+
+

रोल्पाको एउटा वडामा मात्रै दलित वडाध्यक्ष

महेश न्यौपाने महेश न्यौपाने
२०७९ जेठ १३ गते १६:१०
रोल्पाको रोल्पा नगरपालिका-५ को वडाध्यक्षमा निर्वाचित टोपबहादुर नेपाली ।

१३ जेठ,रोल्पा । तत्कालिन नेकपा माओवादीले आफ्नो नेतृत्वमा भएको सशस्त्र युद्धलाई जातीय उत्पीडन विरुद्धको विद्रोह भन्थे । यही विद्रोहमा दलित मुक्तिको सपना देखेर युद्धमा होमिए दलित युवा ।

अहिले शासन व्यवस्था फेरिएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएयता २ पटक स्थानीय तहको निर्वाचन  भइसकेको छ । परिवर्तनमा जीवन दान गर्ने दलित  स्थानीय सरकारको प्रतिनिधित्वको अवसरमा भने निकै कम प्राथमिकतामा परेका छन परे । त्यो पनि माओवादी जनयुद्धको उद्गम थलो रोल्पामा ।

दशक लामो सशस्त्र युद्धमा रोल्पामा राज्य पक्षबाट ९० र विद्रोही पक्षबाट १५ जनाको हत्या भयो, अर्का एक जना भने कुन पक्षबाट मारिए भन्ने खुलेको छैन ।

रोल्पामै स्थानीय निर्वाचनमा यो समुदायको प्रतिनिधित्वको अवस्था भने निकै कमजोर छ । जिल्लाको कुल जनसंख्याको १८ प्रतिशत दलित समुदाय छन् तर स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा दलित सहभागिता शून्य छ, जिल्लाका ७२ वटा वडाध्ये एक जना मात्र वडाध्यक्ष दलित समुदायबाट छन् ।

रोल्पामा दलित समुदायवाट वडाध्यक्ष जित्ने एकमात्र व्यक्ति हुन् टोपबहादुर नेपाली । नेकपा माओवादी केन्द्रका उनी रोल्पा नगरपालिका वडा नं ५ को वडाध्यक्षमा ४९५ मतका साथ निर्वाचित भए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका नन्दबहादुर महराले ४०३ मत ल्याए । यसअघि ०७४ सालको स्थानीय तह निर्वाचनमा भने नेपाली पराजित भएका थिए ।

जिल्लाको त्रिवेणी गाउँपालिका अध्यक्षमा हरिप्रसाद कामी जिल्लाको स्थानीय तहमा अध्यक्षको उम्मेदवार बन्ने एक मात्र दलित प्रतिनिधि हुन् । उनी त्रिवेणी गाउँपालिकावाट राष्ट्रिय जनमोर्चाको तर्फबाट गाउँपालिका अध्यक्षको उमेदवार बनेका थिए । उनले ३४ मत प्राप्त गरेका थिए ।

भागिसरा बन्दपुरे खड्का त्रिवेणी गाउँपालिका उपाध्यक्षको उम्मेदवार बन्ने दलित महिला हुन् । नेकपा माओवादी केन्द्रको तर्फवाट उम्मेदवार बनेकी उनी नेपाली कांग्रेसका उम्मेदवार बनेका लेखमणि डाँगीसँग पराजित भइन् ।

रोल्पाकै रुन्टीगढी गाउँपालिका उपाध्यक्षमा उम्मेदवार बनेकी अर्की दलित महिला गौसरी दमाईले जम्मा १६ मत पाइन् । उनी राप्रपाको तर्फबाट उम्मेदवार थिइन् ।

माडी गाउँपालिकामा काँग्रेसको तर्फबाट गाउँपालिका उपाध्यक्षको उम्मेदवार बनेका कृष्ण विक माओवादी केन्द्रका उम्मेदवार जयपुरी घर्तीमगरसँग पराजित भए ।

माडी गाउँपालिका वडा नं २ मा राप्रपाको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेकी तीलकुमारी परियारले ३ मत प्राप्त गरेकी थिइन् । त्रिवेणी गाउँपालिका वडा नं.वडा नं. ५ मा राप्रपाको तर्फबाट वडाध्यक्षको उम्मेदवार वनेका  झुपल दमाईले ४ मत प्राप्त गरेका थिए  ।

थवाङ गाउँपालिका- २ मा स्वतन्त्र उम्मेदवारी दिएका तीर्थनारायण सार्की ३६६ मत प्राप्त गरी पराजित भए । उनलाई नेकपा माओवादी केन्द्रका अभिलाशा वुढामगरले ४२१ मतका साथ पराजित गरेका थिए । सोही गाउँपालिकाको वडा नं ४ मा नेकपा माओवादी केन्द्रका पुनवहादुर कामी ३१२ मत ल्याएर पराजित भए । नेकपा एमालेका उम्मेदवार हिक्मत घर्तीमगरले ३३७ मतका साथ निर्वाचित भए ।

