+
+

तुलसीपुरमा गठबन्धनलाई अन्तरघातको डर, एमालेलाई साख जोगाउने चुनौती

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ वैशाख २५ गते २२:००
मेयरका उम्मेदवार गेहेन्द्र गिरी र टिकाराम खड्का ।

२५ वैशाख, दाङ । दाङको दोस्रो ठूलो उपमहानगर तुलसीपुरमा चुनावी सरगर्मीसँगै जीत कसको पोल्टामा पर्ला भन्ने चासो बढेको छ । तुलसीपुर कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक गिरीको निर्वाचन क्षेत्र र एमालेका महासचिव शंकर पोख्रेलको घरबास भएको क्षेत्र भएकाले पनि तुलसीपुर उपमहानगरको निर्वाचनलाई दुवैको प्रतिष्ठा र राजनीतिक भविष्यसँग जोडेर हेरिएको छ ।

तुलसीपुर उपमहानगरमा १ लाख ७ हजार ६७७ मतदाता छन् । तुलसीपुरमा पाँच दलीय गठबन्धन एकातिर छन् भने अर्काेतिर एमाले एक्लै चुनावी मैदानमा होमिएको छ । सत्ता गठबन्धन रहेको तुलसीपुरमा कांग्रेसबाट मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीबाट जोगबहादुर राना उम्मेदवार छन् । गिरी पूर्वसांसद र पार्टीका केन्द्रीय सदस्य हुन् । उनी अघिल्लो चुनावमा मेयरमा उठेर एमालेका घनश्याम पाण्डेसँग पराजित भएका थिए । उनी पुनः मेयरमा प्रतिस्पर्धा गर्दै छन् ।

एमालेबाट मेयरमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी उम्मेदवार छन् । खड्का पार्टीभित्र इमान्दार र सादगी नेताका रुपमा चिनिन्छन् । नेकपा एमालेे विभाजन हुँदा लामो समय माधव नेपाल पक्षमा रहेका उनी अन्ततः एमालेमा फर्किएका थिए । त्यसपछि एमालेको जिल्ला अधिवेशनपछि उनले राजनीतिबाट सन्यास लिएको घोषणा समेत गरेका थिए । तर पार्टीले नै टिकट दिएर मेयर उम्मेदवार बनाउने भएपछि उनी एमालेमै फर्किएका हुन् ।

तुलसीपुरमा गिरी र खड्काको लडाइँ पेचिलो हुने देखिन्छ । एमाले आफ्नो विरासत जोगाउने दाउँमा छ भने कांग्रेस पनि एमालेको गढलाई भत्काएर आफ्नो वर्चश्व कायम गर्न चाहन्छ । सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका गिरीलाई गठबन्धनका दलहरुको समेत मतको हिसाबले सजिलै चुनाव जित्न सकिन्छ भन्ने विश्वास छ । तर विगतको स्थानीय चुनावमा जस्तै गठबन्धनलाई अन्तरघातको त्रास छ, जसले चुनावमा फरक परिणाम आउन सक्ने आंकलन पनि कतिपय नेताहरुले गरेका छन् ।

०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसभित्र भएको अन्तरघातको कारण हार व्यहोर्नुपरेको कांग्रेसका नेताहरुको बुझाई छ । ‘अघिल्लो निर्वाचनमा कांग्रेस एकजुट भएको भए जित निश्चित थियो’ कांग्रेसका एक नेताले भने, ‘हाम्रो संगठन बलियो हुँदाहुँदै पनि हार व्यहोर्नुपर्‍यो ।’

त्यतिबेला एमालेका मेयर उम्मेदवार घनश्याम पाण्डे २२ हजार ८५७ मतसहित विजयी हुँदा कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९०३ मत पाएका थिए । प्रतिस्पर्धामा तेस्रो बनेका नेकपा माओवादी केन्द्रका उम्मेदवार शेषुराम भण्डारीले ८ हजार ६९३ मत पाएका थिए । एमालेले ९ वडा र कांग्रेसले १० वडा जित्दा माओवादीले एउटा पनि वडा जित्न सकेको थिएन ।

