+
+

एन्थोनी अल्बानिज अष्ट्रेलियाको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १२:०९

८ जेठ, काठमाडौं । अष्ट्रेलियाको राष्ट्रिय निर्वाचनमा प्रधानमन्त्री स्कट मोरिसनको कन्जरभेटिभ पार्टीले हार स्वीकार गरेको छ । लेबर पार्टीका नेताले चाहिं विजयको घोषणा गरेका छन् ।

मतगणना अझै जारी छ । तर मतगणनाको ट्रेण्ड हेर्दा कन्जरभेटिभ पार्टी एक दशकपछि सत्ताबाट बाहिरिने स्पष्ट संकेत देखिएको छ ।

झण्डै ९ वर्ष प्रतिपक्षमा रहेको लेबर दलका नेता एन्थोनी अल्बानिजले सिड्नीमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भने, ‘अष्ट्रेलियाली जनताले परिवर्तनका लागि मतदान गरेका छन् । यो विजयप्रति म आभारी छु ।’

‘मलाई लाग्छ मानिसले विभाजनको अनुभव बितेका वर्षमा गरे । उनीहरु अब एक राष्ट्रको रुपमा सँगै आउन चाहन्छन् र म त्यसलाई नेतृत्व गर्न चाहन्छु,’ उनले भने ।

त्यहाँको १५१ सदस्यीय तल्लो सदनमा लेबर पार्टीले आंशिक नतिजाअनुसार अहिलेसम्म बहुमतभन्दा चार सिट कम अर्थात् ७२ सिट हासिल गरेको छ ।

प्रधानमन्त्री स्कट मरिसनको नेतृत्वमा रहेको केन्द्रीय दक्षिणपन्थी गठबन्धनले अहिलेसम्म ५१ सिट जितेको छ । हुलाकबाट प्राप्त मतगणना सकिएपछि निर्वाचनको अन्तिम नतिजा घोषणा हुने अपेक्षा गरिएको छ ।

मरिसन नेतृत्वको मध्यपन्थी गठबन्धनले नागरिकको जनजीविका, महामारी र जलवायु परिवर्तनजस्ता मुद्दाको कमजोर व्यवस्थापनको कारण आलोचना खेपिरहेको छ ।

सिड्नीबाट टेलिभिजनमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री मरिसनले भने, ‘आज मैले प्रतिपक्षी दल र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग कुराकानी गरें । चुनावको जितको मैले उहाँलाई धन्यवाद समेत दिएँ ।’

चुनावबाट पराजित भए पनि आफू लिबरल दलको नेता रहिरहने मरिसनले उक्त सम्बोधनमा बताए ।

बीबीसीका अनुसार नयाँ प्रधानमन्त्री हुने तयारीमा रहेका अल्बानिजले सोमबार सपथ लिन सक्नेछन् । आफू प्रधानमन्त्री भए अष्ट्रेलियालाई नवीकरणीय ऊर्जाको महाशक्ति बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?