+
+

रेसुंगा नगरमा पाण्डेय र पन्थीबीच कडा टक्कर

अनिल खत्री अनिल खत्री
२०७९ वैशाख २५ गते ८:५१

२४ वैशाख, गुल्मी । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको रेसुंगा नगरपालिकामा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेय र नेपाली कांग्रेसका उम्मेदवार खिलध्वज पन्थीबीच कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

०७४ सालमा झिनो मत अन्तरले नेकपा एमाले विजयी भएको रेसुंगामा यसपटक नेपाली कांग्रेसलाई जित्नै पर्ने र एमालेलाई पुरानै साख जोगाउनुपर्ने चुनौती छ । त्यसैले नेकपा एमाले र नेपाली कांग्रेस यतिबेला आ-आफ्ना एजेन्डा लिएर मतदाताको घरदैलोमा पुगेका छन् ।

राजेन्द्रप्रसाद पाण्डेय : सरकारी जागिर छोडेर राजनीतिमा

नेकपा एमालेको तर्फबाट रेसुंगा नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बनेका ५६ वर्षीय पाण्डेय इन्जिनियर हुन् । रेसुंगा नगरपालिका वडानम्बर-१ का स्थायी बासिन्दा रहेका पाण्डेय कर्मचारीको रुपमा ३२ वर्षको अनुभव संगालेका छन् ।

तत्कालीन खानेपानी तथा ढल निकास कार्यालयबाट जागिर सुरु गरेका पाण्डेयले २०४६ मा स्थायी जागिरमा नाम निकालेका थिए । २०४८ मा भएको कर्मचारी आन्दोलनमा बाँके जिल्लामा कार्यरत हुँदा २८ दिन हिरासतमा समेत बसेको उनी आन्दोलनको सिलसिलामा पुनः दुई दिन हिरासतमा बसेका थिए । त्यतिबेला जागिरबाट ६ महिना निलम्बनमा समेत परेको उनले बताए ।

२०५० सालमा गुल्मीमा कर्मचारीको रुपमा काम गर्न आएका उनी नेपाल निजामती कर्मचारी संगठन गुल्मीको चार वर्षसम्म अध्यक्ष बने । त्यसपछि उनी कर्मचारी संगठनको केन्द्रीय प्रतिनिधिको रुपमा रहे । २०६२ देखि तत्कालीन आवास तथा भौतिक मन्त्रालयमा इन्जिनियरको रुपमा जागिर सुरु गरे । कर्मचारीको रुपमा सेवा गर्दै २०७८ माघ १८ गते राजीनामा दिएपछि खुल्ला राजनीतिमा आफू क्रियाशील रहेको नगर प्रमुखका उमेदवार पाण्डेय बताउँछन् ।

‘समृद्ध रेसुंगाको आधार ! शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगार’ भन्ने मूल नाराकासाथ पाण्डेय चुनावी मैदानमा छन् । उनले मेरो रेसुंगा, मेरो एप्स, डिजिटल रेसुंगा, सीप र मूल्यसहितको गुणस्तरीय शिक्षण, सबैका लागि पहुँच र गुणस्तरीय स्वास्थ्य सेवा, फोहोरबाट मोहोर जस्ता मुख्य एजेण्डाहरु अघि सारेका छन् ।

उनले निःशुल्क र गुणस्तरीय खानेपानी, सफा, सुन्दर र व्यवस्थित सडक यातायात, तथा पर्यटकीय रेसुंगाका लागि पूर्वाधार विकास, समृद्धिका लागि उद्यमशीलता र रोजगार, विपन्नलाई इन्डक्सन चुल्हो, ज्येष्ठ नागरिकलाई दिवा केन्द्र जस्ता चुनावी प्रतिबद्धता जनाएका छन् ।

आफू नगर प्रमुखमा विजयी भएमा तराईबाट दुईदेखि साढे दुई घण्टामा गुल्मी सदरमुकाम तम्घासमा आउन सक्ने गरी सडक विस्तार गर्न केन्द्रित हुने उनले बताएका छन् । ‘सदरमुकाम तम्घासलाई पुराउनो लयमा फर्काउन सुविधा सम्पन्न होटल र सडक विस्तार आवश्यक छ,’ उनले भने, ‘स्थानीय चुनावमा दलभन्दा व्यक्तिलाई छान्ने भएका कारण कांग्रेस कार्यकर्ताले पनि मलाई मत दिनेमा म ढुक्क छु ।’

नेपाली कांग्रेसको तर्फबाट नगर प्रमुखको उम्मेदवार खिलध्वज पन्थी

रेसुंगा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट जिल्ला सभापति खिलध्वज पन्थी नगर प्रमुख पदको उम्मेदवार छन् । ४६ वर्षीय पन्थी रेसुंगा नगरपालिका वडानम्बर-५, भुवनपानीका बासिन्दा हुन् । उनले २०४६ सालदेखि निरन्तर नेपाली कांग्रेसको राजनीति गर्दै आएका छन् ।

