+
+

अब हेलिकप्टर उडानमा पनि दुई जना पाइलट अनिवार्य

अच्युत पुरी अच्युत पुरी
२०७९ जेठ १७ गते १८:०३

१७ जेठ, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टरमा समेत अब दुई जना पाइलट रहनु पर्ने निर्णय गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार अब साना हेलिकप्टर सबैमा दुई पाइलट राखेर मात्र उडाउन पाइने छ । यस्तो नियम १७ असार (१ जुलाई)देखि लागू हुने गरी निर्णय भएको उनले जानकारी दिए ।

अहिले हेलिकप्टरमा एक जना पाइलट रहेर उनले यात्रु बोक्ने गरी सञ्चालन भइरहेको छ । अब भने साना हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य राख्नु पर्ने निर्णय भएको कर्णले जानकारी दिए ।

नेपालको भौगौलिक अवस्थितिले साना जहाज र हेलिकप्टरहरुको दुर्घटना दर उच्च छ  । सोहीकारण हवाई सुरक्षा अभिवृद्धि गर्न यस्तो निर्णय गरिएको उनले जानकारी दिए ।

नेपालमा अहिले हवाईजहाज र एमआई१७ मोडलका ठूला हेलिकप्टरमा मात्र दुई पाइलट अनिवार्य गरिएको थियो । अब भने साना हेलिकप्टरमा समेत दुई पाइलट अनिवार्य गरिएको हो ।

नेपालमा जहाज चलाउँदा चलाउँदै पाइलट अचेत हुने वा अन्य स्वास्थ्य समस्या आएमा थप ठूलो दुर्घटना नहोस भन्ने उद्देश्यले यस्तो निर्णय भएको बताइएको छ । विश्वका अधिकांश मुलुकमा सिंगल इन्जिन एयरक्राफ्टमा दुई पाइलट राख्ने प्रचलन छैन । तर, नेपालमा भने प्राधिकरणले नौलो निर्णय गरेको छ ।

प्राधिकरणको निर्णय वायुसेवा कम्पनीसम्म भने पुगिसकेको छैन । एक वायुसेवा सञ्चालकले यस्तो निर्णय भए पनि कार्यान्वयनमा आउन भने सम्भव नरहेको प्रतिक्रिया दिए । नेपालमा पाइलटको संख्या, हेलिकप्टरको विजनेश, यात्रुको अवस्था अध्ययन नगरी प्राधिकरणले निर्णय गरिएको भन्दै कार्यान्वयन हुन नसक्ने उनले बताए । ‘अहिलेसम्म सर्कुलर पाएका छैनौं,’ उनले भने, ‘कार्यान्वयन अनिवार्य गर्ने हो भने पनि व्यवहारमा उतार्न सम्भव छैन ।’

नेपालमा हेलिकप्टरको बढ्दो प्रयोगसँगै सञ्चालकहरुले पाइलट भने विदेशबाट मगाउनु परेको छ । सामान्यतया एउटा हेलिकप्टरमा एक जना पाइलट राखेर पनि पूर्ण क्षमतामा उडाउन दैनिक औसत २.६ जना पाइलट आवश्यक पर्छ । यसको तुलनामा नेपालमा स्वदेशी पाइलट उपलब्ध नहुँदा विदेशबाट पाइलट मगाउनु पर्ने आवश्यता रहेको वायुसेवा कम्पनीहरुको भनाइ छ ।

नेपाली कम्पनीमा १५–२० जना विदेशी पाइलटले सेवा दिइरहेको बताइएको छ । नेपाली पाइलटको संख्या ३०–३५ हाराहारीमा छ । आवश्यकताको तुलनामा उत्पादन कम हुँदा नेपालमा हेलिकप्टर उडान विदेशी पाइलट भित्राउनु पर्ने बाध्यता रहेको सञ्चालकहरुको भनाइ छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?