+
+

चीनले अब स्वदेशी कम्प्युटर मात्र प्रयोग गर्ने, ५ करोड कम्प्युटर फेर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १३:१३

चीनले आफ्ना सरकारी निकाय तथा एजेन्सीहरुमा विदेशी ब्राण्डका कम्प्युटरहरूको प्रयोग बन्द गर्न निर्देशन दिएको छ ।

विदेशी ब्राण्डका कम्प्युटरको साटो चिनिया ब्राण्डका कम्प्युटर प्रयोग गर्न सरकारले निर्देशन दिएको हो ।

संवेदनशील ठाउँहरूमा विदेशी प्रविधिको पहुँच अन्त्य गर्नका लागि चीनले यस्तो कदम अगाडि सारेको हो । आगामी २ वर्षभित्रमा सरकारी एजेन्सी तथा उद्योगहरूमा विदेशी कम्प्युटरलाई स्वदेशी ब्राण्डले विस्थापन गर्ने सरकारको योजना छ ।

ब्लुम्बर्गका अनुसार यो निर्णयका कारण चीन सरकारका कार्यालयहरूमा प्रयोग भइरहेका पाँच करोड कम्प्युटरहरू फेरिनेछन् ।

चीनले धेरै पहिले नै विदेशी ब्राण्डको ठाउँमा स्वदेशी कम्प्युटरको प्रयोग गर्ने निधो गरेको थियो । यद्यपि यो काम निकै सुस्त गतिमा अगाडि बढेको थियो । तर अमेरिकासँगको बढ्दो टकरावलाई मध्यनजर गर्दै चीन सरकारले तीव्ररुपमा विदेशी कम्प्युटरको विस्थापन गर्ने निर्णय गरेको हो । चिप, सर्भर र फोनमा अमेरिकी प्रविधिमाथिको निर्भरता न्यूनतम स्तरमा पूराउने चीनको योजना छ ।

क्यानालिस नामक एजेन्सीका अनुसार चीनमा पर्सनल कम्प्युटरमा एचपी र डेल सबैभन्दा लोकपि्रय ब्राण्डको रुपमा रहेका छन् । तेस्रो नम्बरमा मात्रै चिनिया ब्राण्ड लेनोभो छ । नयाँ नीति अनुसार चिनिया सरकारी कार्यालय तथा उद्यमहरुमा प्रयोगमा आइरहेका एचपी र डेल कम्प्युटरलाई लेनोभोलगायतका स्वदेशी ब्राण्डले प्रतिस्थापन गरिनेछ ।

स्मरण रहोस् चीन पर्सनल कम्प्युटरको ठूलो निर्यातक मुलुक पनि हो । सन् २०२१ मा चीनको पर्सनल कम्प्युटरको निर्यात ९ प्रतिशतले बढेको थियो । तर चीनले जुन कम्प्युटरको निर्यात गर्दछ त्यसमध्ये अधिकांश चिनियाँ कारखानामा बनेका अमेरिकी कम्पनीका कम्प्युटर हुन् । चिनिया ब्राण्डकै कम्प्युटरको निर्यातको संख्या भने न्यून छ ।

क्यानालिसका विश्लेषक एमा शू भन्छन्- चीनको पर्सनल कम्प्युटरमा ठूलो उथलपुथल भएको छ । तर सन् २०२१ मा जुन वृद्धिदर कायम भएको छ त्यसले चीनमा कम्प्युटर कम्पनीका लागि ठूलो अवसर उपलब्ध रहेको बताउँछ । सरकारमा सुरक्षासम्बन्धी चिन्ता बढिरहेको छ । त्यसैले स्थानीय ब्राण्डका कम्प्युटरको खरिद बढेको छ । सोही कारण एचपी तथा डेल जस्ता अमेरिकी ब्राण्डका कम्प्युटरले अतिरिक्त प्रतिस्पर्धाको सामना गर्नु परिरहेको छ ।

इन्टेल र एमएमडीमाथि भरोसा

ब्लुम्बर्गका अनुसार चीन सरकारले जुन पछिल्लो आदेश जारी गरेको छ त्यस अन्तरगत पर्सनल ब्राण्ड तथा सफ्टवेयर पनि सामेल छन् । तर इन्टेल तथा एमएमडी जस्ता कम्पनीका उत्पादनलाई भने चीनले बन्देज लगाउने छैन । चीनसँग यी कम्पनीका प्रविधिको विकल्प अहिलेसम्म उपलब्ध नभएकोले इन्टेल र एमएमडीका उत्पादनलाई प्रतिस्थापन नगर्ने भएको हो ।

युरेशियन टाइम्सका अनुसार चीनमा सूचना प्रविधिसम्बन्धी स्वदेशी उत्पादन खरिद गर्ने नीतिका कारण माइक्रोसफ्ट तथा एचपी जस्ता अमेरिकी कम्पनीहरूले चीनको सरकारी कम्पनीसँग साझा उद्यम बनाउने नीति अपनाएका छन्, ता कि उनीहरूलाई सरकारी खरिदको अर्डर प्राप्त हुन सकोस् । तथापि पछिल्लो सरकारी घोषणाले लेनोभो, हुवावे तथा इन्स्पुर जस्ता चिनियाँ कम्पनीहरूलाई लाभ पुग्ने बताइएको छ ।

साथै किंगसफ्ट तथा स्टाण्डर्ड सफ्टवेयर जस्ता चिनिया सफ्टवेयर कम्पनीहरुले माइक्रोसफ्ट तथा एडोब जस्ता अमेरिकी कम्पनीहरूको बजार हिस्सा हडप्ने सम्भावना रहेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?