+
+

गाउँ फर्कनेको चापले अरनिको राजमार्गमा घण्टौं जाम   

रासस रासस
२०७९ वैशाख २८ गते १९:३३

२८ वैशाख, भक्तपुर । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ ।

मतदानका लागि बुधबार बिहानैदेखि घर फर्कनेको दुईपांग्रे र चारपांग्रे सवारीसाधनको संख्या बढेपछि अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौँ सडक जाम भएको छ ।

बिहानैदेखि बस चढ्न प्रतीक्षामा बसेकाको घुइँचो देखिन्थ्यो भने साना तथा ठूला गाडी रिजर्भ गरेर गाउँ फर्कने र सार्वजनिक यातायातमा गाउँ फर्कने सवारीसाधनको समेत एकै पटक चाप बढेपछि अरनिको राजमार्ग घण्टौँ जाम भएको हो ।

महानगरीय प्रहरी वृत्त जगातीका अनुसार बुधबार बिहान ४ बजेदेखिनै भक्तपुर हुँदै पूर्वतर्फ जाने यातायातको साधनको चाप ह्वात्तै बढेपछि सडक जाम भएको हो । बुधबार दिनभरि नै सडक जाम हुँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जानकारी दिएको छ ।

धुलिखेल अस्पताल जान थिमिबाट बिहान ८ बजे बस चढेका यात्रु ११ बजे मात्रै पुगेको भन्दै कम्तीमा दुई घण्टा जाममा परेको थिमि राधेराधेकी सन्तोषी खड्काले बताउनुभयो । मोटरसाइकल, माइक्रोबस, सुमो र ठूला बस गरी आज मात्रै एक हजारभन्दा बढी यातायातका साधन पूर्वतर्फ गएको प्रहरीको भनाइ छ ।

काभ्रेबाट भक्तपुरतर्फ फर्किंदा समस्या नभए पनि काभ्रेतर्फ जाने सडक जाम भएपछि च्यामासिंह, ताथली नाला हुँदै बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ । दुईतर्फी बाटोबाट यातायातका साधन पठाए पनि सडक जाम भने दिउँसो २ बजेसम्म उत्तिकै रहेको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?