+
+

धनगढीका स्वतन्त्र उम्मेदवार हमाल भन्छन् : राजनीतिलाई कल्याणकारी बनाउँछु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २० गते २१:१६

२० वैशाख, धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरका लागि ९ जना उम्मेदवार चुनावी मैदानमा छ । तर दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार गोपाल (गोपी) हमालले कडा चुनौती दिएका छन् ।

२०७४ को निर्वाचनमा पनि वडलाई कडा टक्कर हिएका हमाल करिव ४ हजार मतले पराजित भएका थिए । यो पटक माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलको वडलाई साथ छ । तैपनि हमालको दबाव कम छैन ।

भन्छन्, ‘मैले इमानदारीतापूर्वक काम गरेको हुनाले धनगढीवासीले मलाई विजयी गराउछन् । मेरो जित पक्का छ ।’ प्रस्तुत छ, स्वतन्त्र उम्मेदवार हमालसँग अनलाइनखबरकर्मी जनक विष्टले गरेको कुराकानीको सम्पादित अंश :

२०७४ सालमा कांग्रेसका नृपबहादुर वडसँग पराजित हुुनुुभयो । अहिले त उहाँलाई गठबन्धनको साथ छ । र पनि तपाईं फेरि मेयरको दौडमा हुनुहन्छ ?

जित्ने आधार जनता हुन् । अहिलेसम्म मैले जुन–जुन संस्थामा बसेर काम गरेका संस्थाहरुमा सफलता र इमानदारीपूर्वक काम गरेको हुनाले धनगढीबासीले मलाई विजयी गराउछन् । किनभने गोपी हमालले काम पक्का गर्छ, बोलेको कुरा पूरा गर्छ, भ्रष्टाचार गर्दैन भन्ने सबैलाई थाहा छ । त्यसकारणले मलाई जनताले विश्वास गर्छन् ।

पुन: स्वतन्त्र रुपमा उम्मेदवारी दिएको पदमा तपाईं किन योग्य हुनुहुन्छ ?

मैले राजनीतिलाई पेशा होइन सेवा बनाउँछु । भ्रष्टाचारी राजनीतिलाई कल्याणकारी राजनीति बनाउछुु भनेर प्रण गरेको छु । अहिले देशको सबभन्दा ठूूलो समस्या भनेको भ्रष्टाचार हो । यो प्रवृत्ति जबसम्म रहन्छ तबसम्म कल्याणकारी राज्यको स्थापना हुँदैन् । त्यस कारण धनगढी उपमहानगरपालिकालाई कल्याणकारी बनाउने भएकाले मेयर पदमा म योग्य छु भन्ने लाग्छ ।

तपाईं व्यापारिक पृष्ठभूमिको मान्छे, व्यापारीहरुले नाफा खोज्छन् । तर तपाईंले भ्रष्टाचार गर्दिन भन्नु बनावटी कुरा हो भन्छन् नि ?

यो उहाँहरुले मलाई व्यक्तिगत रुपमा गरेको गाली हो । मैले त अहिलेसम्म कसैलाई गाली गरेको छैन । त्यसबाटै बुझ्नुस्, मेरो जित पक्का छ । नभए एकातिर ठूला राजनीतिक दल भन्नुहुन्छ, अर्कोतिर तपाई एक्लै हुनुहुन्छ, एउटा व्यापारी हो, राजनीतिक पृष्ठभूमि छैन भनेपछि भाषणमा मेरो नाम किन आउछ त ? स्वतन्त्र म मात्र लडेको छैन । अरु पनि छन् उम्मेदवार, तर मलाई मात्र टार्गेट बनाइएको छ किनकी गोपी बलियो छ ।

दलीय व्यवस्थामा एउटा व्यक्तिले काम गर्न सक्दैन । जिताए पनि असफल हुन्छन् भन्ने पनि सुनिएको छ नि ?

चुनाव जितेपछि काम कसरी गर्छु भनेर म देखाइहाल्छु । बाँकी कुरा सबै चुनावका बेला गरिने प्रोपोगाण्डा मात्र हो । यदि उहाँहरुले दलीय व्यवस्था विरोधीको आरोप लगाउनुुहुन्छ भने संविधानमा स्वतन्त्र उठ्ने व्यवस्था किन राखियो ? राख्नु हुुँदैन्थ्यो नि ! राखेपछि नागरिकको हैसियतमा मैले उपभोग गर्दा दलहरुले टाउको दुखाउनुुपर्छ जस्तो लाग्दैन । यस्ता बेकारका कुराका पछाडि नलाग्नु राम्रो हुन्छ ।

तपाईंका प्रमुख तीन प्राथमिकता केके हुन् ?

भ्रष्टाचार अन्त गर्ने र सुशासन कायम गरेर प्रणालीको विकास गर्ने मेरो पहिलो प्राथमिकता हो । डुबानको समस्या सामाधान गर्ने र धनगढीलाई व्यवस्थित शहरको रुपमा विकास गर्ने पनि प्राथमिकता छ ।

अहिले धनगढीमा सार्वजनिक शौचालय छैन, पार्किङ क्षेत्रको अभाव छ, पर्यावरण हराभरा छैन, फोहरमैला व्यवस्थापन राम्रोसँग भएको छैन । सडकहरु व्यवस्थित छैन । हामी सबै क्षेत्रमा काम गर्न चाहन्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?