+
+

वडाध्यक्षमा प्रौढ उम्मेदवार धेरै, महिला नगन्य

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते २०:२६

२० वैशाख, काठमाडौं । जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने पद वडाध्यक्षमा राजनीतिक दलहरुले प्रौढ उम्मेदवारलाई प्राथमिकतामा राखेको देखिएको छ ।

निर्वाचन आयोगका अनुसार ६ हजार ७४३ वडाध्यक्षका लागि ३२ हजार ४८२ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ४३ जनाको एकल उम्मेदवारी परेपछि निर्वाचित हुने पक्का भएको छ ।  बाँकी ६ हजार ७०० वडाध्यक्षका लागि ३२ हजार ४३९ जना प्रतिस्पर्धामा छन् ।

प्रारम्भिक विवरण अनुसार, वडाध्यक्षका लागि प्रौढ उम्मेदवारको संख्या अत्यधिक छ । ४१ देखि ६० वर्षसम्मका उम्मेदवार १७ हजार ५३६ छन् । त्यसपछि युवा छन् । २१ देखि ४० वर्षका उम्मेदवार ११ हजार ७४७ छन् ।

उमेरको फरक संख्या
२१–४० ११,७४७
४१–६० १७,५३६
६१–८५ ३,१९९

संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा नभएका कतिपय कामहरु राज्यको प्रतिनिधित्व गर्ने सबभन्दा सानो इकाइ वडा कार्यालय हो, जसको नेतृत्व वडाध्यक्षले गर्छन् । स्थानीय तह पुनर्संरचना गरेपछि त्यतिबेलाका गाविसहरु र नगरपालिकाका वडाहरु अहिलेको वडा कार्यालयमा परिवर्तन भएका छन् ।

यस्तो महत्वपूर्ण पदमा राजनीतिक दलहरुले महिलालाई भने नगन्य मात्र उम्मेदवार बनाएका छन् । ३२ हजार ४८२ उम्मेदवारमध्ये ९४५ मात्र महिला छन् ।

दलहरुले वडाध्यक्ष पदमा सबैभन्दा कम अनुपातमा महिला उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

प्रमुख र उपप्रमुखमध्ये कुनै एक पदमा महिला हुनुपर्ने बाध्यकारी छ । तर वडाध्यक्षमा त्यस्तो बाध्यकारी नभएका कारण दलहरुले पुरुष उम्मेदवारलाई प्राथमिकता दिएका छन् ।

राजनीतिक दलको नाम कुल उम्मेदवारी महिला उम्मेदवारी प्रतिशत
एमाले ६४५८ ११७ १ दशमलब ७८
नेपाली कांग्रेस ६०५१ ७९ १ दशमलब ३
माओवादी केन्द्र ४०९४ ८२ २ प्रतिशत
राप्रपा ३०६३ ११५ ३ दशमलब ७५
एकिकृत समाजवादी २०४३ ५९ २ दशमलब ८८
जनता समाजवादी पार्टी १९६४ ५४ २ दशमलब ७४
लोकतान्त्रिक समाजवादी पार्टी १९६४ ३७ ३ दशमलव ६

कहाँ बढी छ उम्मेदवारी ?

वडाध्यक्ष पदमा सबभन्दा बढी उम्मेदवारी जनकपुरधाम उपमहानगरपालिकामा परेको छ । २५ वडा रहेको त्यहाँ ३०४ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । त्यसपछि काठमाडौं महानगरपालिकामा ३२ वडाध्यक्षका लागि २१० जनाको उम्मेदवारी छ । वीरगञ्ज महानगरपालिकामा ३२ वडाध्यक्षका लागि २०४ जनाको उम्मेदवारी छ ।

तर महिलाको सहभागिता पनि कम छ । निर्वाचन आयोगका अनुसार ४२४ वटा स्थानीय तहमा मात्रै वडाध्यक्षमा महिला उम्मेदवारी परेको छ । काठमाडौं महानगरमा २३ र धरान उपमहानगर १६ महिलाले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । जनकपुरधाम उपमहानगरमा १६ र पोखरा महानगरमा ११ जना महिलाले वडाध्यक्षमा उम्मेदवारी दिएको पाइएको छ ।

वडाध्यक्ष पदमा ४ हजार २८४ स्वतन्त्र उम्मेदवार छन् । सबभन्दा बढी जनकपुर उपमहानगरमा ११४ उम्मेदवारी परेको छ । त्यसपछि गढीमाईमा ४७ र काठमाडौं महानगरका विभिन्न वडामा ४२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । करिव डेढ सय स्थानीय तहमा भने वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार छैनन् ।

४३ वटा वडामा भने वडाध्यक्ष निर्विरोध भएका छन् । कतिपयमा तालमेलका आधारमा त कतिपय वडामा गाँउस्तरीय सहमतिमा समेत वडाध्यक्षहरु चुनिएका छन् । ठूला स्थानीय तहमा वडाध्यक्षको प्रतिस्पर्धा पनि तीव्र देखिन्छ ।

केके हुन्छ वडाध्यक्षको जिम्मेवारी ?

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा वडाध्यक्षहरुलाई ७ प्रकारको जिम्मेवारी तोकिएको छ ।

वडा समितिको अध्यक्ष भई काम गर्नेदेखि वडाको विकास निर्माण, सिफारिस तथा प्रमाणिकरण अनि अरु अतिरिक्त कामहरु वडाध्यक्षको हो । उनीहरुले वडा सदस्यहरुको समन्वयमा टोल र समुदायको विकास निर्माणको कामका साथै वडाको शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रगत विकासका काम समेत गरिरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?