अघिल्लो निर्वाचनमा कांग्रेसको मत घनश्यामलाई गएपछि एमालेले जितेको कांग्रेस नेताहरुको विश्लेषण छ । अघिल्लो चुनावमाझैं यसपटक पनि घात हुनसक्छ की भन्ने नेताहरुमा चिन्ता छ । कांग्रेससँगै सत्ता गठबन्धनका दलहरु नै इमान्दार भएमात्र जीत निश्चित हने गठबन्धनका नेताहरुको ठहर छ । ‘सत्ता गठबन्धन इमान्दार भए अत्याधिक मतले विजय हुने सम्भावना छ,’ एक नेता भन्छन् ।

विगतमा झैं यसपटक पनि गठबन्धनभित्रको मत आफ्नो पक्षमा पारेर चुनाव जित्ने दाउमा एमाले देखिन्छ । उसो त एमालेका उम्मेदवार टीकाराम खड्का सर्वहारा नेताका रूपमा परिचित भएकाले बलियो उम्मेदवार मानिन्छन् । जीवनभर राजनीति गरेका खड्काले हालसम्म लाभको पद नपाएका कारण उनलाई सहानुभूतिको भोट आउनसक्ने एमालेको अनुमान छ । उम्मेदवार बलियो भएकाले सत्तागठबन्धनको मत समेत आफूहरुलाई एमाले नेता हुकुम बस्नेत बताउँछन् । ‘तुलसीपुरमा एमालेको आफैंमा बलियो संगठन बन्दै गइरहेको छ,’ उनले भने, ‘अहिलेका उम्मेदवार (टीकाराम खड्का) इमान्दार नेता हुनुहुन्छ, गठबन्धनको मत समेत उहाँलाई आउने देखिन्छ ।’ खड्कालाई जिताउन भन्दै एमालेका महासचिव शंकर पोख्रेल पनि गृह जिल्ला तुलसीपुर फर्केर आफ्नो क्षेत्रमा क्रियाशील छन् ।

एमालेले घोराहीजस्तै तुलसीपुरमा पनि थारु समुदायबाट जातीय भोट तान्ने रणनीति बनाएको छ । चौधरी समुदायको बाहुल्य रहेको तुलसीपुरमा एमालेले स्यानी चौधरीलाई उपमेयरको टिकट दिएको छ । स्यानी कुनै राजनीतिक पृष्ठभूमिबाट आएकी होइनन् । उनी तुलसीपुरमा अनाथ बालबालिकाका लागि ‘दिदी घर’ नामक सामाजिक संस्था चलाउँदै आएकी छिन् । चुनावमा जातीय भोट निर्णायक हुने भएकाले एमालेले स्यानीलाई अघि सारेको देखिन्छ ।

कांग्रेस एकढिक्का रहेको दाबी

विगतमा जस्तो अन्तरघातको डर यसपटक नरहेको कांग्रेस नेताहरु दाबी गर्दछन् । कांग्रेसबीचको द्वन्द्व पनि अन्त्य भइसकेको र गठबन्धनको साथ पनि रहेकाले जित्ने आधार बलियो भएको कांग्रेसका नेताले बताए ।

तुलसीपुरमा कांग्रेसभित्र गेहेन्द्र गिरी र दीपक गिरी पक्षबीच विवाद थियो । दुवैजना कांग्रेसका प्रभावशाली नेता हुन् । दीपक गिरी पूर्वमन्त्री हुन् । यसपटकको चुनावमा गेहेन्द्र गिरीको पक्षमा दीपक गिरी खुलेरै भोट माग्दै हिंडिरहेका छन् ।

त्यसकारण पनि कांग्रेसभित्र गुटको लडाइँ नहुने कांग्रेसका नेता विमल रिजाल बताउँछन् । ‘दीपक गिरीलाई संघमा चुनाव लड्नु छ, त्यसैले पनि अहिले गेहेन्द्रलाई जिताउन खुलेरै लाग्नुभएको छ,’ उनले भने, ‘गेहेन्द्रले मयेरमा हारेमा दीपक गिरीलाई संघीय चुनावमा समेत अफ्ठ्यारो पर्ने देखिन्छ । त्यसैले यो चुनावमा गुटको लडाइँ छैन ।’ यसपटकको चुनावमा कांग्रेस एकढिक्का भएको उनले बताए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?