+
+
भीमढुंगाका मतदाताको गुनासो :

‘नेता बदलिए, हाम्रो अवस्था बदलिएन’

उपत्यकाको उत्तरपश्चिम कुइनेटो भीमढुंगामा एकाबिहानै भोट खसाल्न आएकी एक युवा मतदातालाई हामीले सोधेका थियौं, यो चुनावसँग तपाईंको के अपेक्षा छ ? उनले भनिन, ‘काठमाडौंभित्र भएर पनि छेकोमा परेको भीमढुंगा बदल्न अब युवा नै अघि सर्नुपर्छ ।’

नवीन ढुंगाना शंकर गिरी नवीन ढुंगाना, शंकर गिरी
२०७९ वैशाख ३० गते २०:१९

३० वैशाख, भीमढुंगा (काठमाडौं) । काठमाडौं उपत्यकाको भूगोलमा परेर पनि विकास निर्माण र पूर्वाधारले पछाडि परेको कुइनेटो हो, नागार्जुन नगरपालिका-८ मा पर्ने भीमढुंगा । धादिङसँग सीमाना जोडिएको यो गाउँ कुनै बेला गोरखाबाट दशैंको फूलपाती ल्याउने प्रमुख बाटो थियो ।

स्थानीय बुढापाकाकाहरुका अनुसार धादिङ र गोरखाका मानिसहरु किनमेलका लागि काठमाडौं छिर्ने पश्चिमको ठूलो नाका पनि थियो भीमढुंगा । चक्रपथको सीतापाइला चोकबाट चार किलोमिटरको दूरीमा रहेको यो गाउँ विकास र पूर्वाधारमा भने निकै दयनीय अवस्थामा छ ।

स्थानीय तह निर्वाचनको मतदानको रिपोर्टिङका लागि अनलाइनखबरको टोली शुक्रबार बिहान भीमढुंगा पुग्दा मतदान केन्द्र पुग्ने सडक हिलाम्मे र जोखिमपूर्ण थियो । चाक्लो सडकमा जमेको हिलो र खाडल छल्दै मतदान केन्द्रतर्फ जाँदा केन्द्र नजिकको एक किलोमिटर सडक त झनै जोखिमपूर्ण थियो ।

अव्यवस्थित जग्गा प्लटिङका कारण हरिया पहाड राताम्मे बन्दै गरेको भीमढुंगाको मतदान केन्द्र रहेको बालबोध माबी आफैंमा प्लटिङको चपेटामा परेको छ । काठमाडौं उपत्यकाभित्रकै एउटा मतदान केन्द्रमा मतदाता आउने बाटो सुरक्षाकर्मीले बनाइरहेको दृश्यले यहाँको खास अवस्था देखाउँथ्यो ।

सडक, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता गतिलो नभएको यस क्षेत्रमा शुक्रबार २ हजार ४१० मतदाता नयाँ जनप्रतिनिधि छान्ने मतदानमा सहभागी थिए । उनीहरुमध्ये अधिकांशलाई उपत्यकाको भूगोलमा जोडिएर पनि व्यवहारमा भीमढुंगा काठमाडौंमा नभएकोमा चिन्ता र पछुतो छ ।

उपत्यकाको उत्तरपश्चिम कुइनेटो भीमढुंगामा एकाबिहानै भोट खसाल्न आएकी एक युवा मतदातालाई हामीले सोधेका थियौं, यो चुनावसँग तपाईंको अपेक्षा के छ ? उनले भनिन्, ‘काठमाडौंभित्र भएर पनि ओझेलमा परेको भीमढुंगा बदल्न अब युवा नै अघि सर्नुपर्छ ।’

आफ्नो जनप्रतिनिधिलाई मत खसाल्न उनीहरु शुक्रबार बिहानै बालबोध माविको मतदान केन्द्रमा पुगेका थिए, तर मतदान केन्द्र पुग्न सडकमा हिलो छल्दै हिंड्नु पर्दा उनीहरु आक्रोशित थिए ।

स्थानीय ७२ वर्षीय गोविन्दप्रसाद मरहट्टाले अनलाइनखबरसँग दुःखेसो पोखे । ‘मतदान गरेका गरेका छौं, मतदानले नेता बदलिए, तर हाम्रो अवस्था बदलिएन,’ मरहट्टाले भने, ‘हरेक पटक केही गर्छु भन्नेलाई नै मतदान गरेको हो, तर के मिल्दैन यस्तै छ ।’

मतदानको लाइनमा भेटिएकी समीक्षा लुइटेल पहिलो पटक निर्वाचनमा सहभागी हुँदै थिइन् । युवाहरु मतदानमा सहभागी हुनुपर्नेमा जोड दिंदै उनले भनिन्, ‘युवाले आफ्नो अधिकार प्रयोग गरेर राम्रा मान्छे निर्वाचित गराए भने आफ्नो ठाउँको विकास हुनेछ । काठमाडौंभित्र भएर पनि छेकोमा परेको भीमढुंगा बदल्न पनि अब युवा निर्वाचनमा आउनुपर्छ ।’

