+
+

निजगढमा विमानस्थल रोक्ने सर्वोच्चको फैसला विवेकसंगत भएन : रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते १४:२६

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुनुपर्ने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले अदालतले कानुनमात्र हेरेर गरेका कतिपय निर्णय वास्तविकतासँग मेल नखाने भन्दै फैसला पुनरावलोकन हुनुपर्ने धारणा राखेका हुन् ।

न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले भने, ‘यो निर्णय विवकेसंगत भएन, अदालतले निर्णय सच्याउनुपर्छ । सर्वोच्चका माननीय न्यायाधीशहरु उतै गएर हेर्नुहोस् न देख्नुहुन्छ नि !’

विमानस्थल बनाउने ठाउँमा वन क्षेत्र भनिए पनि अहिले वन नरहेको भन्दै पौडेलले एयरपोर्ट बनाउन एउटा पनि रुख काट्नु नपर्ने बताए । ‘वन संरक्षणको कुरा अघि ल्याइएको छ, यो वन मैले घटनास्थलमै गएर हेरेको छु, अब एयरपोर्ट बनाउनको लागि एउटा रुख पनि काट्नुपर्दैन, अलरेडी वन सकिसकेको छ । बस्ती बसिसकेको छ’ उनले भने ।

वरिष्ठ नेता पौडेलले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तम विकल्प निजगढ विमानस्थल बाहेक अन्य हुन नसक्ने जिकिर गरे ।

‘काठमाडौंको उच्चतम विकल्पको रुपमा निजगढ बाहेकको ठाउँ छैन । यो नै उपयुक्त ठाउँ हो, त्यहाँ लगेर खुरुक्क डोजर लगाएर एयरपोर्ट बनाउन थाले हुन्छ, रुख काट्न जानै पर्दैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?