+
+

हेमराज शर्मा : घोराहीमा माओवादीको इतिहास लेखाउने अवसर

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ वैशाख २७ गते ६:५५

२७ वैशाख, दाङ । नेपालको सबभन्दा ठूलो उपमहानगर घोराहीमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हेमराज शर्मा मेयरका उम्मेदवार बनेका छन् ।

२०४७ सालदेखि विद्यार्थी राजनीति सुरु गरेका घोराही-१५ का शर्मा २०५३ मा युद्धरत माओवादीका पूर्णकालीन सदस्य भएका थिए । उनी पार्टीभित्र ‘डायमण्ड’ उपनामले चिनिन्छन् ।

शालीन स्वभावका शर्मा पार्टीभित्र समस्या समाधान र संगठन गर्न सक्ने नेताका रूपमा चिनिन्छन् । युद्धकालमा उनले कम उमेरमै पार्टीको जिल्ला सचिवको जिम्मेवारी सम्हाले । उनी युद्धकालमा माओवादीले सञ्चालन गरेको जिल्ला जनसरकारका योजनाकार समेत हुन् ।

घोराहीको मेयरमा शर्मालाई जिताउन पूर्वसभामुख कृष्णबहादुर महरा गृहजिल्ला आएका छन् । घोराही महराको निर्वाचन क्षेत्र भएकाले शर्माले जिते आगामी चुनावमा महरालाई पनि सहज हुने देखिन्छ । अघिल्लो संघीय चुनावमा महरालाई जिताउन शर्माले महत्वपूर्ण भूमिका खेलेका थिए ।

स्थानीय तहको गत चुनावसम्म आइपुग्दा दाङमा तेस्रो शक्तिको रूपमा रहेको माओवादीले घोराहीको निर्वाचनलाई ठूलै महत्व दिएको छ । जिल्लाको केन्द्रमा पर्ने र ठूलो पालिकाको रूपमा रहेको घोराहीमा उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ ।

यो पटक माओवादी केन्द्र गठबन्धनको बलमा घोराहीमा एमालेको विजयको विरासत भत्काउँदै आफ्नो इतिहास लेखाउन चाहन्छ । यो अवस्थामा शर्मालाई चुनाव जित्नैपर्ने दबाव छ ।

जनयुद्धको आधार इलाका समेत मानिने दाङमा पार्टी क्रमशः कमजोर बन्दै गएको बेला यसपटक माओवादीलाई घोराहीमा कांग्रेस र जनमोर्चाको साथ छ ।

शर्माले आफू मेयरमा निर्वाचित भए घोराहीको मुहार फेर्ने बाचा गरिरहेका छन् । ‘हामीसँग पाँच वर्षमा घोराहीलाई कस्तो बनाउने भन्ने योजनाको प्रष्ट खाका छ’ उनी भन्छन्, ‘देशकै ठूलो उपमहानगरलाई हामी नमूना उपमहानगरपालिका पनि बनाउँछौं ।’

घोराहीमा रिङरोड बनाउनेदेखि प्रत्येक वडामा सडक विस्तार र पर्यटकीय क्षेत्र विकाससम्मको प्रतिबद्धता शर्माले जाहेर गरेका छन् ।

कृषिलाई प्राथमिकता

गठबन्धनबाट मेयरका उम्मेदवार शर्मा र उपमेयरका उम्मेदवार भूपबहादुर डाँगीले चुनावी घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामको फेहरिस्त छ । कृषिले उच्च प्राथमिकता पाएको घोषणापत्रमा कृषि बीमादेखि किसानलाई पेन्सनसम्मका योजना छन् ।

शिक्षालाई दोस्रो प्राथमिकता दिएको घोषणापत्रमा माध्यमिक तहसम्मको शिक्षालाई गुणस्तरीय बनाएर सबैको पहुँचमा पुर्‍याउने उल्लेख छ । अति विपन्न तथा मजदुर परिवारलाई निःशुल्क स्वास्थ्य परीक्षण र औषधि उपचारको व्यवस्था गर्ने बाचा घोषणापत्रमा छ ।

त्यस्तै, ‘गाउँ-गाउँमा सहकारी, घरघरमा रोजगारी’ र ‘एक घर एक रोजगारी’ कार्यक्रम चलाएर रोजगारीलाई उत्पादनसँग जोड्ने भनिएको छ ।

अघिल्लो निर्वाचनमा एमालेका नरुलाल चौधरी घोराहीको मेयर बनेका थिए । कांग्रेसका भूपबहादुर डाँगी दोस्रो र माओवादी केन्द्रका जीवन गौतम तेस्रो भएका थिए ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?