+
+

रुकुम पश्चिममा कार्यकर्ताबीच झडप भएपछि कांग्रेस र माओवादीको संयुक्त अपिल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते ९:१३

२६ वैशाख, काठमाडौं । दिनहुँजसो झडप भइरहेको रुकुम पश्चिममा एकअर्काप्रति उत्तेजजक अभिव्यक्ति नदिन र संयमित रुपमा प्रस्तत हुन नेताहरूले आग्रह गरेका छन्। स्थानीय तहको निर्वाचन नजिकिएसँगै जिल्लामा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडपका खबर आइरहेका छन् ।

अर्थमन्त्रीसमेत रहेका माओवादी नेता जनार्दन शर्माको उपस्थितिमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू र जिल्लास्थित राजनैतिक दलहरुबीचको छलफलमा जिल्लामा शान्तिपूर्ण प्रतिस्पर्धा भएको आइतबार अबेर जारी संयुक्त अपिलमा उल्लेख गरिएको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका र नेपाली कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश वलीले संयुक्तरुपमा जारी गरेको अपिलमा गठबन्धनको भावना पालना गर्न आग्रह गरेका छन् ।

‘केन्द्रीय सत्ता गठबन्धनको उद्देश्य र मर्ममाथि नै प्रहार हुने गरी भइरहेका यस्ता अवाञ्छित क्रियाकलापहरूबाट शान्तिपूर्ण र स्वच्छ निर्वाचनको वातावरण निर्माणमा नकारात्मक असर पर्ने देखिएले निर्वाचन प्रचार प्रसारको सिलसिलामा एकअर्काप्रति उत्तेजजक अभिव्यक्ति नदिन, संयमित रुपमा प्रस्तत हुन, मानिसहरूको भिडभाड नगराउन, युनिफर्म जस्तो देखिने पोशाक प्रयोग नगर्न, वडाभित्र अन्य वडाको व्यक्तिहरु भेला नगराउन, निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न र हाल भइरहेका झडपजन्य गतिविधिहरू तत्काल रोकी जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिष्पर्धाको वातावरण सिर्जना गर्न आ-आफ्नो पार्टी पंक्तिलाई निर्देशन गर्ने सहमति भएको छ’ अपिलमा भनिएको छ।

सर्वदलीय बैठकमा भएको सहमति पालन गर्न समेत आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?