+
+

‘कबड्डी ४’ले बनायो कीर्तिमान, २ करोड ९० लाख ग्रस ओपनिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते १४:३६

१४ जेठ, काठमाडौं । ‘कबड्डी’को चौंथो श्रृंखलाले नेपाली बक्सअफिसमा ओपनिङ कीर्तिमान कायम गरेको छ । मुलुकका डेढ सय हलबाट रिलिज भएको फिल्मले पहिलो दिन शुक्रबार २ करोड ९० लाख रुपैयाँ कमायो ।

यो कमाइ कुनै नेपाली फिल्मले घरेलु बक्सअफिसमा कायम गरेको ओपनिङको व्यवसायिक कीर्तिमान हो । यसअघि ‘छक्कापञ्जा २’ ले फिल्म रिलिज भएको पहिलो दिन १ करोड ८० लाख रुपैयाँ कमाएको थियो ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’ ले मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सबाट मात्र १ करोड रुपैयाँभन्दा बढी कमाइ गरेको छ । निर्माता मणिराम पोखरेलका अनुसार उक्त ओपनिङमा काठमाडौं र मोफसलको ओपनिङ हिस्सा झन्डै बराबर छ ।

प्रतिक्षित सिरिज भएकाले पनि फिल्मले बक्सअफिसमा डेढकरोड रुपैयाँभन्दा बढी अग्रिम टिकट बिक्रीको अर्को कीर्तिमान समेत राखेको थियो । शुक्रबार अकुपेन्सी करिब शतप्रतिशत रह्यो । मल्टिप्लेक्समात्र नभएर सिंगल स्क्रिन पनि पूर्ण अकुपेन्सीसहित संचालन भए ।

दोस्रो दिन शनिबार पनि फिल्मको कमाइमा उछाल आउने देखिएको छ । बिहानैदेखि हलमा दर्शकहरु भरिभराउ छन् । हल सञ्चालकहरुले कबड्डी चारको ओपनिङलाई नेपाली फिल्मको प्रदर्शन इतिहासमा अभूतपूर्व भएको बताए ।

चर्चित सिक्वेल, स्टारकास्ट, देशभर हल विस्तार हुनुजस्ता कारणले कबड्डी चारको ओपनिङ आक्रामक भएको जनाइएको छ । दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर अभिनित फिल्म अष्ट्रेलिया, बेलायत र अमेरिकामा पनि एकसाथ रिलिज भएको छ ।

रिलिजअघि नै लगानी सुनिश्चित गरिसकेको फिल्मले विदेशबाट मात्र २ करोड रुपैयाँ कमाइ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?