+
+

सुदूरपश्चिमका २० पालिकामा प्रमुख-उपप्रमुख दुवै पुरुष

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते १६:५३

१७ जेठ, डोटी । सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये २० वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवै पुरुष चयन भएका छन् ।

बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन आयोगले पुनः मतदान गर्ने भनेको छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ (४) अनुसार राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गर्दा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्ये ५० प्रतिशत महिला उम्मेद्वार रहने गरि मनोनयन पत्र पेश गर्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।

तर, एउटा मात्र पदमा उम्मेदवारी दिँदा यो प्रावधान लागु नहुने पनि सोही ऐनमा उल्लेख नै छ ।

त्यसैले चुनावी तालमेल गरेका दलहरुले एउटा मात्र उम्मेदवार उठाउँदा पुरुषलाई नै उठाएका कारण २० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै पुरुष चयन भएका हुन् ।

बझाङका १२ पालिकामध्ये सात पालिकामा प्रमुख र उपप्रमुख दुवै पुरुष छन् । जिल्ला सदरमुकाम रहेको जयपृथ्वी नगरपालिकाको प्रमुखमा कांग्रेसका चेतराज बराल र उपप्रमुखमा माओवादी केन्द्रका रतनवहादुर सिंह विजयी भएका छन् ।

यस्तै, मष्टा गाउँपालिका अध्यक्षमा कांग्रेसका ज्ञानवहादुर बोहरा र उपाध्यक्षमा माओवादी केन्द्रका हर्क धामी विजयी भएका छन् । दुर्गाथली गाउँपालिकाका अध्यक्षमा माओवादीका दिलवहादुर थापा र उपाध्यक्षमा कांग्रेसका जनकवहादुर दौल्याल विजयी भएका छन् ।

बझाङ्गकै बुगल नगरपालिका प्रमुखमा कांग्रेसका जयवहादुर धामी र उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका धनवहादुर बोहरा विजयी भएका छन् । थलारा गाउँपालिकाको अध्यक्षमा एमालेका प्रकाशवहादुर रोकाया र उपाध्यक्षमा कांग्रेसका रामवहादुर खाती विजयी भएका छन् ।

छविस पाथिभेरा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका वसन्तवहादुर चलाउने र उपाध्यक्षमा एकीकृत समाजवादीका लक्षिमन बोहरा विजयी भएका छन् ।

खप्तड छान्ना गाउँपालिकामा पनि अध्यक्ष उपाध्यक्ष दुवै पुरुष छन् । अध्यक्षमा कांग्रेसका उत्तमवहादुर रोकाया र उपाध्यक्षमा माओवादी केन्द्रका बिष्णुकुमार थापा चयन भए ।

बाजुराको बुढीनन्दा नगरपालिकाको प्रमुखमा एमालेका जनकबहादुर बोहरा र उपप्रमुखमा स्वतन्त्र उम्मेद्वार रामबहादुर बोहरा विजयी भएका छन् ।

कञ्चनपुरको बेलौरी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका पोतीलाल चौधरी र उपप्रमुखमा एमालेका जोगराम चौधरी विजयी भएका छन् ।

बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेद्वार सन्तोषप्रकाश जोशी र उपाध्यक्षमा कांग्रेसका भगिरथ बोहरा निर्वाचित भएका छन् । बैतडीकै पाटन नगरपालिका प्रमुखमा कांग्रेसका गौरीसिंह रावल र उपप्रमुखमा माओवादी केन्द्रका कमलसिंह बोहरा निर्वाचित भएका छन् ।

अछामको साँफेवगर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पुरुष छन् । प्रमुखमा कांग्रेसका उम्मेद्वार राजेन्द्रवहादुर कुँवर र उपप्रमुखमा एकीकृत समाजवादीका शिववहादुर कुँवर निर्वाचित भएका छन् ।

अछामकै मेल्लेख गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका ज्वाला सिंह साउद र उपाध्यक्षमा कांग्रेसका नृपवहादुर खड्का निर्वाचित भएका छन् ।

दार्चुलाका तीन पालिकामा पनि प्रमुख उपप्रमुख दुवै पुरुष छन् ।

मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमालेका हिरासिंह धामी र उपाध्यक्षमा माओवादी केन्द्रका कल्यानसिंह धामी विजयी भएका छन् । ब्यास गाउँपालिकामा एमालेका मंगलसिंह धामी र माओवादी केन्द्रका विनोदसिंह कुँवर निर्वाचित भएका छन् । नौगाड गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका दलजित सिंह धामी र उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्ना निर्वाचित भएका छन् ।

कैलालीको टिकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ती पार्टीका रामलाल डगौरा थारु र उपप्रमुखमा माओवादी केन्द्रका खडकवहादुर शाह निर्वाचित भएका छन् । गौरीगंगा नगरपालिकामा माओवादी केन्द्रका देवीदत्त कडेल र उपप्रमुखमा कांग्रेसका भोजवहादुर बम निर्वाचित भएका छन् ।

बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा एमालेका कर्णवहादुर कुँवर र उपाध्यक्षमा माओवादी केन्द्रका गणेशराज गिरी निर्वाचित भएका छन् । मोहन्याल गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका देवीदत्त उपाध्याय र उपाध्यक्षमा कांग्रेसका कमलवहादुर साउद निर्वाचित भएका छन् ।

प्रदेशका डोटी र डडेल्धुरा जिल्लामा भने प्रमुख र उपप्रमुख दुवै पुरुष भएको कुनै पालिका छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?