+
+

राजनीतिले दुई चिरामा विभाजित फैती गाउँ, भोज र मलामी पनि बाराबार

प्रकाश सिंह प्रकाश सिंह
२०७९ वैशाख २६ गते १०:२९

२६ वैशाख, बाजुरा । बाजुराको हिमाली गाउँपालिका-४ फैती गाउँ राजनीतिका कारण दुई चिरामा विभाजित छ । २०५४ सालको स्थानीय चुनावदेखि कांग्रेस-एमालेको रुपमा विभाजित स्थानीयबीच एकअर्काको भोज र मलामीसमेत बाराबार हुनेगर्दछ ।

दुई कित्तामा विभाजित स्थानीयको मन अहिलेसम्म मिल्न नसकेको स्थानीय चक्र मल्ल बताउँछन् । ‘हामी सानै थियौं, त्यो बेलादेखि कांग्रेस र एमाले बीच गाउँमा विवाद थियो, अहिलेसम्म रोकिएको छैन,’ उनले भने, ‘झन्-झन् बढ्दै गएको छ ।’

२५ वर्ष पुराना प्रतिस्पर्धी

२०७४ को स्थानीय चुनावमा नाताले दाजुभाइ पर्ने कांग्रेसका गोविन्द्रबहादुर मल्ल र नेकपा एमालेका अजयबहादुर मल्लले प्रतिस्पर्धा गरेका थिए । गोबिन्द्रबहादुर ३ सय मत अन्तरले विजयी भए । गोबिन्द्रबहादुर १७७६ र अजय बहादुरले १४ सय ७६ मत ल्याएका थिए ।

२०७९ वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा पनि उनै दाजुभाइ प्रतिस्पर्धामा छन् । नजिकका दाजुभाइ भए पनि उनीहरूबीच बोलचालसमेत नरहेको स्थानीय बताउँछन् । एकजना स्थानीयले भने, ‘उनीहरूको पक्ष-विपक्षमा लागेर गाउँ नै दुई चिरामा विभाजित छ ।’

२०७४ असारमा सम्पन्न स्थानीय चुनावमा गाउँ तीन दिनसम्म अशान्त बनेको थियो । दुवै पक्षबीच भिडन्त चल्यो । प्रहरी गएर शान्त बनायो । एमाले समर्थक स्थानीय रङ्ग मल्लको घर तोडफोड र घाइते बनाएको भन्दै बाजुरा अदालतमा मुद्दा चल्यो । कांग्रेस समर्थक ललित मल्ल, कल्पना मल्ल, चिरञ्जिवी मल्ल र खुमबहादुर मल्लविरुद्ध सार्वजनिक मुद्दा दर्ता भयो ।

हिमाली गाउँपालिका-४ फैती गाउँ ।

२०५४ सालदेखि नै गाउँमा खासै बोलचाल हुँदैन थियो । स्थानीय चुनावदेखि भने पूर्णरुपमा बन्दै भएको रङ्ग मल्लले बताए । मल्लले भने, ‘गाउँमा रहेका पसलमा पनि पार्टी अनुसार सामान किनबेच हुन्छ । गाउँमा हुने भोज, मलालीमा समेत एकअर्का पार्टीका समर्थक जाँदैनन् ।’

फैती गाउँमा दुई सय परिवार बसोबास गर्दछन् । बाहुन, ठकुरी, सार्की र लुवार जातिको बसोबास छ । यहाँ माओवादी र समाजवादीको प्रभाव न्यून छ । गाउँमा कांग्रेस र एमालेको प्रभाव बराबरी जस्तै छ ।

स्थानीय नन्द सार्की भन्छन्, ‘कांग्रेस-एमाले बीचको द्वन्द्वले गाउँमा एक अर्काबीच बोलचाल बन्द छ भने एक्लै स्वतन्त्र रुपमा हिँडडुल गर्न पनि नसकिने अवस्था छ ।’

हिमाली गाउँपालिका वडा नं. ५ रुगिनमा पनि २०५४ सालदेखि नै स्थानीयबीच द्वन्द्व कायमै छ । अहिले हुन लागेको स्थानीय तह निर्वाचनमा यहाँ एमालेबाट अर्जुन बुडथापा र कांग्रेसबाट प्रदीप थापा उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?