+
+

नरुलाल चौधरी : एमालेको विरासत जोगाउने कसरत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते ६:५५

२०७४ सालमा घोराही उपमहानगरपालिकाको मेयरमा निर्वाचित नेकपा (एमाले)का ५५ वर्षीय नरुलाल चौधरी दोस्रो कार्यकालका लागि चुनावी दौडमा छन् ।

घोराही-२ रामपुरका उनी थारू समुदायका बौद्धिक नेताका रूपमा समेत चिनिन्छन् । उनले एमालेको वडा, गाउँ, क्षेत्र हुँदै दाङ जिल्ला अध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेका छन् । २०५४ सालमा उनी रामपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।

पार्टीले अध्यक्षमा उठाउने भएपछि उनले रेडियो नेपालमा थारू भाषाको समाचार वाचकको जागिर छोडेका थिए ।

त्यसपछि चौधरी तत्कालीन जिल्ला विकास समितिमा सदस्य भए । उनी अहिले एमालेको पोलिटब्युरो सदस्य छन् ।

एमालेका महासचिव शंकर पोख्रेल निकट मानिने चौधरी अघिल्लो स्थानीय तह निर्वाचनमा २२ हजार मतका साथ घोराही नगरपालिका प्रमुखमा विजयी भएका थिए ।

अहिले पनि बलिया उम्मेदवार मानिने उनलाई घोराहीमा २०५४ देखिको एमालेको विरासत जोगाउनुपर्ने दबाब छ । २०५४ सालमा तत्कालीन घोराही नगरपालिकाको मेयरमा एमालेका अमरबहादुर डाँगी निर्वाचित भएका थिए ।

घोराहीको मेयरमा पुनः नरुलाल चौधरीको विजय एमाले महासचिव पोख्रेलको प्रतिष्ठा र वर्चस्वसँग पनि जोडिएको छ । घोराहीमा एमालेको वर्चस्व कायम रहे आगामी संघीय निर्वाचनमा पोख्रेललाई सहज हुनेछ ।

घोराहीमा गत पाँच वर्षमा भएका कामहरू आफू दोहोरिने आधार भएको चौधरी बताउँछन् । ‘भौतिक पूर्वाधार, सरसफाइ र सिंचाइका क्षेत्रमा उल्लेखनीय काम गर्‍यौं’ उनी भन्छन्, ‘त्यस आधारमा जनताले फेरि विजय गराउँछन् भन्नेमा ढुक्क छु । अब घोराहीलाई स्मार्ट सिटीको रूपमा विकास गर्ने हो ।’

‘स्मार्ट सिटी’को अवधारणाभित्र नगरको आर्थिक समृद्धि, पूर्वाधार निर्माण, शैक्षिक सुधार र स्वास्थ्य सेवा सुधारका कार्यक्रम रहेको उनले बताए ।

त्यस्तै धार्मिक पर्यटकीय स्थलको विकास, तालतलैया तथा विभिन्न कला, संस्कृति, भेषभुषाको संरक्षणका योजनाहरू रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?