+
+
Shares

गढवाको बजेट ८२ करोड ६४ लाख, कृषि, स्वास्थ्य र सडक प्राथमिकतामा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ११ गते १४:२२

११ असार, दाङ । दाङको गढवा गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि कृषि, स्वास्थ्य र सडकलाई प्राथमिकता दिँदै ८२ करोड ६४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

उपाध्यक्ष शारदा कुमारी चौधरीले गाउँसभामा प्रस्तुत गरेको कूल बजेटमध्ये आन्तरिक स्रोतबाट १८ करोड १३ लाख २८ हजार रुपैयाँ, संघीय सरकारबाट ५८ करोड ८२ लाख ६० हजार रुपैयाँ, प्रदेश सरकारबाट ४ करोड ५४ लाख ६६ हजार रुपैयाँ तथा सडक बोर्डबाट २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमा चालु खर्च ६०.६३ प्रतिशत र पुँजीगत खर्च ३९.३७ प्रतिशत रहेको छ । प्रशासनिक तथा कार्यालय सञ्चालन खर्चका लागि ११ करोड ११ लाख रुपैयाँ विनियोजन गरिएको छ भने वडा तथा पालिका स्तरीय योजना तथा कार्यक्रमका लागि पनि उल्लेख्य रकम छुट्याइएको पालिकाले जनाएको छ ।

बजेटमा कृषि उत्पादन वृद्धि, स्वास्थ्य सेवा विस्तार, शिक्षा सुधार, पूर्वाधार विकास तथा रोजगार सिर्जनालाई केन्द्रमा राखिएको पालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिए ।

आर्थिक विकासतर्फ गढवा–३ स्थित सुपैला खोला नजिक निर्माणाधीन शीतभण्डार सम्पन्न गर्न २ करोड १४ लाख रुपैयाँ तथा खाद्य भण्डार भवन निर्माणका लागि ८६ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिकीकरण गर्न उन्नत बिउ, सिँचाइ, कृषि उपकरण, पशु स्वास्थ्य सेवा, कृत्रिम गर्भाधान तथा युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गरिने भएको छ ।

स्वास्थ्यतर्फ निर्माणाधीन १५ शय्याको अस्पताल भवन सम्पन्न गर्न १ करोड ४० लाख रुपैयाँ तथा अस्पताल सञ्चालनका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ । नि:शुल्क औषधि वितरणका लागि ५६ लाख ७४ हजार रुपैयाँ छुट्याइएको छ ।

महिला स्वास्थ्य स्वयंसेविका, आमा सुरक्षा, पोषण, मानसिक स्वास्थ्य तथा विभिन्न रोग नियन्त्रण कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ ।

शिक्षा क्षेत्रतर्फ दिवा खाजा कार्यक्रमका लागि १ करोड ६ लाख रुपैयाँ, विपन्न छात्रवृत्तिका लागि १९ लाख १८ हजार रुपैयाँ तथा छात्राहरूका लागि नि:शुल्क सेनिटरी प्याड व्यवस्थापनमा १८ लाख १५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बौद्धिक अपाङ्गता (अटिजम) भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालन गर्न २० लाख रुपैयाँ छुट्याइएको छ ।

पूर्वाधार विकास अन्तर्गत डाँडागाउँ–महदेवा–घुस्रा–चिमचिमे सडक कालोपत्रेका लागि ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उढेवा–अर्गनडवा–घुसकपुरुवा सडक कालोपत्रेका लागि ६० लाख रुपैयाँ तथा कालाकाटे विद्यालयमा छात्रावास भवन निर्माणका लागि १ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ । संघ, प्रदेश तथा अन्य निकायसँगको समपूरक साझेदारी कार्यक्रमका लागि २ करोड ५ लाख रुपैयाँ बजेट छुट्याइएको छ ।

गाउँपालिकाले उत्पादन र उत्पादकत्व वृद्धि, कृषि तथा पर्यटन विकास, सामाजिक सुरक्षा, गुणस्तरीय पूर्वाधार निर्माण, डिजिटल तथा हरित अर्थतन्त्रको प्रवर्द्धन, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सेवा प्रवाह सुधार तथा लैङ्गिक र सामाजिक समावेशीकरणलाई बजेटका प्रमुख प्राथमिकतामा राखेको उपाध्यक्ष चौधरीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?