+
+

अघिल्लोपटक प्रमुख उपप्रमुख जितेका ८० मध्ये ५६ पालिकामा माओवादीको प्रभाव खस्कियो

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०७९ जेठ ७ गते १८:४९

६ जेठ, काठमाडौं । पालिका प्रमुख र उपप्रमुख दुवै जितेको क्षेत्रलाई सम्बन्धित पार्टीको गढ क्षेत्र मान्दा नेकपा माओवादीले यसपाली ५६ गढ क्षेत्र गुमाएको छ ।

२०७४ सालको स्थानीय चुनावमा माओवादी केन्द्रले ८० वटा पालिकाको प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो । ०७४ को चुनावमा माओवादी केन्द्रले कर्णाली प्रदेशका २१, मधेश प्रदेशका १९, लुम्बिनी प्रदेशका १५, बागमती प्रदेशका ११, सुदूरपश्चिम प्रदेशका ७, गण्डकी प्रदेशको ४ र प्रदेश १ का तीन पालिका प्रमुख र उपप्रमुख जितेको थियो ।

पाँच वर्षपछि यसपालिको चुनावमा माओवादी केन्द्रले ०७४ मा प्रमुख र उपप्रमुखमध्ये दुवै पद जितेका ८० पालिकामध्ये २४ पालिकामा मात्रै गढ जोगाउन सक्यो ।

तथापि, बाँकी ५६ पालिकाका कतिपय पालिकाको प्रमुख र उपप्रमुखमध्ये एउटा पदमा भने माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

कर्णाली प्रदेश : २१ मा ८

‘एमाले र कांग्रेस गठबन्धनको असर’

०७४ सम्मको चुनावी गणितलाई हेर्दा कर्णाली माओवादीको प्रभाव क्षेत्र हो । अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादीले कर्णालीमा २१ वटा पालिका प्रमुख र उपप्रमुख जितेको थियो । यसपालि यी २१ पालिका मध्ये जम्मा ८ वटा पालिकाको प्रमुख र उपप्रमुख जितेको छ ।

सल्यानको दार्मा, डोल्पाको जगदुल्ला, कालीकोटको पचालझरना, पलाता, रुकुम पश्चिमको सानीभेरी, त्रिवेणी, चौरजहारी नगरपालिका र आठबिसकोटको प्रमुख र उपप्रमुख दुवै पद जितेर माओवादी केन्द्रले ८ वटा प्रभाव क्षेत्र जोगाएको छ ।

०७४ मा जितेको २१ मध्ये माओवादी केन्द्रले यसपालि बाँकी १३ पालिकाको प्रमुख र १४ पालिकाको उपप्रमुख गुमाएको छ ।

कालीकोटको रास्कोट नगरपालिकाको प्रमुखमा माओवादी विजयी हुँदा उपप्रमुख नेकपा एकीकृत समाजवादीले जितेको छ । ०७४ मा रास्कोटको प्रमुख र उपप्रमुख दुवै माओवादीले जितेको थियो ।

माओवादीले यसपटक गुमाएका कर्णालीका पालिकाहरूमा कांग्रेस र एमालेका उम्मेदवारहरू विजयी भएका छन् । कर्णाली प्रदेशका अधिकांश ठाउँमा एमाले-कांग्रेस तालमेल भएको थियो ।

अघिल्लोपटक जितेको कालीकोटको तिलागुफा, रास्कोट, सान्नी त्रिवेणी, जुम्लाको गुठिचौर, जाजरकोटको जुनीचाँदे, त्रिवेणी नलगाड, हुम्लाको ताँजाकोट, रुकुम पश्चिमको बाँफिकोट, मुसिकोट, सल्यानको कुमाखमालिका, बागचौर, जुम्लाको तातोपानी र जुम्लाको हिमा गाउँपालिका माओवादीले यसपटक गुमायो ।

यीमध्ये अधिकांशपालिकामा माओवादी केन्द्रका उम्मेदवार एमाले-कांग्रेसको गठबन्धनका उम्मेदवारसँग दोस्रो भएका छन् ।
एमाले र माओवादीबीच गठबन्धन भएका कारण आफूहरुको प्रभाव रहेको पालिकामा पनि जीत निकालन नसकेको माओवादी नेताहरुको भनाइ छ ।

माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतका अनुसार स्थानीय चुनावमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा समयमै निर्णय नलिँदा त्यसको मार माओवादी केन्द्रले कर्णाली प्रदेशमा भोगेको हो । ‘गठबन्धनमा कसले कुन पालिका पाउने भन्ने कुरा समयमै नटुंगिएका कारण समयमै उम्मेदवार छनोट गरेर घरदैलोमा जान सकिएन’ बस्नेतले भने ।

उनले गठबन्धन भएको ठाउँमा पनि कांग्रेस इमान्दार नबनेको समेत बताए । ‘गठबन्धन भएको ठाउँमा पनि कांग्रेस इमान्दार देखिएन । कांग्रेसबाट माओवादीलाई राम्ररी मत नआएको परिणामले देखाइरहेको छ’ बस्नेतले अनलाइनखबरसँग भने ।

मधेस प्रदेश : १९ मा २

आन्तरिक  द्वन्द्व  र प्रभु शाहको प्रभाव

२०७४ सालको चुनावमा मधेश प्रदेशका १९ पालिकाको प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो । यसपालि ती १९ मध्ये २ पालिकाको प्रमुख र उपप्रमुखमा मात्रै माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

०७४ मा माओवादीले दुवै पद जितेर गढ क्षेत्र भनेका तर, यसपालि गुमाएका १७ पालिकाको नेतृत्व कांग्रेस, एमाले र जनता समाजवादी पार्टीका उम्मेदवारहरू निर्वाचित भएका छन् । मधेश प्रदेशमा माओवादीबाट सबैभन्दा बढी सिट एमालेले खासेको छ । माओवादी केन्द्रबाट एमालेले ११ पद मेयर माओवादीबाट खोस्दा जसपाले ४ र कांग्रेसले २ मेयर पद लिएको छ ।

माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा जितेकामध्ये सिराहाको मिर्चैया नगरपालिका र सर्लाहीको बागमती नगरपालिकामा मात्रै निरन्तरता दिन सक्यो ।

यसअघि जितेको सिराहाको धनगढीमाई, अर्नमा, महोत्तरीको साम्सी, गौशाला, बर्दिबास, रामगोपालपुर, पर्साको छिपहरमाई, धनुषाको शहीदनगर, विदेह, सर्लाहीको चक्रघट्टा, रौतहटको मौलापुर, यमुनामाई, कटहरिया , सिराहाको कर्जन्हा, गोलबजार, पर्साको ठोरी र सर्लाहीको बरहथवा नगरपालिकामा यसपालि माओवादी पराजित भयो ।

मधेश प्रदेशमा यसरी माओवादीले गढ क्षेत्र गुमाउनुको पछाडि प्रभु साहले एमालेमा प्रवेश गर्नु र मधेशमा एमालेले सक्रियता बढाउनु मुख्य कारण रहेको माओवादी नेताहरु बताउँछन् ।

‘हाम्रो आन्तरिक झगडाको केन्ऽ विन्दु नै मधेश प्रदेश हो । पार्टीभित्र विभिन्न समूह छन् । त्यसको असर पनि चुनावमा देखिएको छ ‘ माओवादी केन्द मधेश प्रदेश इन्चार्ज गणेश साहले अनलाइनखबरसँग भने ।

लुम्विनी प्रदेश : १५ मा ९

माओवादीको तर्क- जनताले परिवर्तन खोजे

चुनावी नतिजामा माओवादी केन्द्रले लुम्बिनी प्रदेशमा विगतको आफ्नो गढ अन्य प्रदेशको तुलनामा अलि बढी नै बचाउन सफल भएको प्रदेश हो लुम्बिनी ।

०७४ सालको चुनावमा माओवादी केन्द्रले यो प्रदेशका १५ पालिका प्रमुख र उपप्रमुख जितेको थियो । यसपटक ती १५ मध्ये ९ पालिकाको प्रमुख र उपप्रमुख दुबै जोगाउन सफल भएको छ ।

गुमाएका ५ पालिकाको नेतृत्वमा काग्रेस र एमाले आएका छन् ।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले बर्दियाको राजापुर, रोल्पाको रोल्पा नगरपालिका, दुईखोली, थवाङ, माडी, सुनछहरी र सुवर्णावती गाउँपालिका, रुकुम पूर्वको भूमे, सिस्ने गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिकामा जितलाई निरन्तरता दिएको छ ।

