+
+

बूढानीलकण्ठमा ५५ मतदान केन्द्र, ४८ हजार ३०३ मतदाता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते १९:४१

२३ वैशाख, काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा ५५ मतदान केन्द्र राखिने भएको छ ।

काठमाडौँ उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १९ मतदानस्थलमा ५५ मतदान केन्द्र राखिने नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराइले राससलाई जानकारी दिए ।

नगरपालिकामा ६७ पदका लागि २८५ जनाले उम्मेदवारी दिनुभएको छ । जसमध्ये नगरप्रमुखमा १५ र उपप्रमुखमा ६ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत भट्टराइले बताए ।

उनले निर्वाचनमा खटाउने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई तालिमसमेत प्रदान गरिसकेको बताए । यस्तै, निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको उनको भनाइ छ ।

काठमाडौँ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महाङ्काल, बूढानीलकण्ठ र कपन गाउँ विकास समिति मिलाएर बनाइएको यो नगरपालिकामा १३ वडा रहेका छन् ।

काठमाडौँको दोस्रो ठूलो नगरपालिका बूढानिलकण्ठमा स्थानीय तह निर्वाचनका लागि कूल ४८ हजार ३०३ मतदाता रहेको निर्वाचन कार्यालय बूढानीलकण्ठले जनाएको छ ।

स्थानीय तहको निर्वाचनका लागि सो नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट प्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा (एमाले) बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा तथा नेकपा (माओवादी केन्द्र) बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी तथा उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिए ।

विस २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उद्धव खरेल र उपप्रमुखमा पनि एमालेकै रमादेवी राइ विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?