रुन्टीगढी गाउँपालिका वडान १ को वडाध्यक्षमा एमालेवाट हेमराज विक २२० मत प्राप्त गरे । सो वडामा काँग्रेसका थमवहादुर घर्तीमगरले ६३२ मत प्राप्त गरी निर्वाचित भए । सोही वडामा राजमोका कुले कामीले ४ मत प्राप्त गरेका थिए । रुन्टीगढी गाउँपालिका वडा नं ८ मा राजमोको तर्फवाट उम्मेदवार बनेका सर्वजीत कामीले ३० मत प्राप्त गरे ।

रोल्पा नगरपालिका वडा नं ९ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका ईविराम विकले २४ मत ल्याई चुनाव हारे ।

लुंग्री गाउँपालिका वडा नं. ४ मा नेकपा एमालेको तर्फवाट  उम्मेदवार वनेका साउने कामीले ३८ मत ल्याई पराजित भएका थिए । सोही गाउँपालिकाको वडा नं ५ मा नेपाली काँग्रेसको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका सूर्यबहादुर कामी ३५६ मतका साथ पराजित भएका थिए । नेकपा माओवादी केन्द्रका उम्मेदवार रीखवहादुर रोकाले ५५९ मतका ल्याई कामीलाई हराएका थिए  ।

सोही गाउँपालिकाको वडा नं ७ मा नेपाली काँग्रेसको तर्फवाट वडाध्यक्षको उमेदवार रहेका झगलाल कामी २८६ मत प्राप्त गरी पराजित भए । उनी नेकपा माओवादी केन्द्रका उम्मेदवार हिराबहादुर पुन संग ५१८ मतका साथ पराजित भएका थिए ।

गंगादेव गाउँपालिका वडा नं २ मा स्वतन्त्र उम्मेदवार टीकाराम नेपालीले २८६ का साथ वडाध्यक्ष हारे । नेपाली काँग्रेसको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका अम्मरवहादुर खत्रीले ३६६ मत ल्याई नेपालीलाई हराएका थिए ।

अघिल्लो स्थानीय तह निर्वाचनमा वडाध्यक्ष जितेका सोही वडाका भुपाल दमाईले यस पटक निर्वाचन हारे । नेकपा माओवादी केन्द्रको तर्फवाट पुनः वडाध्यक्षको उम्मेदवार वनेका भुपाल २३९ मतका साथ तेश्रो भएका थिए ।

सोही गाउँपालिकाको वडा नं ५ मा नेकपा एमालेको तर्फवाट वडाध्यक्षको उम्मेदवार वनेका बलीराम दमाईले २७९ मत प्राप्त गरे । नेपाली काँग्रेसका उम्मेदवार अमृतवहादुर वुढामगरले ५५४ मत प्राप्त गर्दा एमालेका दमाई तेस्रो स्थानमा रहेका थिए ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा रोल्पामा दुई जना वडाध्यक्ष दलित समुदायबाट चुनिएका थिए । रोल्पा नगरपालिका वडा नं ५ मा नेकपा माओवादी केन्द्रका उमेदवार टोपबहादुर नेपालीले ३०१ मत प्राप्त गरी निर्वाचित भएका थिए । त्यस्तै गंगादेव गाउँपालिका वडा नं २ वाट नेकपा माओवादी केन्द्रकै उम्मेदवार भुपाल दमाईले ३५९ मत प्राप्त गरी वडाध्यक्ष निर्वाचित भएका थिए ।

०७४ सालमै ७५ जना दलित महिला वडा सदस्यमा निर्वाचित भएका थिए । हरेक वडावाट निर्वाचित हुने एक दलित महिलाका अतिरिक्त खुला सदस्यबाट ३ जना दलित महिला निर्वाचित भए ।

त्यस्तै १० जना दलित पुरुष वडा सदस्यमा निर्वाचित भएका थिए । १ नगर कार्यपालिका र ९ गाउँ कार्यपालिकामा २७ महिला र २३ पुरुष सहित ५० जना दलितले कार्यपालिका सदस्य चयन भएका थिए ।

अघिल्लो पटक वडा सदस्यदेखि कार्यपालिका सदस्यसम्मको जिम्मेवारी वहन गरेका दलित नेता यस पटक  पनि धेरैजसो वडा सदस्यमै सीमित भए । दलितको उत्थानमा दलहरु नै उदासिन देखिएका दलित महिला अधिकारकर्मी रेखा सुनारको वुझाइ छ । ‘कार्यकारी पदमा उमेदवारी सिफारिस नै गरिदैनन्, सिफारिस गरे पनि कमजोर ठाउँहरुमा मात्रै दलितलाई उठाइन्छ’  उनले भनिन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?