+
+

नागरिकता विधेयक अघि बढाउने तयारी, प्रचण्डसँग गृह र कानुनमन्त्रीको छलफल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १०:३५

५ जेठ, काठमाडौं । सरकारले नागरिकता विधेयक अघि बढाउने तयारी गरेको छ ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २२ साउन २०७५ देखि संसदमा छ ।

यसलाई अघि बढाउन बिहीबार गृहमन्त्री बालकृष्ण खाँण र कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग छलफल गरेका छन् ।

प्रचण्डको निजी निवास खुमलटारमा भएको भेटमा नागरिकता विधेयकका बहसमा रहेका केही प्रावधानहरुबारे छलफल भएको स्रोतले बतायो ।

नागरिकता विधेयकमा नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी नागरिकलाई वैवाहिक अंगिकृत नागरिकता विवाह लगत्तै दिने कि निश्चित अवधिपछि मात्रै दिने भन्ने विषयमा विवाद छ ।

प्रचण्डसँगको भेटमा अन्य विधेयकहरु पेश गर्ने, संसदमा भएका विधेयकहरुलाई अगाडि बढाउने लगायतका विषयमा छलफल भएको एक मन्त्रीले जानकारी दिए ।

तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका कतिपय विधेयकरुपमा संशोधन गर्नुपर्ने भएकाले र सत्ता साझेदार दलहरुबीच सहमति आवश्यक भएकाले विधेयकका प्राविधिक विषयहरुमा प्रचण्डसँग छलफल गर्न गएको ती मन्त्रीले जानकारी दिए ।

संघीय संसद सचिवालयका अनुसर हाल संसदमा ५७ वटा विधेयक छन् । कतिपय विधेयकहरुमा एकात्मक शासन व्यवस्था अनुरुपका प्रावधानहरु रहेको भन्दै स्वयं प्रचण्डले संशोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

नेताहरुका अनुसार संसदमा रहेका विधेयकहरुका प्रावधानलाई एकै पटक संशोेधन गरेर अगाडि बढाउने सरकारको तयारी छ ।

यो विषयमा कानुनमन्त्री बन्दीले आजै बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?