+
+

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प खोज्ने परमादेश पुनरावलोकन गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते ९:०५

१३ वैशाख, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका बारेमा गरेको निर्णय पुनरावलोकन गर्न सर्वोच्च अदालतसँग माग गरेका छन् ।

निजगढमा विमानस्थल निर्माण नगर्ने आदेशले यसक्षेत्रको विकासमा नै नकारात्मक असर पर्ने वीरगञ्जका उद्योगी व्यवसायीको ठहर छ ।

वीरगञ्ज उद्योग वाणिज्य संघले शुक्रबार विज्ञप्ति निकालेर सर्वोच्च अदालतले निजगढमा बन्न लागेको अन्तर्राष्ट्रिय विमानस्थल त्यस ठाउँमा नबनाई विकल्प खोज्न परमादेश गरेकोबारे ध्यानाकर्षण भएको जनाएको छ ।

संघका अध्यक्ष सुबोध गुप्ताले जारी गरेको विज्ञप्तिमा सर्वोच्चको पछिल्लो फैसलाले वीरगञ्जका साथै पर्सा र बारा जिल्लाको विकासमा नै नकरात्मक असर पर्ने देखिएकोेले फैसला पुनरावलोकन गर्न आग्रह गरिएको छ ।

‘३ दशकदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भई थप एक अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनी विभिन्न कार्यदलको अध्ययन प्रतिवेदनको आधारमा सबैभन्दा उपयुक्त स्थल निजगढलाई ठहर्‍याई नेपाल सरकारको निर्णय अनुसार नै विमानस्थल बनाउने निर्णय भएको थियो’, विज्ञप्तिमा लेखिएको छ, ‘त्यसका लागि अर्बौं रुपैयाँ खर्च भई प्रारम्भिक कार्यसमेत सुरु भइसकेको अवस्थामा सम्मानित अदालतबाट हठात विकल्प खोज्न आदेश हुनु दुःखद् छ ।’

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंको सबैभन्दा नजिकको विमानस्थल हो । यसै विमानस्थललाई दृष्टिगत गरेर नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरको फाष्टट्रयाक निर्माण गरिरहेको छ । ८० किलोमिटरको फाष्टट्रयाक दूरीमा काठमाडौं भएकोले आउजाउ गर्न एक डेढ घण्टा मात्रै लाग्ने हुँदा निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल अति नै आवश्यक भएको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?