+
+

कार्यालय सहयोगी चन्द्रबहादुर बने वडाध्यक्ष

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ जेठ १२ गते १८:२९

१२ जेठ, दाङ । तीन महिना अघिसम्म चन्द्रबहादुर गुरुङ राप्ती गाउँपालिका वडा नं‍. ८ को कार्यालय सहयोगी थिए । बिहानै ९ बजे कार्यालय पुग्थे, सरसफाइ गर्थे, जनप्रतिनिधि र कर्मचारीहरुलाई चिया–पानी पुर्‍याउँथे ।

दिनभरको समयमा उनी वडामा आएका सेवाग्राहीलाई सोधपुछ गर्थे र कामकाजमा सघाउँथे ।

उनै ३२ वर्षका चन्द्रबहादुर ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका छन् । संयोग पनि कस्तो भयो भने जुन कार्यालयमा उनी सहयोगी थिए, अहिले त्यही वडाको अध्यक्ष बने । चन्द्रबहादुरलाई त्यहाँका जनताले मत दिएर कार्यालय सहयोगीबाट एकैपटक नेतृत्व गर्ने ठाउँमा पुर्‍याइदिएका छन् । भन्छन्, ‘जीवनमा नसोचेको भयो ।’

वडाध्यक्ष हुनु उनी स्वयमका लागि अनपेक्षित हुन गयो । उनी राजनीतिदेखि टाढा थिए । कुनै पार्टीमा थिएनन् । तर एमाले निकट कर्मचारी संगठनमा भने आवद्ध थिए । एमालेले उनै चन्द्रबहादुरलाई वडाध्यक्षको उम्मेदवार बनायो ।

उम्मेदवार टुंगो नलागुन्जेलसम्म उनी कार्यालयमा गएर दैनिक कामकाज गर्थे । वडाध्यक्षमा उठ्ने चर्चा सुनेका धेरैले उनलाई वडाध्यक्ष हुने शुभकामना दिए । ‘सबै काम जानेको र युवा नै उठ्नुपर्छ भनेर धेरैले हौस्याए’, उनले भने, ‘त्यही उर्जाले म निर्वाचनमा होमिएँ ।’ गत चैतमा उनले जागिरबाट राजिनामा दिएर चुनावी तयारी थाले ।

वडाअध्यक्षका लागि चन्द्रबहादुरसहित पाँच जनाको नाम सिफारिस भएको थियो । जसमा निर्वतमान अध्यक्ष गोकर्णबहादुर रानामगर पनि थिए । त्यही कारण उनले टिकट पाउने सम्भावना धेरै कम थियो । तर अन्तिममा पार्टीले उनलाई नै उम्मेदवार बनायो ।

विदेश जाने तयारीमा थिए, वडाध्यक्ष बने

२०६२ सालमा एसएलसी दिएपछि उनी वैदेशिक रोजगारीका लागि खाडी मुलुक गए । तीन वर्ष साउदी अरब र मलेसियामा बिताए । ‘पढ्ने मन थियो, बुबा बितेपछि सकिन’ उनले भने, ‘त्यसपछि कतै काम पाइन । विदेश नगई सुखै भएन ।’

केही वर्षअघि उनी घर फर्किएर पुनः विदेश जाने तयारीमा थिए । त्यसैबेला वडाध्यक्ष मगरले कार्यालय सहयोगीको रुपमा काम गर्न बोलाए । ‘घरमा काम नभए फेरि विदेश जाने तयारीमा थिएँ’, उनले भने, ‘अध्यक्षज्यूले बोलाएर सहयोगीको काम दिनुभयो ।’

पाँच वर्ष कार्यालय सहयोगीका रुपमा काम गरेका गुरुङले ९५० मत प्राप्त गरेर विजयी भए । उनका निकटम प्रतिस्पर्धी कांग्रेसका प्रभाकरदेव चौधरीले ८१६ र माओवादी केन्द्रका रामचन्द्र चौधरीले २०६ मत पाए ।

वडाअध्यक्षमा निर्वाचित भएसँगै उनले आफू जनताको सेवकका रुपमा काम गर्ने बताए । त्यसको पहिलो प्रयास उनले आफ्नै कार्यालयबाट सुरु गरेका छन् । उनले वडाध्यक्षको कार्याकक्ष माथिल्लो तलाबाट भुइँतलामा सारेका छन् ।

‘वडा जनताको घरदैलोको सरकार हो’ उनले भने, ‘माथिल्लो तलामा कार्यकक्ष हुँदा नागरिकको सजिलै पहुँच पुग्दैन, त्यसैले कार्यकक्ष तल सारेको छु ।’ यसले वडामा आउने सेवाग्राहीले वडाध्यक्ष भेट्न र आफ्नो समस्या राख्न सहज हुने उनले बताए ।

उनी आफ्नो पाँच वर्षको कार्यकालमा जनताको चाहना अनुसार काम गर्ने बताउँछन् । ‘जनताले मलाई वडाको विकास गर्ने ठाउँमा पुर्‍याएका छन्’ गुरुङ भन्छन्, ‘अबको पाँच वर्ष यहाँको आवश्यकता के छ, त्यो पहिचान गरेर विकासको काम गरेर देखाउँछु ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?