+
+

दाङको गढवा गाउँपालिकामा कांग्रेस र माओवादीको रोचक प्रतिस्पर्धा, एमाले तेस्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १५:०६
वायाँबाट क्रमशः नेपाली कांग्रेसका सर्वजित डीसी, नेकपा माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेल र नेकपा एमालेका सहजराज यादव ।

१ जेठ, दाङ । दाङको गढवा गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । २०७४ सालमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको एमालेका उम्मेदवार भने यसपटक तेस्रो स्थानमा संघर्षरत छन् ।

नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सर्वजित डिसी र नेकपा माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेल झिनो मतअन्तरले अगाडि– पछाडि छन् ।

गाउँपालिकाको वडा नं. ८ र ७ को मतगणना सम्पन्न हुँदासम्म माओवादी केन्द्रका उम्मेदवार पोख्रेल कांग्रेसका डिसीभन्दा १० मत अन्तरले अगाडि थिए । दुई वटा वडाको गरी ३ हजार ३९७ मतगणना हुँदा माओवादी केन्द्रका पोख्रेलले ९१० मत प्राप्त गरेका थिए भने कांग्रेसका डिसीले ९०० मत ल्याएका थिए ।

त्यस्तै एमालेका उम्मेदवार सहजराम यादवले भने ४९१ मत ल्याएका थिए ।

आज बिहानबाट वडा नं. ६ मा मतगणना सुरुभएसँगै कांग्रेसका उम्मेदवार डिसी पुनः अगाडि आएका छन् । उक्त वडामा ३०० मतको गणना भइरहँदा माओवादी केन्द्रका पोख्रेललाई कांग्रेसका डिसीले झिनो मतले उछिनेका छन् ।

पछिल्लो मतगणना अनुसार कांग्रेसका डीसीले १ हजार १२३ मत ल्याएका छन् भने माओवादीका उम्मेदवार यमरानायण पोख्रेलले १ हजार ११६ मत ल्याएका छन् । पोख्रेल कांग्रेसका चौधरीभन्दा ७ मतअन्तरले पछाडि छन् । दुवै उम्मेदवारबीच झिनो मतअन्तर भएकाले प्रतिस्पर्धा रोचक बनेको छ ।

सुरुवाती अग्रता लिएको एमाले पछिल्लो मतगणनासम्म आइपुग्दा तेस्रोमा छ । एमालेका उम्मेदवार सहजराम यादवले ८९३ मत ल्याएका छन् ।

गढवामा अलिहेसम्म ८ र ७ को मतगणना भइसकेको छ । जसमा वडा नं. ८ मा एमालेले जितेको छ भने वडा नं. ७ मा नेपाली कांग्रेसले जितेको छ ।

यता, उपाध्यक्षमा भने कांगे्रसकी उम्मेदवार शारदा चौधरी र एमालेकी उम्मेदवार सिता चौधरीबीच झिनो मतअन्तर छ । कांग्रेसकी शारदाले ८९५ मत ल्याएकी छन् भने एमालेकी सिताले ८४५ मत ल्याएकी छन् ।

माओवादीसँग तालमेल गरेको नेकपा एकीकृत समाजवादीबाट उपप्रमुख पदको उम्मेदवार बनेकी शान्ति चौधरीले ६४८ मत ल्याएकी छन् । गढवामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।

२०७४ सालको चुनावमा गढवामा गाउँपालिका जितेको नेकपा एमालेलाई यस पटक पार्टी फुटको असर परेको छ । अघिल्लो चुनावमा एमालेबाट प्रमुखमा पदमा निर्वाचित भएर पुनः उम्मेदवारी दिएका सहजराम यादव तेस्रो स्थानमा संघर्षरत छन् ।

गढवा गाउँपालिका नेकपा एकीकृत समाजवादीका मेटमणी चौधरीको निर्वाचन क्षेत्रमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?