भोट हाल्ने लाइनमा भेटिएकी प्रजिता खनाल पनि पहिलो पटक मतदानमा सहभागी हुँदै थिइन् । पहिलो पटक मत खसाउन पाउँदा आफू उत्साहित भएको उनले सुनाइन् । कसलाई भोट दिएर के हुन्छ भन्ने मानसिकता त्याग्न युवा मतदातालाइ उनले आग्रह गरिन् । ‘देश बदल्ने युवाले हो, एक भोटबाटै पनि राम्रा मान्छेलाई विकास निर्माणको निर्णय गर्ने ठाउँमा पुर्‍याउन सकिन्छ,’ खनाल भन्छिन् ‘त्यो काम हामी आफैबाट सुरु गर्नुपर्छ ।’

मतदान गर्न आएका स्थानीय विपिन भट्टराई राम्रा उम्मेदवारलाई जिताउन जरुरी भएको बताउँछन् । ‘गाउँ ठाउँको विकास र आधारभूत आवश्यकता लागि राम्रा उम्मेदवारले जित्नु पर्छ,’ भट्टराई भन्छन् ‘पार्टी नहेरी राम्रा व्यक्तिलाई मत खसाउन युवा अघि सर्नुपर्छ ।’

स्थानीय शिक्षक प्रल्हाद गिरी भीमढुंगाको बाटो र यहाँका हरिया पहाडमा भएको निरन्तरको क्षय देख्दा दुःखी छन् । राम्रा मान्छेलाई निर्वाचित गराउन पाए भीमढुंगा बदलिने थियो भन्ने उनको बुझाइ छ । यसअघिको नेतृत्वले सही ढंगबाट काम नगरेको उनको गुनासो छ । ‘भीमढुंगालाई काठमाडौं जस्तो बनाउन राम्रो मान्छे निर्वाचनबाटै जिताउनुपर्छ । म त्यसैका लागि मतदान गर्न आएको हुँ,’ उनले भने ।

हामीले स्थानीय मतदातासँग कुराकानी गरिरहँदा स्थानीय ९६ वर्षीया काइँला तामाङ नातिको काँधमा बसेर मतदान केन्द्र आइपुगे । श्रीमतीसँगै आएका उनी अक्सिजनको सहायतामा थिए । देश र स्थानीयलाई राम्रो हुन्छ भने आफूले किन अलिकति दुःख नगर्ने भनेर आएको उनको भनाइ थियो ।

तर स्थानीय अर्जुन श्रेष्ठको विचारमा विगतमा भन्दा भीमढुंगामा धेरै विकास भएको छ । जंगल जस्तो गाउँ अहिले सहर हुन लागिसकेको भन्दै उनले स्थानीय तहले विकासको काम गर्र्दै गरेन भन्नु उचित नहुने बताए ।

पुस्ता फरक भए पनि आकांक्षा समान छन् । स्थानीय ८९ वर्षीय हरिबहादुर पनि आफ्नो ठाउँको मुहार फेरिने आशाले मतदानमा सहभागी भएको बताउँछन् । आफूले दिएको भोटका कारण छोरा नाति र गाउँको भविष्य फेरियोस् भन्ने उनलाई छ । ‘मलाईं मतदानमा सहभागी हुन पाउँदा निकै खुसी लागेको छ,’ हरिबहादुर भन्छन्, ‘मैले २०१५ सालदेखि भोट हाल्दै आएको हो, अहिलेको भोट गाउँ र मेरा भविष्यका सन्तानका लागि ।’

स्थानीय रामकृष्ण दाहाल चाहिं आफ्नो क्षेत्र र गाउँको अवस्था देखेर आफैंलाई दोष दिन्छन् । जनताको आवश्यकता र समस्या जस्ताको तस्तै हुँदा पनि बारम्बार एउटै नेतालाई भोट दिएको कारण यस्तो भएको उनको बुझाइ छ ।

नेताका लागि जनता भनेको भोट दिने साधन मात्रै भएको भन्दै उनले त्यस्ता नेता जन्माउने जनता पनि दोषी भएको बताए । ‘अघि भोट नखसाउँदासम्म हामीलाई नमस्कार गरेका नेताले पर्सि भोट गनिसकेपछि हामीलाई बिर्सिन्छ,’ दाहाल भन्छन्, ‘हामी जनता एक दिन अर्थात् आजका मात्रै भगवान हौं ।’

तस्वीरहरु :

लेखकको बारेमा
नवीन ढुंगाना

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?