+
+

डेढ सय पालिकामा प्रमुख र उपप्रमुख दुवै पुरुष

अमृत चिमरिया अमृत चिमरिया
२०७९ जेठ ६ गते २३:२७
धुलिखेल नगरपालिकाको मेयरमा निर्वाचित अशोक ब्यान्जु र उपमेयरमा निर्वाचित निराजन जंगम ।

६ जेठ, काठमाडौं । गत शुक्रबार सम्पन्न निर्वाचनको नतिजा धमाधम आउने क्रम जारी छ । हालसम्म करिब ६ सय ५० स्थानीय तहको नतिजा आइसकेको छ । सबै महानगर, केही ठूला उपमहानगर र विवाद भएका ठाउँको नतिजा आउन बाँकी छ ।

हालसम्मको नतिजा हेर्ने हो भने संविधानले परिकल्पना गरेको समावेशीपनको उपेक्षा गरेको देखिन्छ । कुल स्थानीय तहको एकचौथाइ अर्थात डेढ सय गाउँपालिका/नगरपालिकाको नेतृत्वमा पुरुष मात्रै निर्वाचित भएका छन् । सत्तारुढ दलको गठबन्धन भएका अधिकांश ठाँउमा प्रमुख दुई पदमा पुरुषमात्रै निर्वाचित भए । महिलाको प्रतिनिधित्व हुन सकेन ।

एक नम्बर प्रदेशमा २६ स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवै पदमा पुरुष रहेका छन् । यस्तै मधेश प्रदेशको ३ ठाउFमा दुवै पदमा पुरुष निर्वाचित भएका छन् । बागमती प्रदेशका ३८ पालिकामा यस्तै अवस्था रह्यो ।

धादिङको १० वटा स्थानीय तहमा कुनैमा पनि महिला छैनन । जिल्लामा रहेका १३ स्थानीय तहमध्ये एकजना पनि प्रमुख निर्वाचित भएनन । ३ जना महिला मात्रै उपप्रमुख भए ।

गण्डकी प्रदेशका २० स्थानीय तहमा दुवै पदमा पुरुष निर्वाचित भए । लुम्बिनी प्रदेशमा पनि १७ पालिकामा पुरुषमात्रै निर्वाचित भए । कर्णालीमा २५ र सुदुरपश्चिम प्रदेशमा १५ पालिकामा पनि प्रमुख र उपप्रमुखहरु पुरुष मात्रै निर्वाचित भए ।

गठबन्धनले रोक्यो प्रतिनिधित्व

स्थानीय तह निर्वाचन ऐनमा स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एउटा पदमा अनिवार्य महिला उम्मेवारीको व्यवस्था गरेको छ । तर दुईमध्ये एउटा पदमा मात्रै उम्मेदवारी दिदा यो बाध्यता छैन ।

उम्मेदवारी मनोनयनका क्रममा गठबन्धन वा तालमेल गरेका दलहरुले पद अनुसार भागवण्डा लिएकाले एउटामात्रै पदमा मनोनयन दर्ता गरेका थिए, जसले उनीहरुलाई महिला उम्मेदवारीमा कानूनी रुपमा बाध्यकारी बनाएन ।

यसपाली महिला प्रतिनिधित्व घट्नको प्रमुख कारण तालमेलमा उम्मेद्वारी दर्ताबाट महिला उम्मेदवारहरुको प्रतिनिधित्व नै कम हुनु हो । गठबन्धनबाट उम्मेद्वार बनेका अधिकांश पुरुष छन् । निर्वाचित हुँदा पनि उनीहरु नै निर्वाचित भएपछि महिलाको प्रतिनिधित्व निराशाजनक बनेको हो ।

काभ्रेको पाँचखाल नगरपालिकामा सत्तारुढ गठबन्धनको तर्फबाट मेयरमा नेपाली कांग्रेसका महेश खरेलले उम्मेदारी दिए, उपप्रमुखमा नेकपा माओवादी केन्द्रका चेतप्रसाद गौतम उठे । उनीहरु दुवै निर्वाचित हुदा प्रमुख दुई पदमा महिला प्रतिनिधित्व हुन सकेन । काभ्रेको नमोबुद्ध, तेमाल, भुम्लु, मण्डनदेउपुरमा पनि गठबन्धनका तर्फबाट भएको मनोनयनमा महिला उम्मेदवार नहुदा सबै पुरुष मात्रै निर्वाचित भए ।

मकवानपुर थाहा नगरपालिकामा गठबन्धनबाट मेयरमा नेकपा माओवादीले विष्णु विष्टले उम्मेदवारी दिए, उपमेयरमा नेपाली कांग्रेसले भरत गोपाली अघि सरे ।

गठबन्धनमा रहेका दलहरुको मत भारी हुदा प्रमुख र उपप्रमुख दुवै पदमा महिला प्रतिनिधित्व भएन । गठबन्धन भएका अधिकांश ठाउँमा यस्तै अवस्था हुँदा प्रतिनिधित्व कम भएको देखिन्छ । यसबाहेक उम्मेदवारी दिएका ठाउँमा पनि महिलालाई पुरुष उम्मेदवारले पराजित गर्दा प्रतिनिधित्व अझै घट्यो ।

‘शक्ति मोह’

नेपाली कांग्रेस संसदीय दलकी प्रमुख सचेतक पुष्पा भुषालको विचारमा, सत्ता र शक्तिमा आफूहरु मात्रै रहनुपर्छ भन्ने मानसिकता समाजमा व्याप्त रहेकाले महिलाको प्रतिनिधित्व कम भएको हो । उनले भनिन्, ‘राजनीतिक दलले उम्मेदवारी दर्ता गर्दा नै महिला अनिवार्य हुनुपर्ने कानुनी बाध्यता नहुनु, महिलाहरुले काम गर्ने सक्दैनन् भन्ने सोचका साथै अवसर दिन नखोज्ने पुरुष प्रधान समाज यसको कारण हो ।’

गठबन्धनकै कारण महिलाको प्रतिनिधित्व घटेको स्वीकारेपनि उनले गठबन्धनबाट ठुला शहरदेखि अन्य स्थानीय तहमा उल्लेख्य महिला उम्मेवारी परेको बताइन् ।

‘एक्लै लड्दा प्रमुख वा उपप्रमुखमा महिला उम्मेदवारी अनिवार्य भएता पनि गठबन्धनबाट उम्मेद्वारी दिँदा एक पदमा अनिवार्य महिला हुनुपर्ने कानुनी व्यवस्था नभएसम्म यो अवस्था रहिरहन्छ’ उनले भनिन्, ‘अर्को चुनावसम्म कानूनको यो व्यवस्था संशोधन गर्नपर्ने देखिन्छ ।’ उनले स्थानीय तहमा सहभागिता बढाउन आफ्नो दल र गठबन्धनभित्र पनि आफूले निरन्तर वकालत गरेको बताइन ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?