नै कपाल काट्न लगाएको छ । कपाल काटेर पल केही दुब्लो देखिए पनि तौल ठीक छ । शारीरिक अवस्था ठीक देखिएको छ ।

एक नृत्य निर्देशक पनि कारागारभित्र सँगै भएकाले उनीहरु साथी भएका छन् । उनीहरु मिलेका पनि छन् । ती नृत्य निर्देशकले गीतमा डान्स कम्पोज पनि गराइरहेका रहेछन् । बाहिर आएपछि त्यो गीतलाई सुटिङ गर्ने उनीहरुको योजना रहेछ ।

भित्रै टेबलटेनिस खेल्न पाइने रहेछ । वातावरण पनि राम्रो रहेछ । भेट्न जाने व्यक्तिहरुलाई पनि निर्वाध भेट्न दिइँदो रहेछ ।

मनिषा कोइरालाले लेखेको पछिल्लो पुस्तक ‘हिल्ड : हाउ क्यान्सर गिभ मी अ न्यु लाइफ’ पढ्दैछन् अहिले कारागारभित्रै पल । बिग्रिएको दिनचर्यालाई कसरी नियमित गर्ने भन्ने कुरा उनले गरे । जेलभन्दा पनि आफूलाई होस्टल बसेजस्तो महसुस भएको उनले बताए ।

बाहिर हुँदा बिहानदेखि रातिसम्म काम–काम भएको र त्यो कामलाई अहिले मिस गरिरहेको उनले बताए । भित्र टेलिभिजन हेर्न पाइने रहेछ । हाम्रा टीभी कार्यक्रम र समाचार हेर्दा रहेछन् । नाम टिपाएर र लाइनमा बसेर बिहान फोन गर्ने सुविधा दिइँदोरहेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?