पालिका प्रमुख र उपप्रमुख दुबै जोगाउन नसकेको लुम्बिनी प्रदेशमा माओवादी केन्द्रले आफ्नो गढ जोगाउन नसकेका पालिकाहरु रुकुम पूर्वको सिस्ने, दाङको बंगलाचुली, बर्दियाको बारबर्दिया, रोल्पाको गंगादेव, बर्दियाको मधुवन र रुपन्देहीको ओमसतिया गाउँपालिका हुन ।

लुम्बिनी प्रदेशका अध्यक्ष ओनसरी घर्ती मगर जनताले परिवर्तन खोजेका कारण ०७४ सालमा माओवादीले दुवै पालिका जितेर गढ भनेर दाबी गरेका पालिकाहरु यसपटक गुम्न पुगेको बताउँछिन् । र परिवर्तन जनताले देशभरी नै खोजेको अनुभूतिसमेत आफूहरूलाई भनेको उनको भनाइ छ ।

‘मूल कुरा जनताले चेन्ज खोज्छन् भन्ने देखा पर्‍यो । लुम्बिनी प्रदेशको हकमा र देशभरकै हकमा पनि यही देखा परेको छ’ घर्तीले भनिन् । प्रभावक्षेत्र गुम्नुको पछि पछाडि जनप्रतिनिधिको काम गराई र पार्टी कमिटीको सक्रियता पनि महत्वपूर्ण भएको र त्यसको असर परेको उनी बताउँछिन् । ‘गढ क्षेत्रहरू गुम्नुको पछाडि जनप्रतिनिधले कति लोकप्रिय काम गरे ? पार्टी र दलले कति राम्रो गरे भन्नेले अर्थ राख्छ । त्यसको परिणाम चुनावमा देखिन्छ, देखिएकै छ ,’ घर्तीले भनिन् ।

बागमती प्रदेश : ११ मा २

सत्ता गठबन्धनमा बाँड्नुको असर

०७४ सालको स्थानीय चुनावमा माओवादी केन्द्रले बागमती प्रदेशका ११ पालिकाको प्रमुख र उपप्रमुख दुबै पद जितेको थियो । यसपाली ती ११ मध्ये दुईटामा मात्रै माओवादीले सफलता हात पारेको छ । यसपटक कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेका कारण अघिल्लो पटक दुवै पद जितेको भए पनि गठबन्धनमा दललाई पालिका प्रमुख र उपप्रमुखमध्ये एक पद छोड्नुपर्दा माओवादीको बाँकी गढ भत्किएको हो ।

बागमती प्रदेशमा पालिका प्रमुख र उपप्रमुख दुवै जितेर माओवादी केन्द्रले गढ जोगाएको पालिका हुन-नुवाकोटको ककनी गाउँपालिका र रामेछापको सुनापती गाउँपालिका ।

बागमती प्रदेशमा माओवादी केन्द्रले ०७४ मा प्रमुख र उपप्रमुख दुवै जितेको तर, यसपालि दुवै पद लिन नसकेका पालिकाहरू  हुन-सिन्धुलीको मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका र महाभारत गाउँपालिका, रामेछापको दोरम्बा गाउँपालिका, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका र ललितपुरको कोन्ज्योसोम गाउँपालिका ।

०७४ मा पालिका प्रमुख र उपप्रमुख दुवै जितेर आफ्नो गढ भनेको ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा भने माओवादी केन्द्र यसपालि दुवै पद गुमाएको छ ।

बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री सत्ता गठबन्धनमा बाँड्दा अघिल्लो पटक प्रमुख र उपप्रमुखको सेट नै जितेका ठाउँमा यसपाली माओवादीले सेट नै लिन नसकेको बताउँछन् ।

‘हामीले जितेको ठाउँमा गठबन्धनमा रहेका दलहरूलाई उप र हामीलाई प्रमुख राख्यौं । त्यसपछि पहिलेको सेट नै कहाँ आउने भयो र ? आएन नी’ उनको जवाफ छ । कांग्रेसले जितेको ठाउँमा आफुहरुले उप लिएका कारण ब्यालेन्स नै भएको अध्यक्ष सहयात्रीको भनाइ छ ।

