+
+

‘प्रदेशमा मिडिया’ सार्वजनिक, देशभर कति पुगे सञ्चारमाध्यम ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १८:४८

काठमाडौं । सञ्चारमाध्यमको अवस्थालाई केलाइएको पुस्तक ‘प्रदेशमा मिडिया’ सार्वजनिक भएको छ । सेन्टर फर मिडिया रिसर्च नेपालले प्रकाशित गरेको पुस्तकमा संघ र प्रदेशहरुमा रहेका सञ्चारमाध्यमहरुको अवस्थालाई विश्लेषण गरिएको छ ।

पुस्तकका अनुसार नेपालमा ८ हजार ९५३ मिडिया छन् । जसमा ४ हजार ७८९ पत्रिका, ८८० एफएम रेडियो, १६४ टेलिभिजन र ३ हजार १२० अनलाइन समाचार माध्यम छन् ।  नेपाल पत्रकार महासंघको सदस्यता लिएका पत्रकारहरुको संख्या १३ हजार ७७ छ ।

सूचना तथा प्रसारण विभागमा २०७८ फागुन पहिलो सातासम्म इजाजत लिएका रेडियो र टेलिभिजन एवं प्रेस काउन्सिल नेपालमा अभिलेख भएका पत्रपत्रिका र अनलाइन समाचार माध्यमलाई आधार बनाइ पुस्तकमा प्रदेश र जिल्ला तहमा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको तथ्यांक विष्लेषण गरिएको छ ।

प्रदेशमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मिडिया र पत्रकार छन् । बागमती प्रदेशमा ५ हजार ५१ मिडिया छन् भने पत्रकारको संख्या ५ हजार ७७६ छ ।

काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक पी. खरेलले सञ्चारमाध्यमको एकीकृत तथ्यांकले संघ, प्रदेश र जिल्ला तहमा मिडियाको अवस्था बुझ्न सहयोग पुग्ने भन्दै पुस्तकले मिडियाको वहुपक्षीय अध्ययनका लागि पनि सहयोग पुग्ने बताए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सही तथ्यांक विना समस्या पहिचान गर्न कठिन हुने भन्दै प्रदेश र स्थानीय तहमा मिडियाको नीति बनाउन सहयोग पुर्‍याउने बताए ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले मिडियाको तथ्यांकमा एकरुपता नहुँदा बेलाबेलामा समस्या परेको उल्लेख गर्दै तथ्यांकमा एकरुपताका लागि डिजिटाइज सिस्टममा जानेबारे छलफल सुरु गरेको जानकारी दिए ।

बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती सापकोटाले पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको तथ्यांकलाई व्यवस्थित गर्न संघ र प्रदेशबीच समन्वय हुन जरुरी भएको बताए । उनले बागमती प्रदेशले मिडियाको विवरण राख्न अनलाइन प्रणालीको गृहकार्य गरिरहेको बताए ।

सेन्टर फर मिडिया रिसर्च नेपालका अध्यक्ष तृष्णा आचार्यले मिडियाको एकीकृत तथ्यांक र वर्तमान अवस्थाबारे जानकारी दिने उद्देश्यले पुस्तक प्रकाशन गरिएको जानकारी दिए । पुस्तकले मिडियाको व्यावहारिक तथा नीतिगत पक्षमा थप छलफल र अनुसन्धान गर्न सहयोग उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?