+
+

नेपाली कलाकारसँगको सहकार्यमा टी सिरिजले ल्यायो ‘साम से ही दिल’

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १६:०१

८ जेठ, काठमाडौं । भारतीय संगीत कम्पनी टी सिरिजले नेपाली कलाकारसँगको सहकार्यमा निर्माण गरेको गीत ‘साम से ही दिल’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा गीत रिलिज गरिएको हो ।

वरिष्ठ फिल्म निर्देशक तथा गीतकार नीर शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संगीतकार इम्तियाज वफा, गायक सुमन शेखर मानन्धरसहित कलाकार उपस्थित थिए ।

टी–सिरिज लेबलमा तयार भएको गीतमा हिन्दी र उर्दू भाषा मिश्रण गरिएको छ । अभिनेता सुनिल थापा, ‘लालटिन’ अभिनेता निर्जन थापा र धारणा शर्मा फिचर्ड गीतलाई पर्यटकीय थलो रारामा छायांकन गरिएको छ ।

कार्यक्रममा बोल्दै निर्देशक शाहले गीत मर्मस्पर्शी रहेको र शब्द तथा दृश्यले गीतलाई न्याय मिलेको बताए । उनले नेपालीमा भावानुभाव गर्दै गीत समेत सुनाए । गायक मानन्धरका पिता तथा वरिष्ठ सञ्चारकर्मी शेखर मानन्धरलाई सम्झिएर आफू नोस्टाल्जिक बनेको समेत शाहले बताए ।

‘हामी उहाँको गीत सुनेर हुर्किएको पुस्ता हौं,’ शाहले सम्झिए ।

संगीतकार तथा गीतकार इम्तियाज वफाले यो गजलले मानिसको हृदय छुने बताए । ‘यसले नेपालको पर्यटन क्षेत्रलाई फाइदा पुग्छ,’ उनले भने, ‘नेपाली कलाकार र टिमसँग सहकार्य गर्न पाउँदा खुसी लागेको छ ।’ चाँडै अन्य नेपाली गीतमा पनि काम गर्ने तयारीमा रहेको उनले सुनाए ।

गायक मानन्धरले विश्वभर ठूलो संख्यामा रहेको हिन्दी र उर्दू जनसंख्यालाई नेपाल भ्रमणमा आकर्षित गर्न यी भाषामा गीत तयार पारिएको बताए । गीत हेरेपछि नेपालको रारा ताल घुम्न आउने हिन्दी र उर्दूभाषी पर्यटकको संख्यामा वृद्धि हुने उनले बताए ।

तीन वर्ष लगाएर तयार पारिएको यो गीतले नेपाली, हिन्दी र उर्दू भाषाबीच सेतुको काम गर्ने अपेक्षा रहेको उनले बताए ।

चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले नेपालमा समेत गीत–संगीतलाई सेन्सर गर्नुपर्छ भन्ने बहसलाई यो गीतले सुरुवात गर्ने धारणा राखे । रारासहित स्वयम्भू, चितवन राष्ट्रिय निकुञ्जमा भिडियो सुट गरिएको छ । गीतलाई जनकदीप प्रोडक्सनले निर्माण गरेको हो ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?