झण्डै ९ वर्षसम्म नेपाल तरूण दलको जिल्ला अध्यक्ष भएका पन्थी यसअघिको जिल्ला अधिवेशनमा अत्यधिक मतले नेपाली कांग्रेस गुल्मी सभापतिमा विजयी भएका थिए । विशेष गरी युवा पुस्तामाझ लोकप्रिय उनले पार्टीको संगठनलाई पनि चुस्तदुरुस्त पारेको दाबी गर्दै आएका छन् ।

नेपाली कांग्रेस पार्टी विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताउँदै आएका उनले आफू नगरप्रमुखमा विजयी भएमा जनताको जनजीविकासँग प्रत्यक्ष जोडिएर काम गर्ने बताएका छन् ।

विकास र रोजगारीको अवसर सिर्जना गरी सुविधा र अवसरको खोजी गर्दै शहरतिर बसाइँ सर्ने क्रमलाई रोक्ने उनको मुख्य एजेण्डा छ । ढिलासुस्ती र भ्रष्टाचारको अन्त गर्दै सुन्दर, शान्त, समृद्ध र समुन्नत रेसुङ्गा नगरपालिका बनाउने संकल्प उनको छ ।

‘सात रंगहरूको संयोजनबाट सिर्जित इन्द्रेणीले प्रेम, समृद्धि, प्रेरणा, ऊर्जा, तत्परता, सदभाव र समुन्नति जस्ता विषयको दिशावोध गरेझैं मैले मेरो संकल्प पत्रमा शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, शहरी विकास, खानेपानी, सरसफाई तथा विपद् व्यवस्थापन, सडक तथा भौतिक पूर्वाधार क्षेत्रमा गर्ने कामहरु उल्लेख गरेको छु । ती संकल्पहरू नगरवासीहरूको सदभाव, माया र रोजाइले अक्षरसः पूर्ण कार्यान्वयन हुने कुरामा विश्वस्त छु,’ पन्थीले भने ।

०७४ सालको स्थानीय तह निर्वाचनमा नगरप्रमुख र उपप्रमुख सहित केही वडामा नेकपा एमाले विजयी भएको थियो । जिल्ला सदरमुकाम तम्घासमा रहेको नगरपालिका भएकाले पनि यस निर्वाचनलाई रेसुंगा नगरवासीले चासोका रुपले हेरेका छन् ।

समाजवादीको समर्थन कांग्रेसलाई, माओवादीले उम्मेदवारी दिएन

रेसुङ्गा नगरपालिकामा एमाले र नेपाली कांग्रेसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अनिलकुमार कक्षपती र मंगोल नेशनल अर्गनाइजेसनबाट जानकी पुन उम्मेदवार छन् भने रेवतीप्रसाद पन्थी, महेश काउछा र बसन्त बस्नेत स्वतन्त्र उम्मेदवार बनेका छन् । उपमेयरमा राप्रपा र स्वत्नत्रको उम्मेदवारी पनि छ ।

तर, माओवादी केन्द्र र एकीकृत  समाजवादीले भने यहाँ मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दिएका छैनन् । एकीकृत समाजवादीले नेपाली कांग्रेसलाई सघाउने गरी उम्मेदवारी नदिएको हो भने माओवादीले पार्टीमा आस्था राख्ने मतदातादाई मतदान गर्न स्वतन्त्र हुने भनेको छ ।

माओवादीले उपप्रमुखमा उम्मेदवारी दिएको थियो तर फिर्ता लियो । उम्मेदवारी फिर्ता लिए पनि कसैलाई समर्थन नगरेको माओवादी केन्द्र गुल्मी निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का इन्चार्ज अशोक थापाले बताए ।

नगरमा उम्मेदवारी नदिएकाले माओवादीप्रति आस्था राख्ने मतदाताले आफ्नो इच्छा अनुसार उम्मेदवार रोज्न पाउने माओवादी थापाको भनाइ छ ।

माओवादीले रेसुङ्गाको वडानम्बर ६, १२ र १४ मा भने वडा अध्यक्षसहित उम्मेदवारहरू उठाएको छ ।

एकीकृत समाजवादी गुल्मी जिल्लाका नेता नरेश भण्डारीका अनुसार नगरमा कार्यपालिकामा सहभागी हुने गरी कांग्रेससँग सहमति भएको छ । तर नगरमा एकीकृत सामाजवादीले उम्मेदवार उठाएको वडानम्बर ९ र ११ मा नेपाली कांग्रेसले पनि उम्मेदवार उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?