सुदुरपश्चिम प्रदेश : ७ मा ०

समीक्षा गर्नुपर्ने देखियो : प्रदेश अध्यक्ष चौधरी

सुदूरपश्चिम प्रदेशका ७ पालिकामा माओवादीले गत २०७४ को चुनावमा प्रमुख र उपप्रमुख दुवै पद जितेर स्थानीय सरकार चलायो । यसपालि ती ७ पालिकामध्ये माओवादीले एउटा पालिकामा पनि दुवै पद लिन सकेन् ।

०७४ मा माओवादीले प्रमुख र उपप्रमुख दुवै पद जितेका पालिकाहरू हुन- अछामको रामारोशन गाउँपालिका, कैलाली भजनी नगरपालिका र कैलारी गाउँपालिका, बैतडीको पुर्चौडी नगरपालिका, दार्चुलाको मार्मा गाउँपालिका, कन्चनपुरको लालझाँडी गाउँपालिका र डडेलधुराको अजयमेरु गाउँपालिका ।

अजयमेरु गाउँपालिकाको अध्यक्षमा भने माओवादी केन्द्रका उम्मेदवार उमेशप्रसाद भट्ट विजयी भएका छन् ।

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरिराम चौधरी अघिल्लो चुनावमा सेट नै जितेका पालिकाहरुमा पुनः सेट नै जित्न नसकिनुका पछाडि जनप्रतिनिधिको काम र गरेको कामबारे जनतालाइ बुझाउन नसकिएको बताउँछन् ।

‘जनप्रतिनिधिका काम राम्रा भएन् होला । भएका कामबारे जनतालाई बुझाउन सकिएन होला । जे कारणले भएपनि अघिल्लो चुनावमा सेट नै जित्ने अहिले ती पालिकाहरु गुम्ने अवस्था आउनु राम्रो होइन’ उनले भने ।

चुनावी परिणाम र जनप्रतिनिधिको कामबारे अझै समिक्षा गर्नुपर्ने देखिएको उनी बताउँछन् । ‘हाम्रो कामकाजलाई जनताले नरुचाएरै होला । वा के हो ? हामीले गम्भीर समिक्ष गर्नुपर्ने छ । अन्यथा अर्को पल्ट फेरि यस्तै नियत्ति बोहोर्नु पर्ने हुन सक्छ । हामी यसमा ख्याल गर्न छौं,’ चौधरी थप्छन् ।

गण्डकी प्रदेश : ४ मा २

०७४ को स्थानीय चुनावमा माओवादी केन्द्रले चार पालिका प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो ।

उक्त चार पालिकामध्ये माओवादीले यसपाली दुई पालिकामा प्रमुख र उपप्रमुख दुवै जितेर आधा जोगाएको छ । एउटा पालिकामा कांग्रेससँग गठबन्धन गरेर प्रमुख र उपप्रमुखमध्ये एक पद जोगाएको छ । एउटा पालिकामा माओवादी दुवै पद लिन सकेन् ।

०७४ मा माओवादी केन्द्रले प्रमुख र उपप्रमुख दुवै पद जितेका पालिकाहरु हुन- बागलुङको ताराखोला, गोरखाको सुलीकोट, शहीद लखन र तनहुँको वन्दीपुर गाउँपालिका ।

चारमध्ये यसपालि गोरखाको बारपाक सुलीकोट गाउँपालिकाको अध्यक्षमा  विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी बनिन् । गोरखाकै शहीद लखन गाउँपालिकाको अध्यक्षमा रमेश थापा र र उपाध्यक्षमा इन्दिरा तिवारी विजयी भइन् ।

प्रदेश १ : ३ मा १

प्रदेश १ मा माओवादी केन्द्रले ०७४ सालको चुनावमा तीन वटा पालिका प्रमुख र उपप्रमुख दुवै पद जितेको थियो । दुवै पद जितेर प्रभाव जमाएको माओवादीले यसपालि उक्त ३ मध्ये एउटा मात्रै पालिका जोगाउन सफल भएको छ ।

२०७४ को स्थानीय तहको चुनावमा माओवादी केन्द्रले दुवै पद जितेको पालिका हो- सोलुखुम्बुको लिखुपिके, मोरङको रंगेली र भोजपुर आमचोक गाउँपालिका ।

यी चारमध्ये भोजपुरको आमचोक गाउँपालिकामा भने माओवादी केन्द्रले आफ्नो गढ कायमै राखेको छ । यो पालिकाको अध्यक्षमा माओवादी केन्द्रका अशोक राई उपाध्यक्षमा माओवादीकै सीता राई निर्वाचित भएकी छन् ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?