+
+

प्रधानमन्त्री देउवा लुम्बिनीमा, भारतीय प्रधानमन्त्री मोदी भोलि आउँदै 

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते २०:२८

१ जेठ, बुटवल । २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा सहभागिता र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि प्रधानमन्त्री शेरबहादुर देउवा लुम्बिनी आएका छन् ।

बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा मोदी सोमबार बिहान लुम्बिनी आउँदैछन् । मोदीको सुरक्षाका लागि स्पेसल प्रोटेक्सन गार्ड (एसपीजी)को टोली चार दिनअघि नै लुम्बिनी आइपुगेको छ । मोदी सोमबार बिहान ११ बजे हेलिकप्टरमा लुम्बिनी आउनेछन् ।

मोदीसहित भारतीय अतिथिहरु चारवटा हेलिकप्टरमा आउने कार्यक्रम रहेको लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले जानकारी दिए । लुम्बिनी आइसकेपछि मोदीले  मायादेवी मन्दिरमा मार्कर स्टोनमा पुष्प अर्पण गरी पूजा गर्ने, पुष्करणि पोखरीको अवलोकन र अशोक स्तम्भ अगाडि दुईवटा दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको त्रिपाठीले बताए । त्यसपछि मोदीले मायादेवी मन्दिरमा रहेको बोधीवृक्षमा जल अर्पण र आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि मोदीले भारतको इन्टरनेसनल बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी)द्वारा निर्माण हुने बौद्ध बिहारको शिलान्यास गर्नेछन् । त्यसपछि लुम्बिनीमै रहेको होटल पवनमा केहीबेर बिश्राम गरेपछि त्यहीं प्रधानमन्त्री देउवासँग भेटवार्ता र पत्रकार सम्मेलनको आयोजना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले जानकारी दिए ।

पत्रकार सम्मेलनपछि मोदी लुम्बिनीमा नवनिर्मित ५ हजार जना क्षमताको सभाहलमा आयोजित २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा भाग लिएर सम्बोधन गर्नेछन् । मोदी करिब ३ बजे भारत फर्किने कार्यक्रम रहेको भट्टराईले बताए ।

मोदी आउने भएपछि लुम्बिनीको सुरक्षा व्यवस्था कडा बनाइएको छ । भारतीय र नेपाली सुरक्षाकर्मीले लुम्बिनीमा संयुक्त गस्ती गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?