+
+
उम्‍मेदवारको प्रोफाइल :

सागर थापा : स्ववियू चुनावमा ह्याट्रिक, परीक्षामा जनप्रतिनिधि बन्ने रहर

हरि अधिकारी हरि अधिकारी
२०७९ वैशाख २५ गते १३:०८

२५ वैशाख, विराटनगर । २०५५ सालमा विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्ववियूमा नेविसंघको ‘क्लिन स्वीप’ रोक्ने एक्लो उम्मेदवार थिए, सागर थापा ।

त्यसअघि स्ववियू सभापति निर्वाचित अनेरास्ववियुका ऋषिकेश पोखरेल दोस्रो कार्यकालका लागि उम्मेदवार बन्दा उनको टिमबाट सागर थापा बाहेक अरू सबै पराजित भएका थिए ।

नेविसंघका उपेन्द्र गच्छदार सभापतिमा निर्वाचित भएको त्यो चुनावमा सहसचिवमा जितेका थापाले स्ववियुमा अखिलको बीउ जोगाएका थिए । अखिलको प्रभाव रहेको महेन्द्र मोरङमा पोखरेलसहित टिम पराजित हुनुको मुख्य कारण माउ पार्टी नेकपा (एमाले) को विभाजन थियो ।

‘नेकपा (माले) तिर लागेका विद्यार्थीले आफ्नो उम्मेदवार भए पनि नेविसंघलाई भोट मागे’ त्यसबेलाका मतदाता पुष्पराज थपलिया सम्झन्छन्, ‘एमाले अखिलका सबै उम्मेदवार पराजित हुँदा सागरले जिते । त्यसको दुई वर्षपछि ०६० सालमा त उनी स्ववियू सभापति नै बने ।’

त्यसबेला थापाका सचिव विराटनगरका महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुली थिए ।थापाले विराटनगरको गोग्राह स्कुलमा अखिलको राजनीति सुरु गरेका थिए । २०४९ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनी महेन्द्र मोरङ बहुमुखी क्याम्पसको राजनीतिमा छाएका थिए ।

त्यहींबाट मानविकी संकायमा स्नातक गरेका उनी पार्टी राजनीतिमा जोडिएर २०६६ सालमा नेकपा (एमाले), मोरङ जिल्ला कमिटी सदस्य बने । तत्कालीन माओवादी र एमालेको एकतापछि बनेको नेकपाको महानगर कमिटी अध्यक्ष थिए । एकीकरण हुनुअघि पनि उनी एमालेको नगर अध्यक्ष नै थिए ।

२०६२/६३ को जनआन्दोलनका क्रममा २८ दिन जेल परेका थापा यस पटक एमालेबाट विराटनगरको मेयरमा उठेका छन् । १९ वर्षपछि फरक ढंगको चुनावी मैदानमा उत्रिएका उनलाई विजयी बन्न विद्यार्थी राजनीतिमा जस्तो सजिलो भने छैन ।

एमाले विभाजनपछिको यो पहिलो निर्वाचनमा उनीविरुद्ध पाँचदलीय गठबन्धन छ । तैपनि ४६ वर्षीय थापा भन्छन्, ‘धनमा गरिब भए पनि जनसम्पर्क र सम्बन्धका हिसाबले अरू उम्मेदवार भन्दा म धनी छु ।’

सत्तारुढ पाँचदलीय गठबन्धनका नागेश कोइरालासहित १३ जनासँग मेयरमा उनको प्रतिस्पर्धा हुँदैछ । विराटनगर–४ मा डेरा लिएर बसेका उनी १२ वर्षयता एमाले विराटनगरको विभिन्न तहमा काम गरिरहेका छन् ।

थापाले आफ्नो एजेण्डा पनि तयार पारेका छन् । उनी भन्छन्, ‘मैले चुनाव जिते पाँच वर्षपछि मतदाताहरूले आफूलाई व्यवस्थित, समुन्नत, सुकुम्बासी समस्या र डुबानमुक्त सहरका नागरिक भएको पाउनेछन् ।’

बागीको आश

२०७४ सालको स्थानीय तह निर्वाचनमा विराटनगरका १९ वडामा एमालेले प्राप्त गरेको मत १६ हजार १२८ हो ।

कांग्रेसले आफ्नो गढ मानेको विराटनगरमा उनलाई जित्न सहज छैन । सत्तारुढ गठबन्धन भित्रको खटपट र कांग्रेसको दुई खेमाको एकअर्का प्रतिकल भूमिका भने थापाको लागि अनुकल हुने सम्भावना छ ।

गठबन्धनबाट मेयर र उपमेयरमा बागी उम्मेदवार छन् । उनीहरूले गठबन्धनको भोट काट्ने अवस्था छ । थापा पाँच वर्षयता चुनाव लक्षित गतिविधिमा थिए । सबैसँग परिचित र सामान्यभन्दा सामान्य मतदाताको पनि सहज पहुँचमा हुनु उनको सवल पक्ष हो ।

‘म भुई मान्छे हुँ, भुई मान्छेहरूकै प्रतिनिधित्व गरेर उम्मेदवार बनेकोले चुनाव जित्छु’, उनी भन्छन् । विराटनगरका लागि उनी परिचित, युवा र नयाँ उम्मेदवार हुन् । कांग्रेसका उम्मेदवार नागेश कोइरालाको तुलनामा बढी जनसम्पर्क हुनु थापाको सवलता हो ।

‘तीन दशकयता विराटनगरको समाज र राजनीतिमा छु,’ उनी भन्छन्, ‘विराटनगरबासीको सहयोगी भएकाले चुनाव जित्छु ।’

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?