+
+

मस्कोमा रुसको शक्ति प्रदर्शन, युक्रेन युद्ध तत्काल नरोकिने पुटिनको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १७:५५

२६ वैशाख, काठमाडौं । १० सातादेखि युक्रेनमाथि हमला जारी रहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित सैन्य परेडमा बोल्दै आफ्ना सैनिक देशको लागि लडिरहेको बताएका छन् ।

मस्कोले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि सोभियत संघको विजयको ७७ औं वर्षगाँठ मनाउँदै गर्दा युक्रेनी अधिकारीहरुले चाहिं पूर्वी युक्रेनमा भारी लडाइँ चलिरहेको र थप मिसाइल आक्रमण हुनसक्ने चेतावनी दिएका छन् ।

युक्रेनी सेनाका अनुसार रुसी नियन्त्रित क्रिमिया प्रायद्वीपबाट चार घातक मिसाइल त्यहाँको ओडेसा क्षेत्रमा प्रहार गरिएको छ ।

मस्कोमा आयोजित सैन्य परेडमा बोल्दै राष्ट्रपति पुटिनले नाटा समर्थितको आक्रमणबाट जोगाउन गरिएको उक्त ‘विशेष सैन्य कारबाही’ विशुद्ध रक्षात्मक र अपरिहार्य उपाय भएको बताए ।

सन् २०१४ मा रुसी समर्थित पृथकतावादीले डोनबासका केही भागहरु कब्जा गरे भने सोही वर्ष रुसले क्रिमियालाई आफ्नो भागमा लिएको थियो । लगत्तै गत वर्ष मस्कोले युक्रेन वरपर सेना जम्मा गरेको थियो, जसलाई लिएर युक्रेन र पश्चिमा मुलुकहरुले आफूहरु उत्तेजित नभएको बताएका थिए ।

पुटिनले आफ्नो सम्बोधनमा युक्रेनको नाम उल्लेख गरेनन् र युद्ध कहिलेसम्म जारी रहन्छ भन्ने संकेत दिएनन् । रुसी सेनाले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता त्यहाँका गाउँ र सहर ध्वस्त भएका छन् । करिब ६० लाख युक्रेनीले देश छाडेको अनुमान गरिएको छ ।

युक्रेनी उपरक्षामन्त्री हान्ना मालयरले रुसी सेना पूर्वी युक्रेनतर्फ अघि बढेको बताएका छन् । उक्त ठाउँको परिस्थिति कठिन रहेको रोयटर्सले जनाएको छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले शनिबार पूर्वी युक्रेनको एक विद्यालयमा रुसी सेनाले गरेको बम आक्रमणमा दर्जनौं व्यक्तिको मृत्यु भएको पुष्टि गरेका थिए ।

सैन्य परेडमा राष्ट्रपति पुटिनले युक्रेनी सैनिकलाई नाजीको संज्ञा समेत दिए । उनले युक्रेनी युद्ध रणनीतिमा कुनै परिवर्तनको संकेत दिएनन् । साथै, पुटिनले युक्रेनमाथि विजयको घोषणा समेत गरेनन् । यसको अर्थ, युक्रेनी युद्ध तत्काल रोकिने छाँटकाँट नरहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

प्रत्येक सैनिकको मृत्युले आफूलाई स्तब्ध बनाएको भन्दै राष्ट्रपति पुटिनले मृत्यु भएका सैनिकका परिवारको स्याहारका लागि सरकारले सक्दो प्रयास गर्ने समेत बताए ।

पछिल्लो समय रुसी सैनिकले पूर्वी र दक्षिण युक्रेनमा आक्रमणलाई जारी राखेका त छन्, तर नयाँ भूभाग हात पार्न चाहिं सकेका छैनन् । युक्रेनी सेनालाई अमेरिका र अन्य नेटो सदस्य मुलुकले हतियार प्रदान गरिरहेका छन् । आइतबार क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडो, अमेरिकी प्रथम महिला जिल बाइडेन किभ पुगेका थिए ।

रुसले मे ९ लाई दोस्रो विश्वयुद्धमा जर्मनीको नाजी सेनाविरुद्धको विजयोत्सवको रुपमा मनाउने गर्छ ।

रोयटर्स र न्युयोर्क टाइम्सको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?